मिलेमतो खरिदमा बदनाम भक्तपुर अस्पतालमा ‘रोबटिक सर्जरी’ मेसिन किन्न उल्टो प्रक्रिया सुरु
काठमाडौं : बागमती प्रदेश अन्तर्गतको भक्तपुरस्थित भक्तपुर अस्पतालले आर्थिक वर्ष सकिनै लाग्दा ‘रोबटिक सर्जरी’ मेसिन खरिद गर्नेगरी उल्टो किसिमको प्रक्रिया अगाडि बढाएको छ। नेपालमा रोबटिक मेसिन हालसम्म सरकारी अस्पताल देखिएको छैन।
भक्तपुर अस्पतालले २०८३ वैशाख १९ गते सूचना प्रकाशित गर्दै तीन दिनको समयसिमा तोकेर ‘रोबटिक सर्जरी’ सम्बन्धी मेसिनका बारेमा विज्ञताको जानकारी वैशाख २२ सम्ममा उपलब्ध गराइदिन अनुरोध गरेको हो।
अस्पतालले ‘रोबटिक सर्जरी सेवा विस्तार गर्ने योजना रहेकाले उक्त सेवा सञ्चालन गर्न आवश्यक पर्ने मेसिनको बारेमा जानकारी आवश्यक भएको’ उल्लेख गरेको छ।
भक्तपुर अस्पतालले सूचना जारी गर्दै ‘रोबटिक सर्जरी सेवा सञ्चालन गर्न आवश्यक पर्ने मेसिनको बारेमा जानकारी भएका इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले वैशाख २२ गते कार्यालय समयभित्र अस्पतालमा सम्पर्क गरेर वा इमेलमार्फत जानकारी तथा अनुभव उपलब्ध गराएर सहयोग गरिदिन’ अनुरोध गरेको हो।
यो मेसिनको खरिद प्रक्रिया हेर्दा हास्यास्पद देखिन्छ। किनकि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ कै नीति तथा कार्यक्रममा ‘सरकारी निजी सहकार्यको अवधारणा अनुसार प्रदेश औषधी उत्पादन केन्द्र र ड्रग एन्ड टेक्सीकोलोजी केन्द्र स्थापना तथा प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ-विशिष्टिकृत आँखा र रोबोटिक शल्यक्रिया सेवासहित अन्य सेवाहरू बिस्तार गरिने’ उल्लेख गर्दै रोबोटिक सर्जरी गर्ने मेसिन खरिद गर्ने योजना अघि सार्यो।
त्यसपछि आर्थिक वर्ष २०८२-०८३ बजेटमा ‘सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार प्रदेश औषधी उत्पादन केन्द्र र ड्रग एन्ड टक्सिकोलोजी केन्द्र स्थापना गर्न, प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ तथा विशिष्टीकृत आँखा र रोबटिक शल्यक्रियाका लागि १० करोड विनियोजन’ पनि गरियो।
तर, यसरी यो वर्षको नीति तथा कार्यक्रममा योजना अघि सारेर रोबोटिक सर्जरी सम्बन्धी मेसिन खरिदका लागि दश करोड रकम छुट्याए पनि आर्थिक वर्ष सकिने अन्तिम समयमा आएर बल्ल यो मेसिन खरिद गर्ने विषयमा सम्भाव्यता अध्ययनको लागि सूचना प्रकाशित गरियो।
यो तथ्य हेर्दा पहिले बजेटको व्यवस्थापन गरेर बल्ल मेसिनको जानकारी सम्बन्धी सम्भाव्यता अध्ययन गर्नुले भक्तपुर अस्पतालले रोबटिक सर्जरी सम्बन्धी मेसिन खरिदको प्रक्रियामा उल्टो विधि अपनाएको प्रस्टै देखिन्छ।
पहिले सम्भाव्यता अध्ययन गरेर बल्ल बजेटको व्यवस्थापन गरी खरिद प्रक्रिया अगाडि बढाउनुपर्ने थियो। तर, त्यसो नगरी पहिले बजेटको व्यवस्थापन गर्ने अनि बल्ल आर्थिक वर्ष सकिन करिब दुई महिना बाँकी रहँदा तीन दिनको मात्रै समय दिएर सम्भाव्यता अध्ययन गर्नुले नै यो खरिदमा कुन तहसम्मको सेटिङको रणनीति छ भन्ने पूर्वानुमान लगाउन सकिन्छ नै। भक्तपुर अस्पतालको नेतृत्व मिलेमतोमा हुने खरिदमा पटक पटक मुछिएका छन्। यो प्रक्रिया पनि शंकारहित देखिन्न।
