इस्ट इन्डिया कम्पनी लेखिएको राम-सीताको मूर्ति बेच्न खोज्ने भारतीय नागरिकसहित ५ जना ठमेलबाट पक्राउ

इस्ट इन्डिया कम्पनी लेखिएको राम-सीताको मूर्ति बेच्न खोज्ने भारतीय नागरिकसहित ५ जना ठमेलबाट पक्राउ

काठमाडौँ : काठमाडौँको ठमेलस्थित एक होटेलबाट प्राचीन मूर्ति बिक्री गर्न खोज्ने एक भारतीय नागरिकसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 'इस्ट इन्डिया कम्पनी १८१८' लेखिएको राम-सीताको धातुको मूर्ति अवैध रूपमा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको सादा पोसाकको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

आइतबार (वैशाख २० गते) दिउँसो साढे ४ बजेको समयमा ठमेलस्थित होटल बुद्धहोम नेपालको कोठा नम्बर २०४ मा खानतलासी गर्दा प्रहरीले धातुको मूर्तिसहित दुई जनालाई फेला पारेको थियो। पक्राउ पर्नेमा भारतीय नागरिक उग्येन साथो र सुरेश महर्जन (मचा काजी पुतुवार) रहेका छन्।

उनीहरूमाथि गरिएको प्रारम्भिक सोधपुछका क्रममा सो मूर्ति उपलब्ध गराउने अन्य व्यक्तिहरू क्षेत्रपाटीस्थित पोमेलो होटलमा रहेको खुलेको थियो। सोही सूचनाका आधारमा प्रहरीले पोमेलो होटलको कोठा नम्बर ४०२ मा छापा मारी थप तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले भारतीय नागरिक उग्येन साथो (५२ वर्ष) र नेपाली नागरिकहरू सुरेश महर्जन भनिने मचा काजी पुतुवार (५२ वर्ष), सविन आचार्य (३७ वर्ष), तिलक केसी (२६ वर्ष) र जीवन थापा (४१ वर्ष) लाई पक्राउ गरेको हो। उनीहरूको साथबाट इस्ट इन्डिया कम्पनी लेखिएको राम-सीताको धातुको जस्तो देखिने मूर्ति फेला परेको छ।

मूर्ति कत्तिको प्राचीन हो ?

इस्ट इन्डिया कम्पनी लेखिएको फ्रेममा धातुको मूर्ति रहेकाले यो सक्कली भए भारतमा ब्रिटिसको राज भएको कालको हुनसक्छ। तर इस्ट इन्डिया कम्पनीले त्यस समयमा सिक्काहरू जारी गरे पनि यस प्रकारका हिन्दु देवी-देवताका मूर्तिहरू व्यापारिक प्रयोजनका लागि बनाएको आधिकारिक प्रमाणहरू विरलै भेटिन्छन्।

प्रहरीले यसलाई 'धातुको जस्तो देखिने' भनी उल्लेख गरेको छ। यदि यो साँच्चिकै सुन, चाँदी वा बहुमूल्य अष्टधातुले बनेको भए यसको धातुगत मूल्य हुन सक्छ। तर, प्रायः यस्ता मूर्तिहरू पित्तल वा अन्य सस्तो मिश्रित धातुमा केमिकल प्रयोग गरेर पुरानो जस्तो देखिने बनाइएका पनि हुन्छन्।  दि यो वास्तवमै प्राचीन र पुरातात्त्विक महत्वको हो भने यसलाई निजी रूपमा बिक्री गर्नु गैरकानुनी मानिन्छ। यस्ता वस्तु राष्ट्रिय सम्पत्ति हुन्।

वैशाख २१, २०८३ सोमबार २१:११:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।