राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सरकार प्रमुख वालेन्द्र बिचैमा बैठक छोडेर हिँडे

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सरकार प्रमुख वालेन्द्र बिचैमा बैठक छोडेर हिँडे

काठमाडौं : संघीय संसद्को संयुक्त बैठकमा सोमबार बिरलै देखिने दृश्य देखियो। राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै समयमा सरकारका प्रमुख अर्थात् प्रधानमन्त्री वालेन्द्र शाह बिचैमा बैठक स्थलबाट बाहिरिए।

राष्ट्रपतिले वाचन गरे पनि नीति तथा कार्यक्रम शाह नेतृत्वको सरकारको हो। तर आफ्नै नेतृत्वको सरकारको मार्गचित्र राष्ट्रपतिले प्रस्तुत गरिरहँदा पुरा समय बैठकमा बस्ने धैर्यता देखाएनन् प्रधानमन्त्री वालेन्द्रले। यसले संसदीय मर्यादा र परम्परा दुवैमाथि प्रश्न उठेको छ।

धैर्यता गुमाएका प्रधानमन्त्री

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न करिब १ घण्टा १० मिनेट समय लगाएका थिए। तर, प्रधानमन्त्री शाहले उक्त अवधिसम्म बैठकस्थलमा बस्ने धैर्यता समेत देखाउन सकेनन्। उनी कार्यक्रमको बिचमै बाहिरिएकाले राष्ट्रपतिको बिदाइमा समेत उपस्थित थिएनन्।

सभामुख डीपी अर्यालले नीति तथा कार्यक्रमको प्रस्तुतिपश्चात् सम्मान प्रकट गर्न सबै सांसदहरूलाई उभिन निर्देशन दिएका थिए। सभामुख र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिलाई बाहिरसम्मै गएर बिदाइ गरे तर त्यहाँ प्रधानमन्त्री अनुपस्थित थिए।

त्यसपछि धन्यवाद दिन प्रतिनिधी सभाको बैठक बस्यो। त्यसपछि प्रधानमन्त्री वालेन्द्र हतार हतार बैठकस्थलमा आए। त्यसपछि सभामा एमालेका सांसद गुरु बरालले "राष्ट्रपतिज्यूले नीति र कार्यक्रम प्रस्तुत गरिरहँदा देशको प्रधानमन्त्रीबीचैमा बहिष्कार गरेर हिंड्नुभएको" आपत्ति जनाए।

त्यसपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्रीलाई राष्ट्रपतिले दुबै सदनमा गरेको सम्बोधनको प्रति टेबल गर्न समय दिए। प्रधानमन्त्री शाहले प्रस्ताव टेबल गरे। सभामुख अलमलमा परे। किनकी उनी प्रति टेबल गरेर पुन आफ्नो कुर्सीमा गएर बसेनन्, बाहिर गए। त्यसपछि सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनप्रति धन्यवादको प्रस्ताव पेश गरे र पास भयो। ​​​​​​

संसद्‌प्रति उदासीन

प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछिको यो दोस्रो संसद् अधिवेशन हो। तर, संसदीय गतिविधिमा उनको उपस्थिति र सहभागिता निकै न्यून देखिँदै आएको छ। अघिल्लो अधिवेशनमा एक शब्द पनि नबोलेका उनी सोमबार दिउँसो २ बजे बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा समेत उपस्थित भएनन्। उनको तर्फबाट कानुनमन्त्रीले सदनमा अध्यादेशहरू पेस गरेकी थिइन्।

दोस्रो बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको फाइल बुझाउन उनी रोस्टम पुगे पनि सम्बोधन नसकिँदै बाहिरिएर अधैर्य स्वभाव देखाए।

मर्यादा र परम्पराको बेवास्ता

संसदीय परम्परा अनुसार, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि राष्ट्रप्रमुखलाई प्रधानमन्त्रीसहितले बिदाइ गर्ने चलन रहिआएको छ। संसद् जस्तो मर्यादित थलोमा राष्ट्रप्रमुखको उपस्थिति र सम्बोधनलाई विशेष महत्त्व दिइने गरिन्छ।

नीति तथा कार्यक्रम पेस हुने संयुक्त बैठकमा राष्ट्रप्रमुखलाई सभामुख र अध्यक्षले स्वागत गर्ने अनि प्रधानमन्त्रीसहितले बिदाइ गर्ने स्थापित संसदीय पद्धति हो। तर आफ्नै नेतृत्वको सरकारको कार्यक्रम प्रस्तुत भइरहेका बेला सरकार प्रमुखले नै बिचैमा बैठक छाडेर अशोभनीय व्यवहार देखाए।

वैशाख २८, २०८३ सोमबार १८:२०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।