राष्ट्रपति ट्रम्प सहभागी डिनर कार्यक्रममा गोलीको आवाज
एजेन्सी : ह्वाइट हाउसद्वारा वासिङ्टन डीसीको एक होटलमा आयोजित ‘व्हाइट हाउस संवाददाता’सँगको रात्रीभोज (डिनर) कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि सुरक्षा अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल कार्यक्रमस्थलबाट सुरक्षित स्थानतर्फ लगेका छन्।
राष्ट्रपति ट्रम्पले कार्यक्रममा कुराकानी गरिरहेका बेला अचानक ह्वाइट हाउसको एउटा टेबलतर्फ केही हलचल देखिएको थियो। सोही समयमा गोली चलेको जस्तो आवाज सुनिएपछि 'सिक्रेट सर्भिस'का एजेन्टहरूले "तल बस्नुस्, तल बस्नुस्" भन्दै राष्ट्रपतिलाई सुरक्षा घेराभित्र राखेर सुरक्षित स्थानतर्फ लगेका थिए।
यस क्रममा राष्ट्रपतिका वरिष्ठ सल्लाहकार स्टेफन मिलरलाई पनि सुरक्षाकर्मीले भिडबाट निकालेर बाहिर लगेका थिए। सुरुवाती हलचलका बेला हलमा उपस्थित अन्य व्यक्तिहरू भुईँमा निहुरिएका थिए भने राष्ट्रपतिलाई बाहिर लगिसक्दा पनि उनीहरू भित्रै रहेका थिए।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सिक्रेट सर्भिसले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई मञ्चबाट बाहिर निकालेको थियो। उनीहरू बाहिरिए लगत्तै 'काउन्टर असल्ट टिम' (सीएटी) का सशस्त्र एजेन्टहरू मञ्चमा देखा परेका थिए।
एजेन्टहरूले हलको पछिल्लो भागमा लक्षित गर्दै सुरक्षा निगरानी बढाएका थिए। त्यसैबीच, भुईँमा पाहुनाहरू बसिरहेकै अवस्थामा सुरक्षाकर्मीहरूले टेबुल र खाली कुर्सीहरू पार गर्दै अर्का एक पाहुनालाई पनि तीव्र गतिमा हलको अगाडिपट्टि पुर्याएर बाहिर लगेका थिए।
वैशाख १३, २०८३ आइतबार ०७:५३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।