शान्तिको दिन सुकुमबासी बस्तीमा बन्दुक र डोजरको अशान्ति : 'सफाइ अभियान' को आवरणमा वालेन्द्रको मानवताहीन दमन

शान्तिको दिन सुकुमबासी बस्तीमा बन्दुक र डोजरको अशान्ति : 'सफाइ अभियान' को आवरणमा वालेन्द्रको मानवताहीन दमन

काठमाडौं : बुद्ध पूर्णिमाको दिन बिहानैबाट बल्खुको सुकुमबासी बस्ती अशान्त छ। देश बनाउने हुटहुटीले भरिएको प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको सपना पुरा गर्न बन्दुकधारी नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि लाठीधारी महानगरीय नगर प्रहरी बिहानै डोजर अनि एक्स्काभेटर लिएर बस्तीमा पुगेका थिए।

स्थानीय प्रशासनबाट आएको सूचना अनुसार केहीले आफ्नो पोका कसिसकेका थिए। अधिकांश पोका कस्ने तयारीमा थिए। एकाएक प्रहरीको साथ पाएको एक्स्काभेटर र डोजर सुकुमबासीको घर र टहरामा बज्रिन थाल्यो। महिला अनि बालबालिका भएका आफ्ना सामान जोगाउनतिर लागे।

देश विकासको मुख्य बाधकै अव्यवस्थित बसोबासी हुन् झैँ व्यवहार गर्दै गृह मन्त्रालयको कमान्ड सम्हाले लगत्तै शाहले काठमाडौंको थापाथली र मनोहराबाट शहरी गरिब सफाइ अभियान सुरु गरेका थिए।

शाहले सम्पन्न हुँदाहुँदै पनि मंहगो क्षेत्रको जग्गा हडपेकाहरूलाई हटाउने बहाना बनाए पनि त्यसको मुख्य मारमा घरबारहीन सुकुमबासीहरु परे। विद्यालय लागेको समयमा न बालबालिका विद्यालय जान पाए न त उनका अभिभावकहरूले दुखले आर्जेको अत्यावश्यक घरायसी सामग्री पुरै समेट्न पाए।

सरकारले जग्गाजमिन भएका सम्पन्नहरू जो सुकुमबासको आवरणमा जग्गा कब्जा गरेर बसेका छन् उनीहरूलाई हटाउने अनि जो जग्गाहीन सुकुमबासी हुन् उनीहरूको पहिचान गरेर बसोबासको व्यवस्था गर्ने दाबी गरेको छ।

तर उनीहरूलाई अस्थायी रूपमा कतै होल्डिङ सेल्टरको बहानामा टहरामा लगेर राखेको छ त कतिलाई गेस्टहाउसहरूमा लगेर राखेको छ। त्यसपछि उनीहरूलाई कहाँ राख्ने पत्तो छैन।

सुकुमबासीहरुलाई राख्न भनेर बनाइएका भवन मर्मतको काम सकिएको छैन। सरकारले पहिला वास्तविक सुकुमबासी र नक्कली सुकुमबासको पहिचान गरेर उनीहरूलाई खोला किनारबाट हटाएर अन्यत्र बसोबास मिलाउन सक्थ्यो।

तर त्यतातिर लागेन सरकार। त्यस्तो गर्दा समय लाग्ने भन्दै पहिला बस्ती रित्याउने अनि जो जो सम्पर्कमा आउँछन् उनीहरूलाई जता सकिन्छ त्यतै लगेर राख्ने रणनीति लियो। विद्यालय छुट्ने बालबालिकाका लागि के गर्ने, सुकुमबासी बस्तीमा रहेका सुत्केरी, वृद्ध अनि अशक्तहरूलाई के गर्ने कुनै योजना नबनाई उनीहरूले निरन्तर बन्दुकको ताल तेर्स्याएर बस्ती खाली गराइरहेका छन्।

निरीह नागरिक, निष्क्रिय प्रतिपक्षी

सरकार मानवताहीन गतिविधिमा सक्रिय छ। आफ्नै देशका नागरिकमाथि दमन र हिंसामा उत्साहित सरकारलाई खबरदारी गर्नु पर्ने प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरू निष्क्रिय छन्। उनीहरूको सक्रियता केवल विज्ञप्तिमा मात्र देखिन्छ।

नागरिक समाजको सक्रियता केवल सामाजिक सञ्जालमा मात्र देखिएको छ। सामाजिक सञ्जालमा वालेन्द्र शाहले देश बनाउने भए भन्ने पक्षमा एक समूह गरिबको बाध्यतालाई विकासको कलेवर लगाउन व्यस्त छ।

एक समूह सरकारको यो मानवहीन व्यवहारको आलोचनामा केन्द्रित छ। तर उनीहरूको त्यो आलोचनाले सरकारलाई छोएको छैन। १८२ सिटले मदहोस राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सुकुमबासीप्रति आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले गरेको अत्याचार विरुद्ध बोल्ने पक्षमा छैनन्।

हिजो निर्वाचनको समयमा आफू समेत भूमिहीनको छोरो भन्दै भोट मागेका रास्वपाका सांसदहरू समेत सरकारले गरेको खराब कामलाई खराब भन्दा वालेन्द्र शाह रिसाउने र मौका आउन सक्ने राजकीय पद गुमाउन सक्ने भयले मौन छन्।         

सरकार बनाउन सक्ने हैसियत नभए पनि नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीसँग पनि सांसद छन्। नयाँ दल श्रम संस्कृति पार्टीका पनि सांसद छन्। तर उनीहरूको उपस्थिति पनि सामाजिक सञ्जाल बाहिर देखिन सकेको छैन।

सरकार चारैतिर बन्दुक बोकेको प्रहरीले घेरा हालेको डोजर र एक्स्काभेटर लिएर बस्तीहरूमा छिरिरहेको छ। हुकुमबासी भन्दै सत्ता समर्थकहरूबाट हुर्मत लिइएका नागरिक निरीह छन्। साथ दिनु पर्ने पक्षहरू ‘हिजो भोट नदिएको हैन, ठिक पर्यो’ भनेर काखी बजाउन व्यस्त समान देखिएका छन्। भोट पाउनेहरू डोजर र एक्स्काभेटर बजार्न मग्न छन्।

वैशाख १८, २०८३ शुक्रबार १४:३५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।