छायाकार प्रमोदको हिजोको कुरा : बुबाको स्टुडियोमा क्यामेरा चलाउन सिकेँ, ३० वर्षपछि बलिउड छाडेर नेपाल फर्किएँ
काठमाडौं : नेपाली चलचित्र क्षेत्रका पुराना पुस्तामाझ परिचित नाम हो- प्रमोद प्रधान। ६५ वर्षअघि भारतको कालिम्पोङमा जन्मिएका प्रधानको बाल्यकाल क्यामेराका लेन्स र रिलहरूसँग खेल्दै बित्यो। फोटोग्राफर बुबाको ‘ओम फोटो स्टुडियो’मा तस्बिरहरू कैद गर्दाका प्रधानका आफ्नैखाले अनुभव छ।
बुबा आमाले छोरा यो बनोस्, त्यो बनोस् भनेर कहिल्यै कुनै भारी बोकाएनन्। सायद त्यही स्वतन्त्रताले गर्दा होला, घरैमा बुबाको क्यामेरा चलाउँदै हुर्केका उनलाई प्रकाशसँग खेल्ने बानी पर्यो। फोटो खिच्ने त्यो सानो रहर कहिले फिल्मको ठूलो पर्दा (छायांकन) मा बदलियो, उनलाई पत्तै भएन।
उनले आधा दर्जनजति नेपाली फिल्म खिचिसकेका छन्। नयाँ पुस्ताका लागि उनी एक नयाँ नाम सुनिए पनि पुराना र अनुभवी फिल्मकर्मीका लागि भने नौला नाम होइन।
नेपाली चलचित्रको स्वर्ण युग मानिने समयमा प्रमोदले फिल्म क्षेत्रमा प्रवेश गरे। पहिलो पटक उनले निर्देशक तुलसी घिमिरेको निर्देशनमा ‘अन्याय’ खिचे। त्यसपछि उनले लगातार ‘कोसेली’, ‘चिनो’, ‘सपना’, ‘दक्षिणा’, ‘राँको’ फिल्म खिचे। उनले खिचेका फिल्महरूले पर्दामा जादु चलाए। उनलाई नेपाली दर्शक र फिल्मकर्मीमाझ स्थापित गराए।
तर, सफलताको शिखरमा रहेकै बेला उनको यात्राले अर्कै मोड लियो। उनी आफ्नो सीपलाई अझ फराकिलो बनाउन भारतको मुम्बई सहरतर्फ लागे।
मुम्बईमा प्रमोदले भारतीय फिल्म र विशेषगरी टेलिभिजन सिरिजहरू छायांकन गरे। दशकौंसम्म उनी त्यहीँको व्यस्ततामा हराए।
अहिले झण्डै ३१ वर्षपछि उनी फेरि त्यही ठाउँमा फर्किए, जहाँबाट उनले सुरुवात गरेका थिए। तुलसी घिमिरेकै निर्देशनमा बनेको फिल्म ‘पहाड’मार्फत उनले नेपाली क्यामेरा पुनः आफ्नो काँधमा राखेका छन्। यो फिल्म यही वैशाख १ गतेबाट प्रदर्शनमा आएको छ।
उनी नेपाल आएपछि फुर्सदमा बसेका छैनन्। पुरानो अनुभव र नयाँ प्रविधिको फ्युजन बोकेर उनी अहिले सौगात मल्लको मुख्य भूमिका रहने फिल्म ‘जुवा’ को छायांकनका जाँदैछन्।
प्रमोद प्रधानका अनुसार तीन दशकअघिको काठमाडौं र अहिलेको सहरबीच आकाश-जमिनको अन्तर छ। उनी सम्झिन्छन्, "त्यतिबेला यहाँ (काठमाडौं)मा सुटिङका लागि पर्याप्त खुल्ला ठाउँहरू उपलब्ध थिए। पुतली सडकबाटै नुवाकोटतर्फ हेर्दा आँखै अगाडि सेताम्मे हिमाल देखिन्थे। सुटिङ गर्दा कुनै अवरोध हुँदैन थियो।"
