मनोहराको खण्डहर कोट्याउँदै वालेन्द्र सरकारको देशकी ‘सम्पन्न’ राममाया
काठमाडौं : मनोहरा खोला किनारमा बिहीबार दिउसो करिब १२ बजेतिर पुग्दा पानी पर्ला पर्ला जस्तो धुम्म मौसम रामामाया तामाङ भर्खरै युद्ध सकिएर भग्नावशेष बनेको खण्डहरमा केही खोजे झैँ खोस्रिरहेकी थिइन्।
छाप्रो जोगाउन उनले लामै संघर्ष गरिन्। कहिले महानगरसँग त कहिले सरकारसँग उनको लडाई चलिनै रहेको थियो। उतातिर लालपुर्जाका लागि उनको निरन्तर संघर्ष जारी नै थियो। यही क्रममा भदौ २३ र २४ को परिवर्तन आयो। त्यसले संसद् नराखेपछि फागुन २१ मा ताजा जनादेशमा लागि निर्वाचन भयो। त्यो निर्वाचनबाट गरिबको चमेली बोल्दिने कोही छैन भन्ने र्यापर वालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा उदाए।
जनमतबाट झन्डै २ तिहाइ शक्ति पाएका वालेन्द्रले एक सय ८२ को शक्ति कस्तो हुने रहेछ भनेर पहिला केपी शर्मा ओली र रमेश लेखकमा प्रयोग गरेका थिए। तर अदालतको आदेशका कारण उनको त्यो जादुई अंकको सही परीक्षण हुनै सकेन। अनि उनले सम्झिए थापाथलीको झुपडी जहाँ उनका कमान्डर राजु पाण्डे पराजित भएका थिए कुनै समय।
उनले सम्झिए मनोहरा लगायतका झुपडी। उनलाई सहजै सिंहदरबार अनि बालुवाटारको सरकारी निवास पुर्याउने त्यो १८२ सिटको शक्तीको परीक्षण गरे। जसरी इजरायलले प्यालेस्टिनी क्षेत्रमा हान्दा कता अस्पताल छ अनि कता विद्यालय केही हेरेन। जसरी इरानमा हान्दा मानवीय बस्ती हेरेन।
त्यसरी नै वालेन्द्रको आदेश पाएको नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नगर प्रहरीले पनि को नक्कली अनि को सक्कली,को वृद्ध, को अपाङग अनि को बालबालिका हेरेन। सबैलाई सराबर व्यवहार गर्दै डोजरको प्रहार गर्यो। हाहाकार गर्दै भागी रहेका सुकुम्बासी देख्दा पक्कै वालेन्द्रले पहिलो पटक आफूले पाएको १ सय ८२ सिटको शक्तीको अनुभव गरे होलान्। राममाया तामाङहरूलाई हराउँदा सायद उनी पक्कै खुसी भए होलान्।
सुँगुर बेचेर बनाएको घर एक क्षणमै स्वाहा
वालेन्द्रको सरकारको मापदण्ड अनुसार राममायालाई सुकुमबासी बस्तीमा बस्ने अधिकार पनि छैन। त्यसैले न स्क्रिनिङतिर गइन् न त होल्डिङ सेन्टरतिर जाने हिम्मतै गरिन्। किनकि सरकारी नियम अनुसार उनी हुनेखाने हुन्। किनकि उनको नाममा काभ्रेमा एक टुक्रा जग्गा छ।
मनोहरा खोला किनारको ३ नम्बर क्षेत्रमा पर्ने एक भग्नावशेष अगाडि उकेराकर्मी पुग्दा डोजरले भत्काएको भग्नावशेष घरबाट उनै राममाया र उनकी बहिनी सहित ३ जना साना बालबालिका बचेखुचेको कार्पेटको टुक्रा समेट्दै थिए। राममाया कार्पेट समेट्दै थिइन भने, अन्यले समेटेका कार्पेटमा लागेको धुलो पुछिरहेका थिए।
राममाया, उनको श्रीमान् २०५८ सालमा मनोहरा क्षेत्रको नदी किनारमा बस्न आएका थिए। काभ्रेको स्थानीयवासी उनको परिवारको नाममा एउटा घर बनाउन मिल्नेसम्मको जग्गा निस्कियो। त्यो पनि भिरमा। त्यसैले उनी सम्पन्न सूचीमा परिहालिन्।
