पूर्वीनाका काँकडभिट्टाबाट नौ महिनामा सात हजार ६४२ पर्यटक भित्रिए, सबैभन्दा बढी भुटानका
झापा : पूर्वीनाका काँकडभिट्टा भएर चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ७ हजार ६४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार साउनदेखि चैतसम्ममा विश्वका ८१ मुलुकका पर्यटक यो नाका भएर नेपाल आएका हुन्।
नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक रहेका छन्। कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार नौ महिनाको अवधिमा ४ हजार १५४ भुटानी पर्यटक नेपाल आएका छन्।
भुटानपछि अमेरिका, थाइल्यान्ड, अस्ट्रेलिया र संयुक्त अधिराज्य (बेलायत)का पर्यटक धेरै सङ्ख्यामा नेपाल आएका कार्यालयको अभिलेखमा उल्लेख छ।
अमेरिकाबाट एक हजार ६१२, थाइल्यान्डबाट ५२५, अस्ट्रेलियाबाट २२९ र बेलायतबाट १८२ जना नागरिक नेपाल घुम्न आएका कार्यालयका प्रमुख भट्टराईले बताए। नेपाल आउने पर्यटकले लुम्बिनी, पोखरा, काठमाडौँ, चितवन, गोर्खालगायत प्रमुख पर्यटकीयस्थल जाने बताउने गरेको उनले जानकारी दिए।
आउने मात्र नभएर पर्यटकले नेपालबाट अर्को मुलुक प्रस्थान गर्नका लागिसमेत यो नाका प्रयोग गर्दै आएका छन्। सोही अवधिमा काँकडभिट्टा नाका भएर नौ हजार ९४२ पर्यटक यहाँबाट बाहिरिएको तथ्याङ्क छ।
आव २०८१/८२ को साउनदेखि चैतसम्ममा भने यहाँबाट आठ हजार ७० जना पर्यटक भित्रिएका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल आएका पर्यटकको सङ्ख्यामा ४२८ ले कमी आएको छ।
चालु आर्थिक वर्षको चैत महिनामा यो नाका भएर एक हजार छ जना पर्यटक नेपाल प्रवेश गरेको र एक हजार ५४३ जना प्रस्थान गरेको कार्यालयले जनाएको छ। यस अवधिमा छ हजार ६९१ वटा पर्यटक भिसा, एक सय २४ वटा नातेदार भिसा, २६ वटा वैवाहिक भिसा र ३६ वटा गैरआवासीय भिसा जारी गरिएका छन् ।
भिसा जारी गरेवापत दुई करोड ८० हजार ५२० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
वैशाख १३, २०८३ आइतबार १७:२४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।