चार्जिङ स्टेसनको लाइन जोड्न घुस माग्ने प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर

चार्जिङ स्टेसनको लाइन जोड्न घुस माग्ने प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

चार्जिङ स्टेसनको विद्युत् लाइन जडान गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार, कार्यालय प्रमुख दासले चार्जिङ स्टेसन सञ्चालनका लागि आवश्यक पर्ने विद्युत लाइन छोडिदिए बापत सेवाग्राहीसँग रकम माग गरिरहेको सूचना प्राप्त भएको थियो। सोही सूचना र उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा दासले नियमानुसार हुनुपर्ने काम सम्पन्न भइसकेपछि पनि उक्त कार्य गरिदिए बापत रकमको लागि 'बार्गेनिङ' गरेको र रकम नदिए लाइन काटिदिने धम्की समेत दिएको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले आरोपी दासविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

वैशाख २८, २०८३ सोमबार १६:००:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।