थापाथली र मनोहराका सुकुमबासीलाई डाँडा कटाएर पुर्‍याइयो बनेपा र नगरकोट

थापाथली र मनोहराका सुकुमबासीलाई डाँडा कटाएर पुर्‍याइयो बनेपा र नगरकोट

काठमाडौं : बसोबासको व्यवस्था गरेको दाबी गर्दै काठमाडौंको सुकुमबासी बस्तीबाट उठाइएका सुकुमबासीहरुलाई सरकारले उपत्यकाको डाँडा कटाएर कसैलाई बनेपाको रेडक्रस भवनमा पुर्याएको छ त, कसैलाई नगरकोटको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान अभिवृद्धि केन्द्र पूर्याइयो।

बसोबासको व्यवस्था मिलाउने भन्दै होल्डिङ सेन्टरमा नअटेकाहरूलाई विभिन्न गेस्टहाउसहरूमा राखिएकोमा उनीहरूलाई कहाँ जाने भन्नेसम्म नखुलाई रातारात सरकारले गाडीमा राखेर डाँडा कटाएको हो। अहिले राखिएको स्थान पनि स्थायी भने हैन, अस्थायी नै हो।

एकाएक शान्तिनगर गैरीगाउँस्थित सुकुमबासी बस्तीबाट उठाएर बालाजुको होटलमा राखिएका ४० जनालाई नगरकोट पुर्याइयो। थापाथलीबाट उठाइएका १ सय १० जनालाई बनेपामा रहेको रेडक्रसको भवन पूर्याइयो।

उपत्यकाको डाँडा कटाइएका सुकुमबासीहरुले सरकारले कहाँ लैजाने भन्नेसम्म नखुलाई होटलको कोठामा आएर अन्त लैजाने भन्दै तयार रहन आदेश दिएर एकाएक सरकारी गाडीमा राखिएको थियो। आफू कहाँ आइपुगेँ भन्नेसम्म उनीहरूले पछि मात्र भेउ पाए।

उकेराको सम्पर्कमा आएका काभ्रेपलान्चोक बनेपाको रेडक्रस भवनमा पूर्याइएका सुकुमबासीहरुले ‘भेडाबाख्रा सारे जसरी’ बिना कुनै जानकारी सारेकोमा चित्त दुखाए।

वैशाख १२ गते थापाथली बस्तीमा डोजर चलाएर घरबारहीन बनाइएकाहरूलाई बालाजुको ‘टोकियो टाउन’ होटलमा ५५ जना राखिएको थियो। ती सबैलाई रातारात सरकारले बिहीबार नै बनेपामा रहेको रेडक्रस भवन पूर्याइयो।

उनीहरूका अनुसार मंगलबार राति ‘भोली तपाईँहरू तयार हुनुस्। यहाँबाट तपाईँहरू लाने’ भन्ने बाहेक उनीहरूलाई कहाँ लाने ? किन लाने ? कति दिनको लागि लाने ? कुनै जानकारी दिईएन।

“१५ दिन पछि स्क्रिनीङ गर्ने भनेर हामीलाई कता कता पुर्यायो,” थापाथली बस्तीबाट विस्थापित बनाइएका गीता परियारले बनेपाबाट उकेरालाई भनिन्, “हामीलाई त घुमाएको घुमाइ गरेर अलपत्र छोड्ने हो कि जस्तो डर लागेको छ। कि हामीलाई यो देशको नागरिकै होइन भनेर सरकारले भन्न पर्यो। नत्र कामगरी खानुपर्ने मान्छेलाई यसरी झुलाएर राख्न त हुँदैन नि।”

बनेपाको रेडक्रस भवन।उनी श्रीमान् र छोरी सहित छिन्। १२ कक्षाको परीक्षा दिन पर्ने उनको छोरीले घर भत्किएकै कारण परीक्षा पनि दिन पाइनन्। अहिले छोरीमा टोलाएर बसिरहने, साथीहरूसँग बोल्न अप्ठ्यारो मान्ने जस्तो स्वभाव देखिएको उनले बताइन्। उनका अनुसार डोजरले घर भत्काउने समयमा जस्ताको छानाले उनको छोरीको हात काटेको थियो। हातमा छ वटा टाँका लगाउनु परेको थियो।

