इरानी टोली फर्किएलगत्तै ट्रम्पले रोके अमेरिकी वार्ता टोलीको इस्लामाबाद भ्रमण
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ताका लागि तय भएको अमेरिकी प्रतिनिधिमण्डलको इस्लामाबाद भ्रमण अन्तिम समयमा रद्द गरिदिएका छन्। इरानी प्रतिनिधिमण्डल पाकिस्तानबाट बाहिरिए लगत्तै उनले आफ्ना दूतहरूको भ्रमण रद्द गर्ने निर्णय लिएका हुन्।
भ्रमण स्थगितबारे उल्लेख गर्दै ट्रम्पले आफ्ना विशेष दूतहरू स्टिभ विटकफ र जेरेड कुश्नरको समयको अनावश्यक खेर जाने उल्लेख गरेका छन्। उनले इरान वार्ताका लागि इच्छुक भए सिधै फोन सम्पर्क गर्न सक्नेसमेत बताएका छन्।
उनले ट्रुथ सोसलमा लेखेका छन्, "यदि इरान वार्ता गर्न चाहन्छ भने केवल फोन गरे पुग्छ।" यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले इस्लामाबादमा भएको भएको पाकिस्तानको मध्यस्थता प्रयासमा एक प्रमुख भूमिका खेलेका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर, प्रधानमन्त्री शहबाज शरिफ र विदेशमन्त्री इशाक दारसँग भेटमा युद्ध अन्त्यका लागि आफ्नो पक्ष स्पष्ट पारेका थिए।
त्यस क्रममा उनले अमेरिका कूटनीतिक समाधानप्रति कत्तिको गम्भीर छ भन्ने कुरा हेर्न बाँकी रहेको टिप्पणी गरेका थिए। पछिल्लो समय दुवै पक्षबीचको कूटनीतिक पहल ठप्प छ। राष्ट्रपति ट्रम्पले वार्ताको वातावरण बनाउन भनेर अप्रिल २२ सम्मका लागि युद्धविरामको अवधि थप गरे पनि तिक्तता भने घटेको छैन।
विशेष गरी फेब्रुअरीमा अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानले सामरिक महत्त्वको होर्मुज जलसन्धिबाट हुने आवागमनमा प्रतिबन्ध लगाएको छ। ट्रम्पको यस कदमले जारी तनाव कम गर्ने कूटनीतिक प्रयासमा थप अन्योल सिर्जना गरेको देखिएको छ।
शनिबार राति ट्रुथ सोसलमा गरेको पोस्टमा ट्रम्पले इरानी नेतृत्वभित्र आन्तरिक कलह र अन्योल रहेको दाबी समेत गरे। उनले लेखेका छन्, "उनीहरूको नेतृत्वभित्रै ठूलो खिचातानी छ, कसको हातमा जिम्मेवारी छ भन्नेमा उनीहरू आफैँ स्पष्ट छैनन्। अहिले परिस्थितिको पूर्ण नियन्त्रण हाम्रो हातमा छ। त्यसैले, वार्ताको इच्छा भए उनीहरूले मलाई फोन गरे पुग्छ।"
वैशाख १३, २०८३ आइतबार ०८:४४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।