विगतको पारिश्रमिक सम्झिँदै उनी भन्छन्, "त्यतिबेला २५-३० दिनको प्याकेजमा २० हजार रुपैयाँ हात पर्थ्यो।" एउटै क्यामेराको भरमा पूरा फिल्मको सुटिङ सकिने ती दिनहरूमा फिल्मको कुल बजेट नै कति कम हुन्थ्यो होला भन्ने उनी अड्कल काट्छन्। यस्तै रमाइला अनुभव, आफूले देखेका परिवर्तन र भोगेका यथार्थहरू उनले उकेराको कोलम ‘हिजोको कुराकानीमा’ साटेका छन्।
क्यामेरासँगको साइनो
मेरो बाल्यकाल भारतको कालिम्पोङ नै बित्यो। सन् १९६१ जनवरी १५ मा जन्मिएको मैले त्यहाँको प्रख्यात विद्यालय ‘डाक्टर ग्राम्स होम्स’बाट प्लस टु सकेँ। कालिम्पोङ कलेजबाट स्नातक तह पूरा गरेँ।
मैले थाहा पाउँदादेखि नै मेरो बुबा स्टिल फोटो स्टुडियो सञ्चालन गर्नुहुन्थ्यो। सन १९५८ तिर नै ओम फोटो स्टुडियो खोल्नुभएको रहेछ। मेरो जन्म र हुर्काइ नै स्टिल फोटोग्राफीको संसारमा भयो।
बुबाले अरूको फोटो खिचेको हेर्दै म हुर्किएँ। बुबाले मलाई क्यामेरा छुन कहिल्यै रोक्नुभएन। मैले पनि बिस्तारै क्यामेरा चलाउन थाले।
मैले सानै उमेरमा ‘रोयलफ्लेस २.८’ जस्ता क्यामेराहरू चलाउन सिकेँ। सुरुमा त म केवल रमाइलोका लागि फोटो खिच्थे। क्यामेरा मेन बन्छु भन्न त मैले कहिल्यै सोचेको पनि थिएन।
त्यो बेलाको फोटोग्राफी आजको जस्तो सहज थिएन। स्टुडियो भनेको ‘डार्क रुम’ हुन्थ्यो। त्यही प्रोसेसिङ हुन्थ्यो। खिचेको रिललाई प्रोसेस गरेर प्रिन्ट गरेर बाहिर आएपछि, यसलाई यसो गर्या भए हुन्थ्यो भन्ने लाग्थ्यो।
अहिलेको जस्तो फोटोसप भन्ने थिएन। फोटोमा उज्यालो-अँध्यारो मिलाउन हातैले ‘डजिङ’ गर्नुपर्थ्यो। फोटो पेपरको सेन्सिटिभ हेरेर १, २, ३ भनेर गर्नु पर्थ्यो नि। सबै हातबाटै गर्नुपर्थ्यो।
अहिले त त्यो प्रविधि छाडेर कहाँबाट कहाँ आइपुगी सक्यो नि। भन्दा पनि कथा जस्तो लाग्छ। फिल्म क्षेत्रमा डिजिटल आएपछि त, के-के भयो, भयो। अहिले त ब्याकग्राउण्ड चेन्ज गर्नेदेखि लाइटिङ मिलाउनेसम्म कम्प्युटरबाट गर्न सकिन्छ।
फिल्म छायांकनका सुरुवाती दिन
मेरो दाजु विनोद प्रधानले मलाई ‘मोसन पिक्चर’ (चलचित्र)तर्फ डोर्याउनुभएको हो। उहाँ पुना फिल्म स्टुडियाबाट पढेर आएपछि मुम्बईमा फिल्म खिच्न थाल्नुभएको थियो। म दाजुको सुटिङ हेर्न जान्थेँ। दाजुले काम गरेको हेर्न जाँदा मलाई लाग्यो- 'असली काम त यो पो रहेछ!'
