दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा, अब २०० मिटर मात्र बाँकी

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा, अब २०० मिटर मात्र बाँकी

नवलपरासी : नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा पर्ने दाउन्ने सडकको एकतर्फी ढलान कार्य अन्तिम चरणमा पुगेको छ।

आयोजनाको पूर्वी खण्डमा अब करिब २०० मिटर मात्र ढलान गर्न बाँकी रहेको र यो  सम्पन्न भएपछि एकतर्फी रूपमा पूर्ण सडक जोडिने आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए। 

पूर्वी खण्डको ३.९ किलोमिटर लम्बाइमध्ये अधिकांश भाग ढलान भइसकेको छ। वर्षाअघि नै एकतर्फी यात्रा सहज बनाउने लक्ष्यका साथ काम भइरहेको छ।

अहिले दाउन्नेको पूर्वी खण्डमा करिब ३३ मिटर लम्बाइको ढलानयुक्त बाटोबाट सवारी कुदिरहेका छन्। करिब ४०० मिटरको ढलान सकिएको क्षेत्रमा अहिले सवारी सञ्चालन गरिएको छैन।

सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात मिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था रहेको छ। अन्य सबै क्षेत्रमा कालोपत्रे र पक्की सडकमा यात्रा गर्न सकिने भएको छ। पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको सूचना अधिकारी खनालले बताए।

दाउन्नेको पश्चिम खण्डमा दश किलोमिटर क्षेत्र पर्दछ। जसमा तीन किलोमिटरमा एक चरणको कालोपत्रे सकिएको छ। सात किलोमिटर ढलान गर्नुपर्नेमा अहिले करिब दुई हजार ७०० मिटर ढलानको काम बाँकी रहेको छ। यस क्षेत्रमा तीन स्थानमा कल्भर्ट निर्माणको काम पनि चलिरहेको छ। 

आयोजनाका पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार यस क्षेत्रमा पहिरो नियन्त्रणका काम भइरहेको छ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो। 

नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक पटक म्याद थप गरिएको थियो। अहिले चौथो पटक थपिएको म्यादमा अघि बढिरहेको छ। 

एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ।

११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ/छ मिटरको सर्भिस लेन हुनेछ। दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ। 

वैशाख १४, २०८३ सोमबार ११:०२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।