अपहरणका अभियुक्त श्रममन्त्री रामजीको सचिवालय सदस्य, नियुक्तिमा श्रममन्त्रीकै हस्ताक्षर
काठमाडौं : श्रममन्त्री रामजी यादवले आफू मन्त्री भएकै दिन आफ्नो सचिवालयमा नियुक्त गरेका मुस्तकिम मिया अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। दीपक साहलाई बर्खास्त गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहले चैत २७ मा श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरेका थिए।
उनले त्यही दिनको नियुक्ति पत्र बनाएर मुस्तकिम मियालाई आफ्नो सचिवालयमा नियुक्त गरेका थिए। मन्त्रीलाई मन्त्रालयले नै चालक र सवारीसाधन उपलब्ध गराउने गरे पनि मियालाई उनले आफ्नो सचिवालय अन्तर्गत रहने गरी हलुका सवारी चालकको रूपमा नियुक्त गरेका थिए। सवारी चालक नियुक्तिको पत्रमा मन्त्री यादवले नै हस्ताक्षर गरेका छन्।
उनै मियालाई सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेर हिरासतमा राखेको छ। प्रहरीले अपहरण र अपमानजनक र अमानवीय व्यवहारको कसुरमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेको हो। मियासहित तीन जनामाथि फागुन १४ मा एक व्यक्तिको अपहरण गरेर लगेर नाङ्गै बनाएर राखेको र उसको साथमा रहेको दुई तोलाको सुनको सिक्री, एक लाख २० हजार रुपैयाँ र मोबाइल समेत लगेको दाबीसहित जाहेरी दिएका थिए।
जाहेरीमा खुलाए अनुसार फागुन १४ गते बिहान ८ बजे मुस्तकिमसहित जुनेद मिया र आदित्यकुमार यादवले राजविराजको हनुमानचोकबाट नियन्त्रणमा लिएर मोटरसाइकलमा राखेर बन्दुक देखाएर तर्साउँदै हिमालय राइस मिल पछाडि लगेर बन्धक बनाएको उल्लेख छ।
यसैगरि उनीहरूले जवर्जस्ती कपडा खोल्न लगाएर नाङ्गै बनाएको, भुईँमा थुकेर चाट्न लगाएको र नाङ्गै भोजपुर गीतमा जवर्जस्ती नाच्न लगाएको बयानमा उल्लेख छ। त्यसपछि उनीहरूले जाहेरवालाको साथमा रहेको मोबाइल नगद र गहना लिएर यदि यो घटना कसैलाई भनेमा नाङ्गै नाचेको भिडियो सामाजिक सञ्जालमा राखेर भाइरल बनाइदिने र लिङ्ग काटेर हलाल गरिदिने भनेर धम्क्याएको उल्लेख छ।
सोही जाहेरीको आधारमा प्रहरीले पहिला वैशाख २४ मा जिल्ला अदालतबाट पक्राउ पुर्जीको माग गरेको थियो। पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले २८ गते मियालाई पक्राउ गरेको थियो। अदालतले उनलाई सात दिन हिरासतमा राख्ने म्याद दिएको छ।
यस अगाडिका श्रममन्त्री दीपक श्रीमतीको नियुक्तिको विवादमा परेर बर्खास्त भएका थिए। त्यसपछि यादव श्रममन्त्रीमा नियुक्त भएका थिए।
वैशाख ३०, २०८३ बुधबार ००:४६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।