सुरुमा त स्टिल भएर खिचिन्थ्यो, अब हल्लिने खाल्को खिच्नुपर्ने रहिछ भन्ने बुझेँ। मोसन पिक्चर आयो नि अब। त्यो देखेपछि मलाई एकदमै इन्ट्रेस्ट लाग्यो।

मेरो पढाई सकेको थिइन्। मैले दाजुको असिस्टेन्ट भएर काम गर्न थाले। मलाई अहिले पनि सम्झना छ, त्यतिबेलाको दाजुले हिन्दी फिल्म ‘पार्टनर’ सुट गर्दै हुनुहुन्थ्यो। उहाँको असिस्टेन्ट भएर मोसन पिक्चरमा आइयो।
त्यतिबेला मुम्बईमा ‘हाइबा’ भन्ने एउटा समूह थियो, जसले टिभीका लागि काम गर्थ्यो। टुब क्यामेरामा सुट हुन्थ्यो, त्यो बेलामा। बिस्तारै सार्नुपर्ने हुन्थ्यो, होसियारले।
मैले उनीहरूसँग मिलेर ७-८ वटा टेलिफिल्म खिचेँ। त्यसपछि आदित्य पञ्चोली र पूजा भट्टको मुख्य भूमिका रहेको हिन्दी फिल्म ‘चोर और चाँद’मा काम गर्ने अवसर पाएँ। हिन्दीमा मैले पाँच वटा जति फिल्म र थुप्रै टिभी शोहरू जति खिचे। टिभी शोजहरु त धेरै नै गरे।
मैले हिन्दीभन्दा पनि नेपाली फिल्ममा धेरै काम गरेको छु। मैले सबैभन्दा पहिला फिल्म ‘अन्याय’मा काम गर्ने मौका पाए। विश्व बस्नेतले निर्माण गरेको यो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए।
तुलसी घिमिरे र म कालिम्पोङमा एउटै टोलका छिमेकी थियौं। मुम्बईमै भेट हुँदा उहाँले मलाई नेपाली फिल्म गर्ने प्रस्ताव राख्नुभयो र म खुसीसाथ काठमाडौं आएँ।
पहिला तुलसी पनि बम्बईमा नै थिए। हामीसँग भेटघाट भइरहन्थ्यो। घर आउजाउ चलिरहन्थ्यो। बम्बईमा नै भेटघाटको बेलामा तुलसीले मलाई नेपाली फिल्म गर्ने प्रस्ताव राखे, अनि म त्यही फिल्म खिच्न काठमाडौं आए।
त्यो बेला अहिलेको जस्तो अत्याधुनिक प्रविधि र उपकरण केही थिएन। ३-४ वटा रिफ्लेक्टरको भरमा हामीले फिल्म खिच्नुपर्थ्यो। काठमाडौंका धेरै ठाउँमा हामीले सुटिङ गर्यौं, अहिले ती जग्गा(ठाउँ)को नाम त भुले।
३० वर्षपछिको काठमाडौंमा : आँखाले नचिनेको सहर
झण्डै ३० वर्षपछि नेपाल आउँदा मैले काठमाडौंलाई पुरै बदलिएको पाएँ। ३० वर्षअघि काठमाडौंको जहाँबाट हेरे पनि स्वयम्भू, घण्टाघर र हिमाल देखिन्थ्यो। तर, त्यही सम्झेर केही दिनअघि काठमाडौं आएर हेरेको केही देखिँदैन रहिछ। घरै घर मात्र।
काठमाडौंमा पहिला रिङरोड भन्ने थाहा थियो। रिङरोड त्यो बेलामा बाहिर थियो। अहिले त भित्र परेछ (उनले हाँस्दै भने)।
