अनुभवमा कच्चा छौँ तर नियतमा शङ्का नगर्नुस् : गणेश पराजुली
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकारको कामकारबाहीको बचाउ गरेका छन्।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिपक्षी दलहरूलाई विगतका निर्वाचनमा गरिएका बाचाहरूको स्मरण गराउँदै वर्तमान सरकारले सय बुँदे कार्यक्रममार्फत गरेका कामहरूलाई हेर्न समेत आग्रह गरे।
उनले सरकारले गरेका काम र निर्णयको बचाउ गर्दै अहिलेको पुस्ताले व्यवस्था परिवर्तनमा मात्र नअल्झिने समेत दाबी गरे।
"यही त फरक छ। जसरी यहाँहरूले सोच्नुहुन्थ्यो त्यसरी यो पुस्ताले सोच्दैन। यहाँहरूले आफ्ना दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाउने प्रयास गर्नुभयो विश्व विद्यालयहरुलाई, शिक्षा क्षेत्रलाई तर यो जेनेरेशनले सक्षम नागरिक उत्पादन गर्ने सेवा दिनसक्ने व्युरोक्रेसी बनाउन चाहन्छ", पराजुलीले ट्रेड युनियन र विद्यार्थी संगठन खारेजीको कदमको समेत समर्थन गरे।
परम्परागत परम्परागत कूटनीतिलाई त्यागेर अबको सरकार 'आर्थिक कूटनीति' मा अघि बढ्ने भन्दै पराजुलीले सरकारले सुशासन र सेवा प्रवाहको सुरुवात गरिसकेको समेत दाबी गरे।
सरकारले प्रतिपक्षी दल फुटाउन कुनै अध्यादेश नल्याएको स्पष्ट पार्दै राष्ट्रपतिलाई अध्यादेश रोक्न आग्रह गर्ने प्रतिपक्षको कदममाथि उनले कटाक्ष गरे। उनले भने, "चित्त नबुझे प्रतिस्थापन विधेयकमार्फत आफ्नो मत राख्न सक्नुहुन्छ।"
संसदमा बोल्ने क्रममा उनले आफूहरू राजनीतिमा पुराना नेताहरू जत्तिको अनुभवी नभए पनि नियतमा भने कुनै खोट नरहेको दाबी गरे।
"राजनीतिमा यहाँहरुजति भोटो फटाएका छैनौ, अनुभवमा कच्चा छौ तर यो पुस्ताको नियतमाथि शङ्का नगर्नुस्।"
पराजुलीले दलको कोटामा नियुक्त भएकी कामु प्रधानन्यायाधीश सपना मल्लको कार्यशैली हेर्दा आफू लज्जित भएको भन्दै उनले कस्तो न्याय सम्पादनको परिकल्पना गरेको भन्दै प्रश्न गरे।
"कोड अफ कन्डक्टभन्दा बाहिरका कार्यक्रममा न्यायाधीशहरू जानुहुँदैन जाँदैनन् भन्ने विश्वभरिको अभ्यास र विश्वास हो। दलको कोटाबाट नियुक्त भएर चिफ जस्टिस भूमिका निर्वाह गरेको भूमिका देख्दा म लज्जित भएको छु", उनले भने, "पछाडि खुकुरी रमको ब्यानरमा व्यापारिक घरानाको कार्यक्रममा पनि पुगेको छ। अनि सडकबाट दुई तिहाइको सरकारलाई ललकारेको छ। कस्तो न्याय कल्पना गर्नु भएको हो म प्रतिपक्षका शीर्ष नेताहरूलाई सोध्न चाहन्छु।"
वैशाख २९, २०८३ मंगलबार १६:१४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।