उनको छोरा परीक्षाको लागि आफन्तकोमा बसिरहेका छन्। सरकारले सुरक्षित राख्छु भनेर बन्दी जस्तो व्यवहार गर्दा छोरालाई भेट्न समेत नपाएको उनले बताइन्।

अहिले छोरा बाहेक परिवारका तीनै जना बनेपा पुगेका छन्। बाथको रोगी उनको श्रीमानलाई अस्पताल लानुपर्ने गरी गाह्रो भए पनि कसैले चासो नदिएको उनले गुनासो गरिन्।

“मेरो श्रीमानलाई दमले च्यापिरहेको छ। नानीको यतिका वर्षको मिहेनत खेर गयो। स्कुल गएर सरलाई यस्तो भयो भनेर सुनाएको पनि हुँ। तर अब अर्को वर्ष मात्र परीक्षा दिन लगाउनु भनेर पठाउनुभयो,” उनले रुँदै सुनाइन्, “अहिले हाम्रो बच्चाहरूको दिमाग नै के भयो के भयो। हामीलाई नै डर लागिरहेको छ। तपाईँहरूले हामीलाई पनि सुकुमबासी बनाउनु भयो भनेर रुन थाल्छन्।”

सर्पको त्रासमा भोक खप्न पर्ने बाध्यता

थापाथलीको बस्ती छिर्ने बित्तिकै उनीहरूको घर थियो। घर भत्किएको रात त्यहीँ नै ओत लागेर बसे। उनको श्रीमानलाई भने बाथले गर्दा हिँड्न नसकेपछि त्यही रात होटलमा पुर्याइएको थियो। दोस्रो दिन उनी र छोरी पनि रंगशाला हुँदै बालाजुको होटलमा पुगेका थिए।

२० वर्षदेखि थापाथलीमा बस्दै आएका उनीहरूको तीन कोठाको टहरा थियो। डोजर आएपछि सामान निकाल्न नपाएका उनको अहिले बचेका सामान कहाँ पुग्यो भनेर पनि थाहा पनि छैन रे। होटलमा राख्दा उनीहरूलाई सामान साथमा निकाल्न दिइएको थिएन। अहिले कवाडीले सबै सामान लग्यो भनेर छिमेकीले सुनाएको बताइन्।

बनेपामा उनीहरूलाई राखिएको ठाउँमा कोठाबाट बाहिर ननिस्कियोस् भनेर सर्प धेरै आउँछ भनेर तर्साइएको रहेछ। बच्चाहरू डरले कोठाबाट बाहिरै निस्कन नमानेको अर्का एक सुकुमबासीले बताए। खाना खान आधा घण्टा हिँड्नु पर्ने र त्यो बेलामा सबैलाई कैदी  जस्तै लाइन लगाएर रेडक्रसको भवनबाट बाहिर निकाल्ने गरेको सुकुमबासीहरुले बताए।

‘डोजरले घरसँगै आमाको याद पनि कुल्चियो’

उनीसँगै टोक्यो टाउन होटल हुँदै अहिले बनेपा पुगेकी कुमारी तामाङको पनि उस्तै गुनासो छ। उनी भन्छिन्,“भोट माग्दा कसरी माग्नु भएको थियो। सुकुमबासीको लागि यस्तो गर्छु, उस्तो गर्छु भन्यो। डोजर आउँदा छाती थाप्छु भनेकाहरू डोजर लागेर हामीलाई डाँडा कटाउँदा पनि भेट्न आउनु भएको छैन। हामीलाई तपाईँहरूको साथमा छौँ भन्नुभएको छैन। हामीलाई भोटबैंक बनाउनु भयो। जनता रुवाएको नेता कहिले पनि खुसी हुन सक्दैन।”

कुमारी तामाङ छोरीसँग।उनी छ जनाको परिवार सहित विस्थापित भएकी हुन्। घरमा डोजरले हान्नुभन्दा पाँच दिन अघि मात्र उनले त्यही ठाउँमा आमा गुमाएकी थिइन्। आमा गुमाएको शोकमा रहेकी उनलाई सरकारले डोजर हान्छ भनेर ध्यानै भएन रे। त्यै भएर सामान पनि सबै निकाल्न नसकेको उनले बताइन्। भत्किएको घर हेर्न जाऊँ भनेर केही साथीले भने पनि अहिले पनि आफ्नो आमा त्यही भएको सम्झना आउँछ भनेर बस्तीमा नगएको उनले सुनाइन्।