‘अन्याय’ खिच्ने बेला हामी पुतली सडकमा बस्थ्यौं। त्यतिबेला सानो गल्ली जस्तो देखिने त्यो बाटो अहिले त भव्य ‘डबल लेन’ भइसकेछ। अहिले त त्यो जग्गै (ठाउँ) चिनिनँ मैले त। कहाँ हो कहाँ। त्यस्तो भइसकेछ।
प्रविधिमा नेपाली फिल्मले मारेको फड्को
अहिले नेपाल फर्कँदा घर मात्र होइन, नेपाली फिल्म क्षेत्रले पनि प्रविधिमा ठूलो फड्को मारेको देखेको छु। हालसालै मैले ‘ऊनको स्वीटर’ भन्ने फिल्म हेरे, मलाई निकै राम्रो लाग्यो।
अचम्मको कुरा के छ भने, अहिले बलिउडमा जुन आधुनिक क्यामेराले फिल्म खिच्दैछु, ठ्याक्कै त्यही क्यामेरा नेपालमा आइसकेछ। क्यामेरा र प्रविधिको यो स्तर देख्दा म दंग परेँ। नेपालमा क्यामेरामा पनि फड्को मारेको देखे।
हिजो र आजको लाइटिङ र सुटिङ शैली
हामीले ‘अन्याय’ खिच्ने समय र अहिलेको कार्यशैलीमा आकाश-पातालको फरक छ। त्यो बेला हामी दुई वटा लाइट र एउटा रिफ्लेक्टरको भरमा दिन-रात नभनी काम चलाउँथ्यौं।
विभिन्न फिल्टरहरू लगाएर प्रकाश मिलाउनुपर्ने बाध्यता थियो। तर अहिले त दिनका लागि छुट्टै र रातका लागि छुट्टै ‘मल्टी लाइट’हरू छन्। नेपाली फिल्मकर्मीहरूले समयको मागअनुसार नयाँ प्रविधि भित्र्याउन निकै मेहेनत गरेछन्।
मलाई अझै सम्झना छ, हामीले ‘अन्याय’ को सुटिङ जम्मा २१-२२ दिनमा सकेका थियौं। सुन्दा अचम्म लाग्छ, अहिले पनि धेरै फिल्महरू लगभग त्यही समयभित्रै सकिँदा रहेछन्। अहिलेको जस्तो सुटिङका लागि घर खोज्दै हिँड्नुपर्ने वा भिडभाडका कारण अल्झिनुपर्ने झन्झट त्यो समयमा हुन्न थियो। जहाँ सुटिङ गरिन्थ्यो, त्यही बसिन्थ्यो। अहिले त फरक भइसके छ।
अन्याय पछिको त्यो दौड र ३० वर्षपछिको पुनरागमन
‘अन्याय’ फिल्ममा मेरो काम देखेपछि नेपाली फिल्म क्षेत्रबाट अफरको ओइरो नै लाग्यो। त्यसपछि मैले लगातार ‘कोसेली’, ‘चिनो’, ‘सपना’, ‘दक्षिणा’ र ‘राँको’ जस्ता सफल फिल्महरू खिचेँ। तर, ‘राँको’ पछि मेरो व्यावसायिक यात्राले अर्कै मोड लियो र लामो समय नेपाली पर्दामा फर्किन पाइनँ।
अहिले ठ्याक्कै ३० वर्षपछि मैले तुलसी घिमिरेकै फिल्म ‘पहाड’ खिच्ने मौका पाएँ। अबको केही दिनमै म सौगात मल्लको मुख्य भूमिका रहने फिल्म ‘जुवा’को सुटमा जाँदै छु।
मैले काम सुरु गर्दाको समय र अहिलेको समयमा आकाश-जमिनको फरक छ। अहिले त सबै डाइरेक्टर-प्रोड्युसर भइसकेछन्। क्यामेरामेनहरु पनि थुप्रो (धेरै) भइसकेका रहिछन्। त्यो बेला वर्षमा जम्मा ४-५ वटा फिल्म बन्थे, तर अहिले त वर्षमै ५० भन्दा बढी फिल्म निर्माण हुँदा रहेछन्।
