तस्बिरमा सुकुम्वासी बस्तीको छटपटी र डोजरको आतंक
काठमाडौं : काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि त्यहाँका बासिन्दाहरूको जनजीवन अस्तव्यस्त बनेको छ। सरकारी जग्गा खाली गर्ने नाममा डोजर चलाइएपछि उनीहरू वासस्थानको विषयलाई लिएर अन्योलमा छन्।
आइतबार बिहानै मनोहरा किनारको बस्तीलाई ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हाल्यो। बस्ती छिर्ने बाटोहरू ठप्प पारियो। सुरक्षाकर्मीको बाक्लो उपस्थितिले त्यहाँको माहोल तनावपूर्ण देखिन्थ्यो।

प्रशासनले बिहान ९ बजेसम्मको समय दिएपछि सुकुम्वासीहरू आफ्ना घरका जस्तापाता, काठका फलेक र अन्नपात जोगाउन हतार-हतारमा देखिन्थे। कोही आफ्ना सामान सुरक्षित स्थानमा लैजाँदै थिए भने कोही भत्किन लागेको घरभित्रबाट आफ्ना बस्तुभाउ र सरसामान सार्दै थिए।

मनोहरामा रहेका ७७७ घर टहरामध्ये शनिबार सात वटा पक्की घरहरूबाट भत्काउन सुरु गरिएको थियो। आइतबार बिहान ९ बजेपछि बाँकी अस्थायी टहराहरू पनि डोजर प्रयोग गरी भत्काउन थालियो। बस्ती हटाउने क्रममा शनिबार सुकुम्वासी र सुरक्षाकर्मीबीच दोहोरो झडप समेत भएको थियो।

डोजर चलेपछि थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रका बस्तीहरू अहिले भग्नावशेषको थुप्रोमा परिणत भएका छन्। त्यहाँका बासिन्दाका दैनिक उपभोग्य वस्तु, बालबालिकाका लुगाफाटा र पुराना काठपातहरू बस्ती, सडक किनार र बगरमा छरपस्ट अवस्थामा छन्। बस्ती हटाइएका ८७१ परिवारमध्ये धेरैको अवस्था अहिले अन्योलपूर्ण छ।







वैशाख १३, २०८३ आइतबार १३:२९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।