संसदबाहिर हर्कले भने- यो देशमा प्रधानमन्त्री नै छैन
काठमाडौं : विपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले देशमा प्रधानमन्त्रीको अस्तित्वमाथि नै प्रश्न उठाउँदै सङ्घीय संसद्को बैठक बहिष्कार गरेका छन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित नभएपछि साम्पाङ आक्रोशित बनेका हुन्।
बैठक छाडेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद साम्पाङले सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा टिप्पणी गरे। उनले देशमा प्रधानमन्त्री भए नभएको पत्तो नभएको जिकिर गरे।
‘देशमा प्रधानमन्त्री नै छैन, भएको भए त आउनुपर्ने त,’ साम्पाङले भने, ’प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबुल गर्नुपर्ने कुराहरू अरु मन्त्रीले गरेपछि हामीले बहिष्कार गरेका हौँ।’
प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरेको र आफ्नो संवैधानिक जिम्मेवारीबाट पन्छिएको उनको आरोप छ। साम्पाङले अगाडि थपे, ‘अहिलेको अवस्था हेर्दा देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो।’
संसद्को कार्यसूचीमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिने उल्लेख भए तापनि उनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन लागेपछि साम्पाङसहितका विपक्षी सांसदहरूले संसद् भवनबाट बाहिरिएर विरोध जनाएका हुन्।
प्रधानमन्त्रीले संसद्को गरिमा घटाएको भन्दै उनीहरूले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिको माग गरिरहेका छन्।
वैशाख ३०, २०८३ बुधबार १३:५१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।