अतिक्रमणकारी र सुकुम्वासी छुट्याउँछौं, वास्तविक सुकुम्वासीलाई जग्गा दिन्छौं : प्रधानमन्त्री बालेन

अतिक्रमणकारी र सुकुम्वासी छुट्याउँछौं, वास्तविक सुकुम्वासीलाई जग्गा दिन्छौं : प्रधानमन्त्री बालेन

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले बागमती नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित रुपमा स्थानान्तरण गरी सुकुम्वासी समस्याको स्थायी समाधान गरिने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अतिक्रमणकारी र सुकुम्वासी छुट्याउने र देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताए।

उनले लेखेका छन्, "अतिक्रमणकारी र सुकुम्वासी छुट्याउने नै छौं। देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं। वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।"

नदी किनारका बस्तीमा वर्षायाममा हुने मानवीय र भौतिक क्षति रोक्न अब ढिलाइ गर्न नहुने उनको तर्क छ। बालेनका अनुसार नदी र खोला किनारका अव्यवस्थित बस्तीले काठमाडौंको ढल निकास प्रणाली निर्माणमा समेत अवरोध पुर्याइरहेका छन्। यसले गर्दा उपत्यकाको वातावरण दुर्गन्धित बनेको उनको भनाई छ। 

उनले भनेका छन्, "नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदी खोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौंको ढल निकास प्रणालीलाई सहज बनाउनेछ।"

काठमाडौंका नदी किनारका बस्ती र देशभर रहेका वास्तविक सुकुम्वासीको समस्या फरक रहेको औँल्याए। उनले भने, "काठमाडौंका खोला किनार बाहेक अरू हजारौं परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौं सुकुम्वासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो।"

वर्षौंदेखि बाकी रहेको समस्याको स्थायी समाधान खोज्न सरकार लागिपरेको भन्दै प्रधानमन्त्री बालेनले ढुक्क रहन आग्रह गरेका छन्।

 

वैशाख ११, २०८३ शुक्रबार १७:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।