डा. नदनको अनुभव : दिसा चुहिएर हलचल गर्नै नसक्ने भएका तीन पुरुष आयुर्वेद उपचारपछि ठमठमी हिँडे

डा. नदनको अनुभव : दिसा चुहिएर हलचल गर्नै नसक्ने भएका तीन पुरुष आयुर्वेद उपचारपछि ठमठमी हिँडे

हरेस खाएर उपचारको आशा मारिसकेका बिरामीको जीवनमा आयुर्वेदले ‘चमत्कार’ गर्दा कस्तो महसुस हुन्छ? यो प्रश्नको जीवन्त उत्तर आयुर्वेद चिकित्सक डा. नदन कँडेलको अनुभवमा भेटिन्छ।

आयुर्वेदिक विधिबाट रोग लाग्नै नदिनु र लागिहालेमा त्यसको जडैदेखि उपचार गर्नु उनको दैनिकी हो। आफ्नो चिकित्सा यात्रामा देखेभोगेका यस्तै केही अविस्मरणीय अनुभव डा. नदनले यसरी साटेका छन्।

हरेस खाएका पुरुषलाई जब ‘क्षारसूत्र’ले बचायो
डा. नदन आफ्नो उपचार अनुभवको एउटा प्रसंग कहिल्यै भुल्दैनन्।

डेढ वर्षअघि, रामेछापस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा करिब ४८ वर्षीय एक पुरुष उपचारका लागि आइपुगे। स्वास्थ्य परीक्षण गर्दा उनलाई जटिल प्रकारको ‘फिस्टुला’ भएको पत्ता लाग्यो। उनी विगत ६ वर्षदेखि यो पीडा भोगिरहेका रहेछन्।

उनको मलद्वार वरिपरि ३-४ वटा प्वाल परिसकेका थिए। ती प्वालहरूबाट दिसा, पीप र रगत निरन्तर चुहिएर कपडा बिग्रने र दुर्गन्ध आउने समस्याले उनी सामाजिक जीवनबाटै टाढिएका थिए।

पीडा र हीनताबोधले गर्दा उनले हिँडडुल गर्नै छाडिसकेका थिए र आफ्नो रोग कहिल्यै निको हुँदैन भनेर पूर्ण रूपमा हरेस खाइसकेका थिए।

तर, आयुर्वेदमा उनको समस्याको समाधान थियो। डा. नदनले आयुर्वेदको प्राचीन शल्यचिकित्सा पद्धति ‘क्षारसूत्र’ विधिबाट उनको उपचार सुरु गरे। यो विधिमा औषधियुक्त धागोको प्रयोग गरिन्छ।

उपचार सुरु भएको केही समयमै उनको अवस्थामा सुधार देखिन थाल्यो। करिब नौ महिनाको नियमित उपचारपछि उनको फिस्टुलाको समस्या पूर्ण रूपमा निको भयो।

‘मिराकल’ जस्तै गरी निको भएपछि ती पुरुषको अनुहारमा देखिएको खुसी र कृतज्ञता डा. नदनका लागि सबैभन्दा ठूलो सन्तुष्टि बन्यो।

‘पायल्स, फिसर तथा फिस्टुलाजस्ता मलद्वारजन्य समस्याको समाधानका लागि आयुर्वेदको ‘क्षारकर्म र क्षारसूत्र’ विधि अत्यन्तै प्रभावकारी छ’, डा. नदन आफ्नो अनुभव सुनाउँछन्। उनले यही विधिबाट सयौँ बिरामीलाई निको पारिसकेका छन्।

आयुर्वेदले गरेको त्यो ‘चमत्कार’
डा. नदनको स्मरणमा अर्को एउटा यस्तै अविस्मरणीय घटना पनि छ। करिब ६ वर्षअघि, ४१ वर्षीय एक पुरुष ‘आयुर्वेद चिकित्सालय नरदेवी’ आइपुगेका थिए। उनलाई ‘क्रोनिक किड्नी डिजिज’ (मिर्गौलाको दीर्घ रोग) थियो, जसका कारण उनको शरीर पूरै सुन्निएको थियो।