अर्को कुरा त्यतिबेला एउटै क्यामेरा, एउटै क्यामेरा मेन हुन्थ्यो। अहिले त दुई तीन वटा क्यामेरा राखेर खिचिन्छ। गीतको समयमा भने दुई वटा जतिले खिचिन्थ्यो।
मेरो मन त नेपाली फिल्ममै छ
मलाई नेपाली फिल्ममा काम गर्दा नै खुसी लाग्छ। विशेष यहाँको भाषा, यहाँ नेपालीमा नै बोल्न पाउँछु। सबै आफ्नै जस्तो लाग्ने। नेपालीसँग काम गर्न पाउँदा एकदमै खुसी लाग्छ। मुम्बईमा त जे पनि हिन्दीमा नै बोल्नुपर्छ।
अब यहाँ काम पाइन्जेल म नेपाली फिल्ममै काम गर्न चाहन्छु। यदि काम भएन भने मात्र मुम्बई फर्कने हो, नत्र नेपाली फिल्मलाई त म कहिल्यै ‘नाइँ’ भन्दिनँ।
पहिलेको तुलनामा अहिले नेपाली फिल्ममा पारिश्रमिकको अवस्था पनि राम्रो छ। हुन त बलिउडसँग हाम्रो तुलना हुन सक्दैन, किनकि उताको मार्केट नै ठूलो छ। उताको हेरि यताको बजेट थोरै हुन्छ।
नेपाली फिल्मको बजेट के कति दिन्छ, उताको भन्दा धेरै होला भनेर म कहिल्यै पनि सोच्दिनँ।
कलाकारहरूसँगको आत्मीयता र ‘सुनिल थापा’सँगको मित्रता
मैले खिचेको फिल्मका कलाकारहरूसँग अहिले पनि उतिकै कुराकानी हुन्छ। प्रत्यक्ष भेटघाट त हुँदैन, तर फेसबुकतिर हाई हेलो हुन्छ।
तीमध्ये अभिनेता सुनील थापा मेरो सबैभन्दा नजिकको साथी हो। उ पनि लामो समय मुम्बईमै बसेकाले हामी एकदमै मिल्ने साथी जस्ता थियौं। हामी सेटमा निकै रमाइलो गर्थ्यौ।
हामीबीचको मित्रता यति गाढा छ कि, ऊ मलाई मायाले ‘ओए पिपि’ (प्रमोद प्रधान) भनेर बोलाइन्थ्यो , म उसलाई ‘ओए राते’ भनेर जिस्क्याउँथे।
पहिले ‘चिनो’मा सँगै काम गरेका थियौं, अहिले ३० पहाडमा
यो बीचमा एउटा फिल्ममा काम गरेकी भन्ने लागेको छ, तर फिल्मको नाम बिर्से। तर धेरै फिल्ममा काम नगरेता पनि हामी एकदमै मिल्ने साथी हौं।
उनी बाहेक मैले भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, विजय लामा, कृष्टि केसी, गौरी मल्ल, शर्मिला मल्ल, रिश्मा मानन्धर, निरुता सिंह लगायत त्यो बेलाका थुप्रै कलाकारहरूसँग काम गरेको छु। भुवन केसी, शिव श्रेष्ठ लगायतलाई म काठमाडौं आएको छु भन्ने कुरा थाहा भयो भने तुरुन्त भेट्न आइपुग्छन्। हाम्रो आत्मीयता हिजो जस्तै छ।
त्यो समयका कलाकारहरू एकदमै मेहनती थिए। अहिलेको त कस्तो हुनुहुन्छ, खासै काम गर्न पाएको छैन। निरुताको पहिलो फिल्म ‘दक्षिणा’ मैले खिचेको हो। उनी दार्जिलिङकी थिइन् र पहिलो फिल्ममै उनले निकै मेहेनत गरेकी थिइन्।