भक्तपुर अस्पताल अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले रोबटिक सर्जरी सम्बन्धी बजेटको व्यवस्थापन भए–नभएको प्रस्ट खुलाएनन्।
यो खरिदका लागि बजेट आइसकेको हो? भन्ने जिज्ञासामा निमित्त निर्देशक डा. भट्टले “...प्लानिङ गर्दैछौं। बजेट पनि कति चाहिने, के चाहिने थाहा पाउनुपर्यो नि। नेपालमा नै अहिलेसम्म कसैले गरेको छैन। बजेट आइसकेको छैन। आर्थिक वर्षको नीति योजनाको कार्यक्रम हो” भन्दै गोलमटोल जवाफ दिए।
उता बागमती प्रदेशकी स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पनि रोबटिक सर्जरी सम्बन्धी मेसिनको खरिदका लागि सम्भाव्यता अध्ययन भइरहेको र त्यसको रिपोर्ट कस्तो आउँछ त्यही अनुसार अगाडि बढ्ने बताइन्।
“सम्भाव्यता अध्ययन हुँदैछ। बजेट चाहिँ माग हुँदैछ। बजेट आएको छैन,”सचिव गौतमले भनिन्, “बजेट धेरै लाग्छ। बजेट छैन। अलिअलि पैसा छ। कतैबाट बच्यो भने गर्न सकिन्छ कि भन्ने हो। अहिलेसम्म बजेट सुनिश्चित भएर आएको छैन।”
पैसा नभएकैले अहिलेसम्म खरिद नभएको भन्दै सम्भाव्यता अध्ययनपछि अर्थ मन्त्रालयसँग माग गर्ने वा के गर्ने भन्ने विषयमा बिचार गरिने सचिव गौतमले तर्क गरिन्।
दश करोड भित्र मेसिन आउने अवस्थामा विभिन्न स्रोतबाट व्यवस्थापन गर्न पनि सक्ने सचिव डा. गौतमको भनाई छ।
“रोबटिकको पैसा छैन। भएको भए अहिलेसम्म टेन्डर भइहाल्थ्यो,” सचिव गौतमले भनिन्, “हामीले दश करोड राखेको हो।...अहिले जेनजी आन्दोलनपछि पैसा घटेर आएको छ। दश (करोड)लाई काटेर ६ (करोड) भएको छ।”
त्यसैले दश करोड भन्दा बढीमा खरिद गर्ने गरी सम्भाव्यता रिपोर्ट आए त्यति ठूलो रकममा त खरिद गर्न सकिने अवस्था नरहेको सचिव गौतमले बताइन्।
“भोलिको रिपोर्ट आओस्, त्यसपछि लास्टमा रकमान्तर गर्न सकिन्छ की,” उनले भनिन्,’२०-२५ करोड नै माग्यो भने त कहाँ सकिएला र? ८-१० करोड भित्र भयो भने त होला। त्यो भन्दा बढी भयो भने सकिँदैन होला।”
त्यो भन्दा बढी बजेट आवश्यक पर्ने अवस्थामा अर्को वर्ष रोबटिक सर्जरी मेसिन खरिदका लागि संघमा बजेट माग गर्ने कुरा समेत भएको उनले तर्क गरिन्।
सचिव गौतम र भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. भट्टको भनाई पत्याउँदा रोबटिक सर्जरी सम्बन्धी मेसिन खरिदका लागि दश करोडको बजेट व्यवस्था गरिए पनि त्यो रकम समेतको टुंगो नभएकाले रकमान्तर गरेर मेसिन खरिदको रणनीति अघि बढाउने कोसिस भएको देखिन्छ।
उकेरालाई प्राप्त जानकारी अनुसार यो बजेट सप्लायर्सकै इन्ट्रेस्टमा हालिएकाले उही रोबटिक मेसिन खरिदका लागि दश करोडबाट रकम बढाएर करिब १५ करोड पुर्याउने रणनीति देखिएको छ।
रोबटिक मेसिन मेसिन खरिदकै लागि भक्तपुर अस्पतालले शल्य चिकित्सक डा. रञ्जिस पाहारीलाई ‘रोबोटिक सर्जरी’ सम्बन्धी तालिम पनि दिइएको स्रोतले उकेरालाई जानकारी दियो।
भक्तपुर अस्पतालमा राखिएको उनको नेमप्लेटमा ‘डा. रञ्जिस पाहारी, क. ल्याप-लेजर तथा रोबोटिक सर्जन: एनएमसी नम्बर–१३७८६’ उल्लेख छ।
तर, उकेराको खोजमा यो एनएमसी नम्बर भएका डा. पाहारीले ‘जनरल सर्जरी’ विषयमा एमएस मात्रै अध्ययन गरेको नेपाल मेडिकल काउन्सिलको अभिलेखमा देखिएको छ।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सत्तिश देवले कम्तीमा एक वर्षको फेलोसिप मात्रै दर्ता हुने बताए। “हामीले दर्ता गर्ने एक वर्ष भन्दा बढीको फेलोसिप हुन्छ,’ रजिस्टार देवले भने,‘त्यो भन्दा कम त हामी दर्ता नै गर्दैनौँ।”
