अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द, जोखिम बढेपछि सवारी सञ्चालनमा रोक

अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द, जोखिम बढेपछि सवारी सञ्चालनमा रोक

रामेछाप : वर्षाको कारण बिपी राजमार्ग पुनः बन्द भएको छ। 

जिल्ला प्रहरी कार्याल काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरूमा अत्यधिक वर्षा भइरहेको कारण राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ।

प्रहरीले मौसममा सुधार आएपछि तथा सडकमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि मात्र पुनः राजमार्ग सञ्चालनबारे अर्को सूचना जारी गरिने स्पष्ट पारेको छ। 

यात्रु तथा सवारी चालकलाई अनावश्यक जोखिम नलिन आग्रह गर्दै थप जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

गत वर्ष र यस वर्षको वर्षायाममा आएको बाढीले रोशीखोला क्षेत्रमा बिपी राजमार्ग बगाए पछि सडक मर्मतका लागि अहिले रोशी खोलामा डाइभर्सन निर्माण गरी अस्थायी सडक निर्माण गरिएको छ। 

सडक अवरुद्ध हुँदा काठमाडौंबाट पूर्व आउजाउ गर्ने यातायात रोकिएका छन्।

खोलामा सामान्य बाढी आउने बित्तिकै सो सडक अवरुद्ध हुने गरेको छ। 

वैशाख १२, २०८३ शनिबार १८:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।