डेब्यु कलाकारको नियति : रहरको प्रवेश, विरक्त पलायन

डेब्यु कलाकारको नियति : रहरको प्रवेश, विरक्त पलायन

काठमाडौं : चलचित्र उद्योगमा प्रवेश गर्ने हरेक कलाकारको एउटै सपना हुन्छ- एउटा सफल सुरुवात र लामो व्यावसायिक यात्रा। तर, पछिल्लो समय देखिएका तथ्यहरूले धेरैका लागि पहिलो फिल्म नै अन्तिम पर्दा बनेका छन्।

ठूलो तामझाम, करोडौंको लगानी र स्टार बन्ने रहर बोकेर आएका नव-कलाकारहरू पहिलो गाँसमै ढुङ्गा लागेपछि एकाएक गुमनाम हुने गरेका छन्। जसमा कोही पारिवारिक विरासत धान्न आएका थिए त कोही आफ्नो स्थापित पेशा छाडेर रहरको पछि कुद्नेहरू। 

तर, दर्शकको पारखी आँखाले अभिनय र कथालाई मात्र पत्याइदिएपछि धेरै रहरे अनुहारहरू अहिले पर्दाबाट मात्र होइन, चलचित्र उद्योगबाटै एकाएक ओझेलिएका छन्। केवल हिरो-हिरोइन देखिने सौखले फिल्ममा आउने तर अभिनय र दर्शकको मनोविज्ञान बुझ्न नसक्ने प्रवृत्तिले गर्दा धेरै आशालाग्दा प्रतिभाहरू पहिलो गाँसमै ढुङ्गा लागेर पलायन हुन बाध्य छन्।

कोही सुरक्षित भविष्य खोज्दै विदेशतिर हिँडेका छन् त, कोही पुनः पुरानो पेशामा फर्किएका छन्। जसले फिल्म निर्माणको कमजोर धरातल र तयारी बिना कलाकारको आगमनलाई छर्लङ्ग पारेको छ। 

दुई वर्षअघि फागुनमा प्रदर्शन भएको फिल्म ‘उपहार’मार्फत रेखा थापाले नव हिरोको रूपमा समर्पण जंग कार्कीलाई ल्याइन्। पेशाले कार्की बुद्ध एयरका व्यावसायिक पाइलट हुन्। साथै उनी  मिस्टर नेपाल २०२३ को उपाधि जितेका हुन्। उनी मिस्टर नेपाल हुनुअघि नै यो फिल्ममा साइन गरेका थिए। 

फिल्ममा अभिनय गरेपछि उनी पुनः फर्केर नेपाली फिल्ममा आएको देखिँदैनन्। पहिलो फिल्म नै फ्लप भएपछि अन्ततः उनी आफ्नै पेशामा फर्किए। प्लेन उडाइ रहेका कार्कीलाई फिल्मप्रतिको मोहभन्दा पनि आकाशमा उड्न नै रमाइलो लागेको देखियो। उनी फिल्ममा जम्न सकेनन्।
 
उनी मात्र होइन, पुराना फिल्मका कलाकार, निर्देशक, निर्माताका साथै फिल्म वितरण गर्दै आएका अशोक शर्माका छोरा अंकित शर्माको अवस्था पनि उस्तै छ। उनले बुबाको निर्देशनमा फिल्म ‘रातो टीका निधारमा’मा अभिनय गरेका थिए। तीन वर्षअघि रिलिज भएको फिल्ममा अशोकले छोरा अंकितलाई हिरोको रूपमा डेब्यु गराए। 

निर्देशक शर्माले छोरा अंकित शर्माको कमजोर होला कि भन्ने हिसाबले तत्कालीन समयका बलिया मानिएका कलाकार साम्राज्ञी आरएल शाहको अपोटिजमा अभिनय गराए। साथै फिल्ममा नीता ढुंगाना, बुद्धि तामाङ र खुस्बु खड्काको पनि अभिनय रहेको थियो।

डेब्यु फिल्म नै फ्लप भएपछि अंकितले अर्को फिल्ममा काम गर्ने आँटै गरेनन्। त्यसपछि उनी न कुनै फिल्ममा देखिए, नकसैले फिल्ममा अभिनय गर्न नै बोलाए। यतिबेला उनकै बुवा अशोक शर्माले दयाहाङ राई लगायत कलाकार राखेर फिल्म ‘डबल त्रिपल’निर्माण गरेका छन्। जसको भर्खरै सुटिङ सकिएको छ।

यसअघि अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले पनि डेब्यु फिल्मपछि कतै देखा परिनन्। उनको डेब्यु फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ हो। जुन फिल्मपछि उनको एउटा कहानी पनि बन्न सकेन। आमा हिरोइन  बुबा फिल्म निर्माता विनोद मानन्धरको लिगेसी उनले धान्न सकिनन्।