काउन्सिलमा दर्ता नभएको विषय चिकित्सकले चिकित्सकले उपाधि लेख्न पाइँदैन। र काउन्सिलमा दर्ता नभएको विशेषज्ञता हासिल गरेको खण्डमा समेत उनले सर्जनको रूपमा काम गर्न पाउँछन्।
डा. पाहारी सर्जन नै भएकाले तालिम लिएको भए रोबटिक सर्जरी गर्न पाउने भए पनि काउन्सिलमा दर्ता नभई ‘रोबटिक सर्जन’को रूपमा उपाधि लेख्न नपाउने काउन्सिलले जनाएको छ। यसरी हेर्दा डा. पाहारीले काउन्सिलको नियम विपरीत काम गरेको समेत देखिन्छ।
आफूले भारतबाट रोबटिक सर्जरी सम्बन्धी तालिम लिएको र रोबटिक सर्जनको रूपमा नेपाल मेडिकल काउन्सिलमा हालसम्म दर्ता भएकोबारे आफूलाई थाहा नभएको बताउँदै ‘नेम प्लेट’मा ‘रोबटिक सर्जन’ लेख्ने विषयमा त्रुटि भएको भए सच्याउने उनले जानकारी दिए।
सिटीमा पनि बदमासी
यसअघि भक्तपुर अस्पतालले सात करोड रुपैयाँमा खरिद गरेको सिटी स्क्यान मेसिनका सामान स्पेशिफिकेशनभन्दा फरक आए पनि जडान गरेर सञ्चालनमा ल्याएको विषय समेत उकेराले खुलासा गरेको थियो।
उकेराको खोजमा अस्पतालका प्रमुखले प्राविधिक टिमबाट पिडिआई (पोस्ट डेलिभरी इन्स्पेक्शन) रिपोर्ट तयार नै नगरी मापदण्डभन्दा फरक सामग्री स्वीकार गरेर रकमसमेत भुक्तानी गरेको खुलासा भयो।
टेन्डर प्रस्ताव गर्दा सप्लायर्स कम्पनीले सिटी मेसिनसँग सम्बन्धित जुन उत्पादक कम्पनीको पार्टपुर्जा तथा सामग्री ल्याइदिने कबुल गरेको थियो, त्योभन्दा फरक कम्पनीको सामान ल्याएको पाइएको हो।
अस्पतालले ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि आर्थिक वर्ष सुरु भएको ६ महिनापछि मात्रै २०८० फागुन २४ मा (२०२४ मार्च ७) टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाएको थियो।
सिटी स्क्यान मेसिन राख्ने संरचनासहित लुम्बिनी हेल्थ केयर प्रालिसँग सात करोड ६ लाख १६ हजार दुई सय १० रुपैयाँमा खरिद सम्झौता भएको थियो।
पिडिआई नै नभएको उक्त सिटी स्क्यान मेसिनको उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ र प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले गरेका थिए।
डा. गौतम भक्तपुर अस्पतालको निर्देशक भएको समयमा सिटी किनिएको थियो। २०८१ पुसमा उनी बागमती प्रदेशको स्वास्थ्य सचिव बनिन् भने डा. सुरेन्द्रप्रसाद भट्ट अस्पतालको निमित्त निर्देशक भए।
डा. गौतम र भट्टकै मिलेमतोमा तोकिएको मापदण्डभन्दा फरक पार्टपुर्जा र सामग्रीहरू आए पनि उनीहरूले तथ्य लुकाएर सिटी सञ्चालनमा ल्याएको देखियो। उकेराको स्थलगत भ्रमणबारे जानकारी पाएपछि भट्टले पटक–पटक सप्लायर्स कम्पनीलाई पत्रमार्फत अनुरोध गरेपछि, जोडिएको अन्य कम्पनीको एसी हटाएर बोलपत्रमा कबुल गरेअनुसारै एसी जोड्ने प्रक्रिया सुरु भएको भने देखिएको थियो।
तर, यो सबै एकिन तथ्यका लागि सिटी खरिदको विषयमा उकेराकर्मीले सूचनाको हक प्रयोग गरी सूचना माग गर्दा समेत भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले हालसम्म दिएका छैनन्।
वैशाख २१, २०८३ सोमबार २१:५९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।