अप्रिलमा भित्रिए १ लाख ७ हजारभन्दा बढी विदेशी पर्यटक
काठमाडौं : सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख सात हजार नौ सय ३४ विदेशी पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार जुन २०२५ अप्रिलको तुलनामा पर्यटन आगमन ७.३ प्रतिशतले घटेको छ।
गत वर्षको अप्रिलमा एक लाख १६ हजार चार सय ९० पर्यटक भित्रिएका थिए भने कोरोना महामारी अघि सन् २०१९ को अप्रिलमा एक लाख नौ हजार तीन सय ९९ पर्यटक भित्रिएका थिए।
बोर्डको तथ्यांकअनुसार दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार चार सय ३२ पर्यटक भित्रिएका छन्। जुन कुल आगमनको ३१ प्रतिशत हो।
अन्य एसियाली देशबाट २६ हजार सात सय २६ पर्यटक भित्रिएका छन्। युरोपबाट २१ हजार नौ सय ८८, ओसिनियाबाट पाँच हजार आठ सय ९८, अमेरिकाबाट दुई हजार पाँच सय १८, पश्चिम एसियाबाट एक हजार छ सय ९७ र अफ्रिकी मुलुकबाट तीन सय १५ र अन्य मुलुकबाट १५ हजार तीन सय ६० पर्यटक भित्रिएका छन्।
नेपालमा सबैभन्दा बढी पर्यटक छिमेकी मुलुक भारतबाट आउने गरेका छन् भने दोस्रोमा चीनबाट आउने गरेका छन्। अन्य एशियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको संख्या पनि क्रमशः बढ्दो क्रममा रहेको छ। यसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ।
देशगत तथ्यांक हेर्दा सैबभन्दा बढी १५ हजार १९६ भारतबाट र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक भित्रिएका छन् भने तेस्रोमा बंगलादेशबाट ५ हजार २३१ पर्यटक भित्रिएका छन्।
पछिल्लो समय पश्चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध सिर्जना, अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावितलगायतका कारण अप्रिलमा पर्यटक आगमनमा केही असर परेको देखिन्छ।
नेपालमा पर्यटक संख्यामा वृद्धि गर्नका लागि डिजिटल मार्केटिङ, तथा नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने थप योजना, कार्यक्रम र रणनीतिहरु आवश्यक रहेको समेत बोर्डले उल्लेख गरेको छ।
वैशाख २१, २०८३ सोमबार १४:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।