बुद्ध जयन्तीकै दिन सुकुम्बासी बस्तीसँगै ढल्यो बौद्ध गुम्बा

बुद्ध जयन्तीकै दिन सुकुम्बासी बस्तीसँगै ढल्यो बौद्ध गुम्बा

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा बुद्धका उपदेश र शान्तिको प्रवचन दिइरहँदा यता बल्खुमा भने बुद्धकै मूर्तिलाई सडकमा पुर्याइ सकिएको थियो। देशभर बुद्ध पूर्णिमाको उल्लास भइरहँदा सुकुम्वासी बस्ती हटाउने क्रममा साङ्गे छोइलिङ्ग गुम्बामा पनि डोजर चलाइयो। 

२०७१ सालमा काठमाडौं महानगर वडा नम्बर १४ मा दर्ता भएको उक्त गुम्बाको दर्ता प्रमाणपत्र समेत छ। साथै, प्यान कार्ड समेत रहेको भए पनि गुम्बालाई भत्काइयो। अहिले उक्त गुम्बामा रहेको बुद्धको मूर्तिमा बत्ती बालेर खुल्ला आकाशमा राखिएको छ।

मूर्तिलाई संरक्षण गरेर बसेका एक व्यक्तिले बुद्ध जयन्तीको दिन गुम्बा भत्काइएकोमा दुखेसो पोखे। उनले उकेरासँग भने, “आजै बुद्ध जयन्ती, कम्तीमा सरकारले आजैको दिन नभत्काएको भए हुने। यसलाई सार्न समेत दिएन। धन्न मूर्ति र किताब बाहिर ल्यायो हामीले। गुम्बा ८ बजे भत्कायो।”

गुम्बा भत्काएर मूर्तिलाई सडकमा पुर्याइदा प्रधानमन्त्री बालेनले सामाजिक सञ्चालनमा बुद्ध जयन्तीको शुभकामना पोस्ट गरे। उनले बिहान ११ बजे फेसबुकमा पोस्ट गर्दै क्रान्ति ‘क’बाट नभएर ‘ज्ञ’बाट सुरु हुने भनिरहँदा बल्खुमा रहेको साङ्गे छोइलिङ्ग गुम्बा भने भत्किसकेको थियो। प्रधानमन्त्री बालेनले स्टाटसमा लेखेका छन्, “बुद्धले भन्नुभयो- दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”

उनले अगाडि लेखेका छन्, "बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।"

उनले शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गरेका छन्। बालेनले लेखेका छन्, "बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ। साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो 'ज्ञ' ज्ञान हो। बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना। अप्प दीपो भवः।”

बुद्धका देखाएको अहिंसा र शान्तिको पक्षमा रहने भनिरहँदा गुम्बा स्थानान्तरण गर्न समय नदिई डोजर चलाइयो। तर, सोही क्षेत्रमा रहेको साझा पेट्रोल पम्पलाई भने कुनै हानी पुगेको छैन। उक्त पम्प पनि अवैध र खोला किनारमै अवस्थित छ। तर उक्त पम्पको पर्खालमा समेत डोजरले कोतरेको देखिएन।

 

वैशाख १८, २०८३ शुक्रबार १५:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।