पहिलो फिल्म नै सुपरफ्लप भएपछि उनले फिल्ममा भन्दा उनको मन पढाइतर्फ लाग्यो। सोही फिल्ममा अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि अभिनय गरेका थिए। ‘एउटा यस्तो प्रेम कहानी’कहानीमा रह्यो। त्यसपछि न कवितालाई फिल्ममा दर्शकले देखे र शक्तिलाई। उनीहरू हराए।

यता आफै निर्माता र हिरो बनेका सन्तोष अधिकारीको अवस्था पनि उस्तै छ। अष्ट्रेलियामा बसोबास गर्दै आएका उनले दुई वर्षअघि फिल्म ‘चित्रा’ निर्माण गरेका थिए। जहाँ उनी आफै मुख्य भूमिकामा अभिनय गरेको फिल्मले हलबाट कमाई गर्न सकेन। अर्को चित्रा २ को समेत घोषणा गरेका अभिनेता अधिकारी त्यसपछि गुमनाम बने। 

उनी सामाजिक सञ्जालमा पनि पहिलाको तुलनामा सक्रिय पनि देखिँदैनन्। उनी निर्माताको रूपमा भने पहिलो होइन। यसअघि उनले केही फिल्ममा सहनिर्माता भएर फिल्म उद्दोगबारे जानकार व्यक्ति नै हुन्। तर आफै लगानी गरेर हिरो बन्न खोज्दा उनी नमज्जाले चिप्लिए।

नेपाली रजतपटमा डेब्यु फिल्मपछि नै पुन फर्कन नसकेको देखिन्छ। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पीआर’मार्फत अभिनेत्रीका रूपमा विनीता कार्कीले डेब्यु गरिन्। मोरङको पथरी घर भएकी उनको यो डेब्यु फिल्म नै असफल बन्यो। यो फिल्मले चलचित्र विकास बोर्डको बक्स अफिसमा ७ लाख पनि जम्मा गर्न सकेन। अष्ट्रेलियामा बसोबास गर्दै आएकी उनी अन्ततः अष्ट्रेलिया नै फर्किइन्। यि त प्रतिनिधि पात्र मात्रै हुन्। यस बाहेक अन्य थुप्रै कलाकारहरू गुमनाम छन्।

खेलेर पनि गुमनाम

फिल्म क्षेत्रमा क्रियाशील कतिपय कलाकारहरू निरन्तर पर्दामा देखिए पनि पहिचान बनाउन संघर्षरत देखिन्छन्। उनीहरूले आफूलाई स्थापित गर्न सकेका छैनन्। जसका एउटा उदाहरण हुन्, अभिनेता आशीर्वाद क्षेत्री। उनले तीन वर्षअघि रिलिज भएको फिल्म ‘नाइँ नभन्नू ल ६’बाट डेब्यु गरे, तर दर्शकमाझ भने आफ्नो छाप छोड्न असफल रहे।

उनले अभिनय गरेको पछिल्लो फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ हो। जसले फिल्मकी आमा अर्थात् लक्ष्मी गिरीलाई हिरो बनायो। तर उनी दर्शकको नोटिसमा पर्न सकेनन्। पहिलो फिल्मले ठिकठाकै व्यापार गरेको भएता पनि यो फिल्मले निर्मातालाई जोगी बनायो। चलचित्र विकास बोर्डको बक्स अफिसले सार्वजनिक गरेको तथ्यांकमा ३ लाख ७३ हजार ४ सय कलेक्सन गरेको छ। 

फिल्मपछि उनी सक्किगोनी टिमका दीपकप्रसाद आचार्य (काकु) र कुमार कट्टेल (जिग्री’ले निर्माण गर्न लागेको फिल्म  ‘चिरञ्जीवी भव:’मा अनुबन्ध भएका छन्। यस फिल्ममा एक नव अभिनेत्री उनको जोडीका रूपमा बाँधिएका छन्। अब यस फिल्मबाट उनको नाम जस्तै उनलाई आशीर्वाद मिल्छ कि मिल्दैन, त्यसको लागि फिल्म प्रदर्शनको समयसम्म पर्खिनुपर्छ।

अनमोल केसीसँगै फिल्म ‘फर्की फर्की’मार्फत अभिनेत्रीमा डेब्यु गरेकी कलाकार हुन् समृद्धि अर्याल। उनले दुई वर्षअघि ‘फर्की फर्की’बाट अभिनेत्रीमा डेब्यु गरेपछि केही फिल्ममा कामसमेत गरेकी छन्। उनी ‘वरिष्ठ बलराम’ (२०२५) मा पनि देखिएकी थिइन्। पहिलो र दोस्रो फिल्मले उनलाई दर्शकमाझ चिनाउन सकेन।

सोभित बस्नेतको निर्देशकिय फिल्म ‘पीआर’मा अभिनय गरेका सुरज पौडेलको अवस्था पनि उस्तै रह्यो। उनी पनि अष्ट्रेलियामा मोडलिङ गर्दै फिल्म ‘पिआर’मार्फत अभिनेताका रूपमा उदय मात्र बन्न खोजेका थिए। उनको अभिनयले न दर्शकमाझ प्रभाव जमाउन सक्यो न फिल्ममेकरमा आशाको सञ्चार। अन्ततः उनी अमष्ट्रेलिया नै फर्किए। 