“घर मात्र होइन मेरो आमाको याद पनि भत्कियो। हामीलाई त बालेन यति रुवाएको छ कि! गरिबलाई रुवाउनेको कहिले पनि भलो हुँदैन,” उनी भावुक सुनिइन्।

उनीसँग सात कक्षा पढ्ने छोरी र पाँच वर्षको नाति समेत छन्। उनीहरूको पढाइ छुटेकोमा उनी निराश छन्। १५ दिन पछि सरकारले बाहिर जान दिएमा सबै भन्दा पहिला कान्छी छोरीको पढाइमा निरन्तरता दिने उनले सोचेकी थिइन्। तर अहिले छोरी सहित उनीहरू काभ्रे पुगे।

“हामीलाई त पशु भन्दा पनि तल्लो स्तरको बनाइयो,” उनी भन्छन्, “हामीलाई अब सबैले हेप्ने भइसके। सरकारले अलपत्र पारिराख्यो भने फेरि ठुलो आन्दोलन हुन्छ। हामी पनि लड्न बाध्य हुन्छौँ। बालेन सरकारले के सम्म मात्र गरेको छ भनेर हामीले एकाएक सम्झी राखेका छौँ।”

टाउको गनेर पूर्याइयो नगरकोट

उता माछा पोखरीको अर्को होटलमा राखिएकाहरूलाई पनि उस्तै व्यवहार गरेर रातारात नगरकोट पूर्याइएको खुल्यो। एकाएक राती प्रहरी आएर ४० जना तयार हुनु, अन्तै जानुपर्छ भनेर जवर्जस्ती बसमा राखेर लगिएको एक सुकुमबासीले बताए। उनीहरूलाई बुधवार बिहानै बसमा राखेर नगरकोट पूर्याइएको खुल्यो।

नगरकोटको तालिम केन्द्र।बिहान ७ बजेबाट तयार पारेका सुकुमबासीहरुलाई दिउस २ बजे मात्र बसमा राखिएको थियो। तर कहाँ लैजाने भनिएको थिएन। सोध्दा भक्तपुर मात्र भनिएको अर्का एक सुकुमबासीले बताए। उनीहरूलाई बेलुका पाँच बजेतिर बसबाट ओरालेर सरकारले तालिमका लागि बनाएको भवनमा लगियो। त्यो राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान अभिवृद्धि केन्द्रको भवन थियो। तालिम लिन आउनेहरूलाई राख्न बनाइएको आवासमा उनीहरूलाई राखिएको छ।

मूल सडकमा नियमित सार्वजनिक सवारीसाधन पनि पाइँदैन। नगरकोट पुर्याइएकाहरु केही पढिरहेका विद्यार्थी र केही कामकाजी समेत छन्। तर त्यहाँबाट काठमाडौंको स्कुल आउन पनि सम्भव छैन, काम गर्न पनि सम्भव छैन।

होटलवालाहरुसँग मन्त्रालयको मौखिक सम्झौता !

बालाजुको होटलहरुमा मात्र थापाथली, गैरीगाउँ, मनोहराबाट २ सय जना भन्दा बढी विस्थापित रहेका थिए। अहिले सबैलाई सरकारले स्थानान्तरण गर्ने भनेर लगिसकेको होटल सञ्चालक लेखनाथ खरेलले बताए। सहरी विकास मन्त्रालयको मौखिक सहमतिमा विस्थापितलाई राखिएको उनले भने।

होटलमा बिहानको चियानास्ता, खाना र दिउँसोको नास्तासँगै रातिको पनि खाना दिने गर्दै आएको थियो। उनका अनुसार प्रति व्यक्ति दिनको हिसाबले आठ सय रुपैयाँको दरले उनीहरूलाई राखिएको थियो। तर १२/१३ दिन बसेका उनीहरूको भुक्तानी भने सरकारले गरिसकेको छैन। उनीहरूलाई कहाँ स्थानान्तरण गर्न लागेको भनेर होटल सञ्चालकलाई समेत केही जानकारी नदिएको उनले बताए।

बालेनको डोजरे विकास

वैशाख २६, २०८३ शनिबार २०:३७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।