हिरो बन्न कहिल्यै मन लागेन
हिरो बन्न आफूलाई कहिल्यै मन लागेन। अब अनुहार पनि हुनु पर्यो नि हिरो बन्नलाई त। हिरो जस्तो एडिट्युट हुनुपर्यो। छैन, अब हाम्रो त।
अब अन्तरवार्ता दिँदा त अब के बोल्नु भनेर सोच्दा-सोच्दै हैरान हुन्छु, हिरो बन्ने कुरा त परै जाओस्। मेरो रुचि कहिल्यै त्यता रहेन।
कालिम्पोङमा बस्दा हाम्रो परिवारको भारतीय सेनाका उच्च अधिकारीहरूसँग निकै राम्रो सम्बन्ध थियो। धेरैजसो अफिसरहरूले मलाई देखेर ‘यसलाई त पाइलट बनाउनुपर्छ’ भन्थे। एक समय त मलाई पनि इन्डियन एयरफोर्समा पाइलट हुन्छु कि भन्ने लागेको थियो। तर जब घरबाट बाहिर निस्किएँ, ती सबै कुरा बिर्सिएँ। मलाई क्यामेरा नै चलाएर खाऊ भनेको रहिछ, अरूतिर कहाँ मन जान्थ्यो र? क्यामेरा मेन भए बसिरहेको छु।
दशकौंसम्म क्यामेरा चलाए पनि मलाई लाग्छ, यो क्षेत्रमा सिकाइको कुनै सीमा हुँदैन। म आज पनि दिनदिनै केही न केही नयाँ कुरा सिकिरहेकै हुन्छु। हामी छायांकारहरू सधैँ लाइटसँग खेलिरहनुपर्ने हुनाले यसमा जति अपडेट भयो, उति राम्रो।
२० हजार पारिश्रमिक
मैले नेपाली फिल्म खिच्न सुरु गर्दा एउटा पूरा फिल्म सकाएको पारिश्रमिक २० हजार रुपैयाँ पाइन्थ्यो। एउटा फिल्म खिच्नका लागि प्रायः २५ देखि ३० दिनको समय लाग्थ्यो। त्यो बेला जताततै खाली ठाउँ र खुल्ला जमिन हुन्थ्यो। इन्डोर र आउटडोर सुटिङका लोकेसनहरू नजिक-नजिकै हुने भएकाले काम गर्न निकै सहज हुन्थ्यो।
पढाइभन्दा व्यवहारिक ज्ञान नै ठूलो
छायांकनका बारेमा पढ्नुभन्दा प्राक्टिकली काम गर्नु बढी उपयोगी हुन्छ। क्यामेराका बारेमा पढेर कुन ठाउँमा के गर्दा कस्तो नतिजा आउँछ भन्ने कुरा अलिअलि त थाहा होला, तर वास्तविक काम गर्न त मैदानमै उत्रनुपर्छ। क्यामेराका फङ्सनहरू बुझ्नका लागि पढाइ राम्रो हो, तर कुन एङ्गलबाट सट लिने र कसरी लाइट मिलाउने भन्ने कुरा अनुभवले मात्र सिकाउँछ। नयाँ पुस्ताले पनि क्यामेरा चलाउन सिक्ने हो भने आँखा हरहमेशा खुल्ला राख्नुपर्छ।
मुख्य कुरा त अनुभव हो। मैले जे-जति जानेँ, ती सबै आफ्नै अनुभव र बुबाको स्टुडियोदेखि दाइको सुटिङ सेटसम्म काम गर्दा सिकेका कुरा हुन्। जुन अहिले पनि सिकी नै रहेको छु। टेक्निकल कुराहरू कहिल्यै सिकेर सकिँदैन।
म अहिले पनि भन्छु- मुख्य कुरा अनुभव नै हो।
वैशाख ३, २०८३ बिहीबार १९:१७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।