हलेसी तुवाचुङ नगरपालिकाले भत्कायो आफ्नै निर्माणाधीन भवनको पर्खाल

हलेसी तुवाचुङ नगरपालिकाले भत्कायो आफ्नै निर्माणाधीन भवनको पर्खाल

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाको आफ्नै निर्माणाधीन प्रशासनिक भवनको पर्खाल भत्काएको छ।

नगरपालिकासँग भएको सम्झौता विपरीतका निर्माण सामग्री प्रयोग भएपछि नगरपालिकाले नगर प्रहरी परिचालन गरेर पर्खाल भत्काएको हो।

‘एक नम्बर’ इँटा प्रयोग गर्ने उल्लेख भए पनि ठेकेदार कम्पनी ‘आकाश निर्माण सेवा, सिन्धुपाल्चोक’ले ‘दुई नम्बर’ इँटा प्रयोग गरेको पाइएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।

‘गुणस्तरहीन काम गर्ने छुट कसैलाई छैन,’ उनले भनिन्, ‘पर्खाल भत्काएर सम्झौता बमोजिमको गुणस्तरीय इँटा प्रयोग गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेका छौँ।’

कम्पनीले भवन निर्माणको कामलाई भने तीव्रता दिएको छ। १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो।

शहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा ५ करोड ८७ लाख १८ हजार १ सय ३० रुपैयाँको लागतमा भवन निर्माण भइरहेको छ।

वडा नं. ५ दुर्छिमको छापडाँडामा बन्न लागेको उक्त भवनका लागि स्थानीय पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले १ करोडभन्दा बढी मूल्य पर्ने १२ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए।

हाल नगरपालिकाले ट्रस भवनबाट सेवा प्रवाह गर्दै आएको छ।

जिल्लाका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ बाहेकका अन्य ८ स्थानीय तहले यसअघि नै आफ्ना सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरी सेवा सञ्चालन गरिसकेका छन्।

यता, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै लगानीमा सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरे पनि विभिन्न कारणले तीन वर्षदेखि सञ्चालनमा ल्याउन सकेको छैन।

वैशाख १६, २०८३ बुधबार ०७:२४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।