नेपालमा स्थापना गरिँदै हाइपरस्केल डाटा सेन्टर

नेपालमा स्थापना गरिँदै हाइपरस्केल डाटा सेन्टर

काठमाडौं : विचुटेन डाटा भोल्टले नेपालमा पहिलो पटक टियर ४ प्रमाणित हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। 

डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन र डाटा सुरक्षालाई सुदृढ बनाउन काठमाडौं र वीरगन्जमा गरी दुई वटा रणनीतिक केन्द्रहरू स्थापना गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार डाटा सेन्टरले ९९.९९५ प्रतिशत अपटाइमको सुनिश्चितता प्रदान गर्नेछ। यसको अर्थ वार्षिक रूपमा प्राविधिक अवरोध २६ मिनेटभन्दा कम मात्र हुनेछ, जसले गर्दा बैंकिङ र दूरसञ्चार जस्ता उच्च संवेदनशील क्षेत्रका लागि रणनीतिक केन्द्रहरू भरपर्दो हुने दाबी गरिएको छ।

परियोजनाको सुरुवात २४० किलोवाट क्षमताबाट हुने र सन् २०३० सम्ममा यसलाई ५ मेगावाट पुर्याउने लक्ष्य राखिएको छ। नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको कम्पनीले स्वदेशी प्रविधि र रोजगारीलाई प्राथमिकता दिने बताएको छ।

कम्पनीले गुगल क्लाउड, एएमडी, माइक्रोन र भीभीडीएएन जस्ता विश्वव्यापी प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको छ। सूचना प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै भविष्यमा सर्भर, क्यामेरा, ल्यापटप र ट्याबलेट जस्ता विद्युतीय उपकरणहरू नेपालमै उत्पादन गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य छ।

नेपालको डाटा देशकै सीमाभित्र सुरक्षित राख्ने उद्देश्यका साथ निर्माण हुन लागेको यो सेन्टरले विदेशी सर्भरमाथिको निर्भरता कम गर्ने अपेक्षा गरिएको छ। साथै, यो परियोजना पूर्णतया नेपालको जलविद्युतमा आधारित र ऊर्जा-दक्ष हुने प्रेस विज्ञप्तिमा उल्लेख छ।

भगवान विष्णुको रक्षक स्वरूपबाट नामाकरण गरिएको विचुटेन डाटा भोल्टले नेपाललाई दक्षिण एसियाकै एक सुरक्षित र विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

वैशाख २४, २०८३ बिहीबार २०:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।