“यहाँको घर भत्काएपछि रङ्गशालामा नाम टिपाउन गएको थिएँ। तीनपुस्ते हेर्दा जमिन देखियो। अब काभ्रेको बाँदर लड्ने भिरमा जमिन छ। कसरी गएर बस्ने? राम्रो ठाउँमा घर भएको भए, यस्तो गन्हाउने ठाउँमा को आएर बस्थ्यो र?” उनले भनिन्।
उनी २०५८ सालमा मनोहरा क्षेत्रमा आएदेखी सुँगुर पाल्न थालिन्। उनका श्रीमान् सामान लोड-अनलोडको काम गर्ने। डोजर चल्नु केही महिना अघि मात्रै उनले खोरमा सुँगुर हालेकी थिइन्। जब डोजर आउने भयो पालेको १५ वटा सुँगुर सस्तोमा बेच्न बाध्य भइन्।
“डोजर आई त हाल्यो। सबै सुँगुर केही महिनाका मात्रै भएका थिए। चिचिला थिए, सस्तोमै बेच्नु पर्यो” उनले भनिन्।
घरमा डोजर चलेपछि उनी पनि अन्य जस्तै नाम टिपाउन रङ्गशाला पुगिन्। तर लगत टिपाउनेक्रममा उनको परिवारको नाममा काभ्रेमा जमिन देखिएपछि सरकारी नियम अनुसार उनी वास्तविक सुकुम्वासी भइनन्।
त्यसपछि राममाया र उनकी बहिनीको परिवार मिलेर जडीबुटीमा कोठा खोजे। कोठा त भेटाए, तर पानी चुहिने। त्यही भए पनि बस्नै पर्यो।
“मान्छेलाई यही बेला मौका परेको छ। तीनवटा पानी चुहिने कोठा भेटिएको छ। भाडा १३ हजार भनेको छ। कसरी भाडा तिर्ने, काम केही छैन। बुढाको कमाई बलियो छैन। सुँगुर पालेर कमाउँथे। अब के गर्ने थाहा नै छैन” उनले भनिन् “पढी रहेको स्कुल पनि भत्कियो। यिनलाई खुवाउने कि, कोठा भाडा तिर्ने कि, पठाउने, मेसो नै पाएका छैनौ” बच्चाहरू देखाउँदै उनले भनिन्।
प्रधानमन्त्री वालेन शाह सचिवालयको अनुसार मनोहरा, थापाथली, र सिनामंगल एरियाको तथ्याङ्क अनुसार जम्मा ११ सय ५१ घर धुरी भत्काएको छ। जसमा विस्थापित परिवारको कुल संख्या १२ सय ६७ पुगेको छ।
यी घरधुरी भत्किँदा कुल ४ हजार ९ सय ६६ जना मानिस प्रत्यक्ष विस्थापित भएका छन्। तर, विडम्बना के छ भने, हालसम्म जम्मा ५ सय ६४ घरधुरीको मात्र लगत संकलन भएको छ।
यसको अर्थ, करिब ७ सय ३ परिवार (आधाभन्दा बढी) अझै लगत सङ्कलनको दायराभन्दा बाहिर छन्। भने कैयनको राममायाकै जस्तै समस्या छ। कित्तामा जग्गा देखिन्छ। तर जग्गा कस्तो छ भनेर हेरिदिन को जाने? जग्गा देखिएपछि सम्पन्न भइहाले।
भग्नावशेष पछिको दृश्य
अहिले मनोहरा बस्ती उजाडिएपछि कवाडी सामान बोक्नेको घुइँचो छ। ठेक्का मार्नेदेखि, सानातिना सामान उठाउनेको ताती नै लागेको छ। एक व्यवसायीले ५ देखी ६ लाखसम्म लगानी लगाएर कवाडी सामान उठाइरहेको बताए।
उनले उकेरासँग भने, “उ त्यहाँ हेर्नु त त्यो ६ लाख लिएर सामान उठाउन आएको हो। डोजर नै लिएर आएका छन्। भोलीसम्म नउठाए महानगरले सम्म (बराबर) पार्ने रे” उनले भने।
मनोहरा क्षेत्रमा ठुलादेखि बोरासम्ममा कवाडी सामान उठाउनेहरूको लाइन लागेको देखियो। सबैलाई भग्नावशेषमा बिक्ने सामान खोज्न व्याईनभ्याई थियो। त्यही भिडमा राममाया जस्ता भने आफ्ना केही जोगिएको सामान फेला परिहाल्छ कि भनेर खोज्नेहरू पनि थिए।
वैशाख १७, २०८३ बिहीबार २१:२८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।