आधुनिक चिकित्सा (एलोपेथी) बाट उपचार गराउँदा पनि निको नभएपछि उनी दिनदिनै शिथिल बन्दै थला परिरहेका थिए। आयुर्वेदले केही गरिहाल्छ कि भन्ने झिनो आशा बोकेर उनी नरदेवी अस्पताल पुगेका थिए। डा. नदनको टिमले उनको स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक विधिबाट उपचार सुरु गर्यो, जसमा विशेषगरी केही ‘रस’ औषधि प्रयोग गरियो।

बिस्तारै उनको स्वास्थ्यमा सुधार आउन थाल्यो। शरीर सुन्निएको कम हुँदै गयो। आयुर्वेदिक उपचार सुरु गरेको करिब एक महिनामै उनको मिर्गौलाको समस्यामा उल्लेख्य सुधार आयो। डा. नदनलाई याद छ, उनी नरदेवीमा रहँदा ती बिरामी करिब तीन महिनासम्म नियमित फलोअपमा आएका थिए।

रोगले थलिएर आशा मारिसकेका बिरामी निको भएपछि उनको खुसीको कुनै सीमा थिएन। ‘मिर्गौलाका सबै बिरामीलाई आयुर्वेदले नै ठीक हुन्छ भन्न त सकिन्न, तर रोगको अवस्था हेरेर कतिपय बिरामीमा आयुर्वेदिक उपचार विधिले चमत्कार नै गर्छ’, डा. नदन भन्छन्।

कविराजदेखि विशेषज्ञ चिकित्सकसम्मको यात्रा
२०४० सालमा दाङको तुलसीपुर-५ मा जन्मेका नदन कँडेलले २०५७ मा स्थानीय अरनिको बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरे।

सानैदेखिको डाक्टर बन्ने सपना पूरा गर्न उनी आयुर्वेदतर्फ लागे। २०६० मा नेपाल संस्कृत विश्वविद्यालयबाट आयुर्वेदको सामान्य चिकित्सामा तीनवर्षे डिप्लोमा गरेपछि उनी २०६१ मा लोकसेवा उत्तीर्ण गरी ‘कविराज’ पदमा सरकारी सेवामा प्रवेश गरे।

उनको पहिलो पोस्टिङ दैलेखको विलासपुर आयुर्वेद औषधालयमा भयो। तर, अध्ययनको भोक उनमा कहिल्यै मरेन। काम गर्दैगर्दा उनले २०६४ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ‘आयुर्वेद क्याम्पस’मा सरकारी छात्रवृत्तिमै ‘ब्याचलर्स अफ आयुर्वेद मेडिसिन एन्ड सर्जरी (बीएएमएस)’ अध्ययन सुरु गरे र २०६९ मा पूरा गरे।

बीएएमएसपछि उनले बझाङको आयुर्वेद औषधालयमा करिब एक वर्ष काम गरे। २०७१ मा उनी लोकसेवामार्फत आठौँ तहको आयुर्वेद चिकित्सक पदमा छनोट भए र अछाम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पदस्थापित भए।

उनको ज्ञानको तिर्खा अझै मेटिएको थिएन। उनले २०७१ मा नै सरकारी छात्रवृत्तिमै त्रिवि, आयुर्वेद क्याम्पसबाट स्नातकोत्तर तहको ‘काय चिकित्सा’ विषयमा एमडी अध्ययन सुरु गरे र २०७४ मा पूरा गरे।

एमडीपछि उनले काठमाडौंको नरदेवी आयुर्वेद चिकित्सालय, भक्तपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (प्रमुख) र रामेछाप जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (प्रमुख) मा रहेर काम गरे। हाल उनी २०८१ देखि भक्तपुरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।

बिरामीको रोगको निदान गर्नु, आयुर्वेदिक विधि अपनाएर उनीहरूलाई निको पार्नु र कार्यालय प्रमुखका रूपमा व्यवस्थापकीय भूमिका निर्वाह गर्नु नै डा. नदनको दैनिकी हो।

वैशाख ५, २०८३ शनिबार १४:००:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।