गत बैशाख १ गतेबाट हलमा लागेको फिल्म ‘पहाड’मा देखिएका अरुण क्षेत्रीको अवस्था गुमनाम जस्तै छ। यस फिल्ममा विपिन कार्की र पञ्चमी घिमिरेको आगमनले उनलाई ओझेलमा पार्यो। यसअघिको फिल्म ‘महापुरुष’मा पनि त्यस्तै भयो। फिल्ममा उनी हिरो भएता पनि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल लगायतको अभिनयले छायामा परे। यस पटक उनलाई नव अभिनेत्री पञ्चमी घिमिरेले छायामा पारिन्। घिमिरेको डेब्यु फिल्मपछि अरू फिल्म आउँछन् कि आउँदैनन् ? समयले त्यसको जवाफ देला।

यता हास्य सिरियल ‘सक्किगोनि’बाट चर्चामा आएकी कलाकार सुरक्षा इटानीले ‘द ब्लु लाइट’मार्फत ठूलो पर्दामा डेब्यु गरेकी थिइन्। तर फिल्म हलमा लागेको दुई दिनमा उत्रिएपछि उनको भविष्य अन्योलमा देखिन्छ। उनी सिरियलबाट दर्शकमाझ ‘सुरु’ उपनामले चिनिएकी थिइन्। 

किन यस्तो भयो ?

लगानी र करियर दुवै संकटमा परेका कलाकारहरूको सूचिमा अधिकांश पारिवारिक सम्बन्ध वा व्यक्तिगत सोखका भरमा फिल्ममा प्रवेश गर्नेहरू छन्। कमजोर प्रस्तुति र अपरिपक्व अभिनय भएका फिल्मलाई दर्शकले साथ नदिँदा करोडौंको लगानी डुब्नुका साथै कतिपय कलाकारहरू उद्योगबाटै विस्थापित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ। 

बजारको प्रतिस्पर्धा र दर्शकको बदलिँदो चाहनालाई बुझ्न कोशीस गर्नको साटो फिल्ममेकरहरुले कलाभन्दा रहर पाल्नेहरूलाई भित्र्याउने गरेकोले उनीहरूमा दीगोपनको चुनौती देखिन्छ। पर्याप्त तयारी र अभिनय क्षमता बिना भित्रिने अनुहारहरू व्यावसायिक प्रतिस्पर्धामा पछि पर्दा पलायन बढाउने समीक्षक भनाई छ।

फिल्म निर्देशक तथा समीक्षक प्रकाश सायमीका अनुसार कलाले भन्दा पनि निर्देशकले भित्र्याएको कलाकारमा यस्तो समस्या देखिन्छ। आर्ट लाइटले जस्तै फिल्मले पनि कलाकारको वास्तविक कद मात्र देखाउने हुँदा प्रतिभा नहुनेहरू छिट्टै ओझेलमा पर्ने र उनीहरूको खोजी गर्नुपर्ने स्थिति देखिन्छ।

उनी भन्छन्, "आर्ट लाइट भनेको मान्छेको जति छाया छ, त्योभन्दा बढी खिच्दैन। अब डेब्यु भनेको कस्तो हुन्छ भने प्रतिभा नहुने मान्छेलाई कसैले डेब्यु गरिदिन्छ। निर्देशकको प्रभाव हुन्जेल त्यो टिक्छ। फिल्मको कथा या गीतको कथा हुन्जेल त्यो टिक्छ। सोही कारण दोस्रो फिल्मबाट उसलाई खोज्नुपर्ने हुन्छ।"

उनी अगाडि थप्छन्, "हाम्रो नेपालमा कतिपय नायिकाहरू डेब्यु गर्दा चर्चित भएका थुप्रै उदाहरणहरू छन्। आमाकै भूमिकामा काम गरेका छन् भने पनि अर्को पटक खोज्नुपर्ने अवस्था छ। त्यो आर्ट लाइट भनौं न त्यसलाई। डेब्यु भनेको निर्देशकको आर्टलाइट पर्ने, तर उनको पर्ने हुन जान्छ। त्यस कारण अधिकांश कलाकार बन्न आएकाहरू डेब्युमै सीमित भएका हुन्। नत्र त उनीहरू टिकिहाल्थेँ नि।"

प्रविधिको विकास र विभिन्न डिजिटल प्लेटफर्मका कारण दर्शकको छनोट फराकिलो भइरहेको अवस्थामा कथा र कलाकार छनोटमा फिल्ममेकरको मनोमानीले कलाकार पलायनको साथसाथै चलचित्र उद्योगमा भइरहेको लगानी जोखिममा देखिन्छ।

वैशाख १३, २०८३ आइतबार १४:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।