रुस र युक्रेनबीच तीन दिने युद्धविराम र बन्दी साटासाट हुने ट्रम्पको दाबी

रुस र युक्रेनबीच तीन दिने युद्धविराम र बन्दी साटासाट हुने ट्रम्पको दाबी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनको युद्धविराम हुने दाबी गरेका छन्। ट्रम्पको दाबी अनुसार आगामी मे ९ देखि ११ तारिखसम्म दुवै देशबीच युद्ध रोकिनेछ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै ट्रम्पले यस युद्धविरामको क्रममा दुवै देशले एक-अर्काका १ हजार जना बन्दीहरू (कैदीहरू) साटासाट गर्ने जानकारी दिएका छन्। अर्थात् रुस र युक्रेन दुवैले एक हजार-एक हजार जना कैदीहरूलाई छाड्नेछन्।

मे ९, १० र ११ तारिखमा युद्धविराम हुनुको कारण खुलाउँदै ट्रम्पले भनेका छन्, ‘रुसमा भिक्ट्री डेको उत्सव छ, युक्रेनमा पनि उत्सव छ किनभने उनीहरू पनि दोस्रो विश्वयुद्धको हिस्सा थिए।’

ट्रम्पले आफ्नो अनुरोधलाई स्वीकार गरेकोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार प्रकट गरेका छन्।

उनले लेखेका छन्, ‘यस युद्धविराममा सबै प्रकारका युद्ध गतिविधिहरू रोकिनेछन्। मलाई आशा छ कि यो लामो, खतरनाक र कठिन युद्धको अन्त्यको सुरुवात हो।’

ट्रम्पले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो यस द्वन्द्वलाई अन्त्य गर्न कुराकानी भइरहेको पनि दाबी गरेका छन्।

एकातिर रुस-युक्रेन युद्ध रोक्ने प्रयास भइरहँदा, अर्कोतर्फ अमेरिका र इरानबीच भने हालैका आक्रमणहरूपछि तनाव झनै बढेको छ। यी दुई देशले एकअर्कालाई दोष लगाइरहेका छन्।

अमेरिकाले आफूले जवाफी कारबाही (आक्रमण) मात्र गरेको दाबी गरेको छ भने इरानले अमेरिकामाथि युद्धविराम तोडेको आरोप लगाएको छ।

वैशाख २६, २०८३ शनिबार ०७:३८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।