थापाथलीमा डोजर चल्दै : सुरक्षाकर्मी बढाइयो, जाने ठाउँ नहुनेहरू खुला आकाशमुनि (फोटो फिचर)
काठमाडौं : काठमाडौं उपत्यकाका नदी किनारमा वर्षौंदेखि बस्दै आएका अव्यवस्थित र अतिक्रमित बस्तीहरू शनिबारदेखि खाली गर्न थालिएको छ।
काठमाडौं महानगरपालिका र संघीय सरकारलेको संयुक्त प्रयासमा शनिबार र आइतबार दुई दिन लगाएर बस्ती हटाउने अभियान सुरू भएको हो।
महानगरको अल्टिमेटम, बाक्लो सुरक्षाकर्मीको उपस्थिति र डोजरको त्रासका बीच सुकुम्बासीहरू आफ्नो बासस्थान छाड्न बाध्य भएका छन्।

बिहीबार साँझ नै महानगरपालिकाको टोलीले थापाथली, सिनामंगललगायतका क्षेत्रमा माइकिङ गर्दै शुक्रबारभित्र बस्ती खाली गर्न चेतावनी दिएको थियो।
अटेर गरे शनिबार डोजर चलाउने र क्षतिको जिम्मेवारी आफैँ लिनुपर्ने कडा अल्टिमेटमपछि बस्तीमा शुक्रबार साँझदेखि नै बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ।

शनिबार बिहानैदेखि महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बस्तीमा तैनाथ छ।
अल्टिमेटम पाएपछि कतिपय सुकुम्बासीहरूले शुक्रबार नै आफ्नो सामान सारिसकेका थिए। तर, तत्काल सर्नका लागि कोठा नपाएका र अन्य विकल्प नभएकाहरू भने शनिबार बिहानसम्म पनि बस्तीमै बिलखबन्दमा थिए।

शनिबार मिरमिरेदेखि नै उनीहरू आफ्ना टहराबाट भाँडाकुँडा र लत्ताकपडा पोको पारेर बाटो लागिरहेका देखिन्थे।
सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगलको गैरीगाउँलगायतका सुकुम्बासी बस्ती हटाउँदैछ। यसका लागि डोजरसहित सुरक्षाकर्मीको टोली सुरुमा थापाथली पुगेको छ भने त्यसपछि सिनामंगलतर्फ लाग्ने कार्यतालिका छ।

पहिलो चरणको अभियान सकिएपछि दोस्रो चरणमा उपत्यकाका बाँकी सुकुम्बासी बस्तीहरू पनि क्रमशः हटाइने महानगरले जनाएको छ।
बस्ती खाली गरिरहेका सुकुम्बासीहरूको अनुहारमा त्रास र अन्योल प्रस्टै देखिन्छ। ‘हाम्रो जाने ठाउँ कतै छैन, कहाँ गएर बस्नु?’ भन्दै उनीहरू गुनासो गरिरहेका छन्।

सरकारले सुकुम्बासी समस्या समाधानको विधि र प्रक्रिया ठाडै उल्लंघन गर्दै जबर्जस्ती बस्ती हटाउन लागेको भन्दै केही स्थानीयले चर्को विरोध समेत गरेका छन्।
सुकुम्बासीको विरोधका बीच प्रधानमन्त्री वालेन्द्र शाहले भने उनीहरूलाई सडकमा अलपत्र पार्न नभई विकल्पसहित व्यवस्थापन गर्न खोजिएको बताएका छन्।


वैशाख १२, २०८३ शनिबार ०७:२९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।