महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण : आफ्नो घर छैन, कास्कीको २७ रोपनी जग्गा बिक्रीमा
काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले आफूले केन्द्र खोलेर र पुस्तक बेचेर करोडौं कमाएको भन्दै आलोचना गर्नेहरूलाई कडा जवाफ दिँदै आफ्नो सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
नेता तथा मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राख्ने सरकारी परिपाटीप्रति व्यङ्ग्य गर्दै पुनले संघीय संसद् सचिवालयको ‘सम्पत्ति विवरण फाराम’ भरेर सामाजिक सञ्जालमार्फत आफ्ना भौतिक सम्पत्तिको फेहरिस्त बाहिर ल्याएका हुन्।
फाराममा उनले सरकारी संयन्त्रले विवरण लुकाउने भएकाले आफूले आफैँ सार्वजनिक गरेको बताएका छन्।
पुनको सम्पत्ति कति छ ? घर भाडाको, जग्गा बिक्रीमा
पुनले भरेको फारामअनुसार उनको आफ्नो नाममा कुनै घर छैन। चितवनको राप्ती-८ स्थायी ठेगाना भएका उनी हाल कास्कीको पोखरा-३ स्थित भाडाको घरमा बस्दै आएका छन्।
अचल सम्पत्तिका रूपमा कास्कीको माझठानामा उनको नाममा २७ रोपनी १५ आना ३ पैसा ४ दाम जग्गा रहेको छ।
अमेरिकामा रहँदा कमाएको करिब ४ लाख रुपैयाँले २०५३ सालमा किनेको उक्त जग्गा पनि उनले राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनार्थ पैसा जुटाउन बिक्रीमा राखेका छन्। यद्यपि, उक्त जग्गा अझै बिक्री नभइसकेको उनले खुलाएका छन्।
बैंकमा ४ लाख, सुन ३ तोला
चल सम्पत्तितर्फ पुनसँग गाडी, सेयर, ऋणपत्र वा कुनै पनि व्यावसायिक लगानी छैन। उनकी श्रीमतीसँग करिब ३ तोला सुन छ, जुन इष्टमित्रले उपहार दिएको विवरणमा उल्लेख छ।
बैंक खाताको हकमा, नेपाल बैंक लिमिटेडमा उनको नाममा ४ लाख रुपैयाँ छ। उक्त रकम व्यक्तिगत खर्चका लागि साथीभाइबाट प्राप्त सहयोग भएको उनले जनाएका छन्।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको खातामा २५ हजार रुपैयाँ रहेको र उक्त रकम ‘२०८२ सालको चुनावमा लड्दा बचेको रकम’ भएको उनले उल्लेख गरेका छन्।
पुस्तक बेचेको पैसा सबै कृषि औजार कारखानालाई
पछिल्लो समय ‘महावीर पुनको आत्मकथा’ बेचेर अकुत पैसा कमाएको भन्ने आरोपको खण्डन गर्दै उनले पुस्तक बिक्रीको सम्पूर्ण हिसाब पनि प्रस्ट पारेका छन्।
उनका अनुसार हालसम्म उक्त पुस्तक २ लाख ५० हजार प्रति बिक्री भइसकेको छ।
पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरिरहेको र भविष्यमा पनि सोही खातामा जम्मा गर्ने उनले लिखित प्रतिबद्धता नै जनाएका छन्।
आफ्नो विवरणलाई लिएर जो कोहीले छानबिन गर्न सक्ने चुनौती दिँदै पुनले आफ्नो असली सम्पत्ति भने भौतिक नभएको बताएका छन्।
‘यी भौतिक सम्पत्ति बाहेक मेरो अभौतिक र मूल्यांकन गर्न नसकिने अमूल्य र असीमित सम्पत्ति भनेका देश विदेशमा बसोबास गर्ने मेरा असंख्य सहयोगीहरू हुन्’, उनले भनेका छन्।
वैशाख १६, २०८३ बुधबार ११:१०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।