सुकुमबासी बस्ती खाली गराउन प्रहरीको माइकिङ, सरकारी प्रवक्ता भन्छन् "निर्णय भएको छैन"

सुकुमबासी बस्ती खाली गराउन प्रहरीको माइकिङ, सरकारी प्रवक्ता भन्छन्

काठमाडौं : गृहमन्त्री समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा काठमाडौँको सुकुमबासी बस्ती खाली गर्न बिहीबारबाट प्रहरीले बस्ती नजिक गएर माइकिङ गर्न थालिसक्यो। बिहीबार नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि महानगर प्रहरीको गाडी बस्ती क्षेत्रमा गएर शुक्रवार बेलुकासम्ममा बस्ती खाली गर्न माइकिङ गरिरहेका छन्।

सुधन गुरुङको राजीनामा पछि गृह मन्त्रालय आफैसँग राखेका उनले बुधवार नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई बोलाएर शनिवार र आइतवरसम्ममा काठमाडौंको सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिए।

तर सरकारका प्रवक्ता सस्मित पोखरेलले बिहीबार यसबारे मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको दाबी गरे। सुकुमबासी बस्ती खाली गराउनेबारे सरकारले निर्णय गरेको हो भन्ने प्रश्नमा हाँस्दै उनले भने मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको छैन।

बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर हुँदा नै थापाथलीमा रहेको सुकुमबासी बस्ती खाली गराउन खोजेका थिए। महानगरको नगर प्रहरीको बलमा बस्ती खाली गराउने उनको प्रयास सफल भएन। निर्वाचनमा प्रचारको क्रममा उनले त्यहाँ रहेको बस्ती बाढीसहितको जोखिम रहेकाले सुरक्षित स्थानमा राख्ने प्रयास गरेको दाबी गरेका थिए। 

तर प्रधानमन्त्री भएपछि उनले सुकुमबासीबारे अध्ययनबाट वास्तविक सुकुमबासीको व्यवस्थापन र नक्कलीलाई हटाउनुको साटो विकल्प नै नदिई एकाएक बस्ती खाली गर्न सुरक्षाकर्मीलाई माइकिङ गर्न लगाए। बिहीबार सुकुमबासी क्षेत्रमा सुरक्षाकर्मीले सरकारी र पर्ती जग्गा अतिक्रमण गरेर बनेको घर र टहरा शुक्रवार बेलुकासम्म खाली गर्न भन्दै खाली नगरे शनिबार विहानबाट सुरक्षाकर्मीले खाली गराउने र त्यसमा अवरोध गरे कारबाही गर्ने चेतावनी दिइरहेको छ।

गृहमन्त्रीको हैसियतमा निर्देशन आएपछि सुरक्षाकर्मीको एक टोली सुकुमबासी बस्ती क्षेत्रमा गएर माइकिङ गर्न थालेको छ। सुरक्षा संगठनका प्रमुखहरू भने बस्ती खाली गराउन महानगरको साधन,स्रोत र जनशक्ति माग्न सक्रिय भएका छन्।

वैशाख १०, २०८३ बिहीबार २०:५४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।