युएईविरुद्धको जितपछि कुशलको ‘फ्लाइङ किस’, मिडियासामु प्रेमिकाबारे के भने?
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका आक्रामक ब्याटर कुशल भुर्तेलले युएईविरुद्धको खेलमा सानदार प्रदर्शन मात्र गरेनन्, आफ्नो प्रेम सम्बन्धलाई पनि मिडियासामु पहिलोपटक खुलेर स्वीकार गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न युएईविरुद्धको दुई खेलको सिरिजअन्तर्गतको दोस्रो खेलमा कुशलले उत्कृष्ट ब्याटिङ गरे।
उनले मात्र ५७ बलमा अविजित ८४ रनको विस्फोटक अर्धशतकीय पारी खेल्दै टोलीलाई सानदार जित दिलाए। उत्कृष्ट प्रदर्शनका कारण उनी ‘प्लेयर अफ दि म्याच’ समेत चुनिए।
खेल जितेपछि मैदानबाटै उनले दर्शकदीर्घातिर फर्केर दिएको ‘फ्लाइङ किस’ले भने धेरैको ध्यान तान्यो। उनको यो विशेष सेलिब्रेसन खेल हेर्न पुगेकी मोडल तथा इन्फ्लुएन्सर प्रेमिका प्रशंसा रायमाझीप्रति लक्षित थियो।
खेलपछिको ‘पोस्ट-म्याच प्रेस कन्फ्रेन्स’मा कुशलले यसको पुष्टि नै गरिदिए।
पत्रकारले ‘आजको सेलिब्रेसन अलि विशेष लाग्यो नि, त्योबारे केही बताइदिनुस् न’ भनेर सोधेको प्रश्नमा कुशलले मुस्कुराउँदै भने, ‘हजुर, मेरो ममी आउनुभएको थियो, मेरो ममी र गर्लफ्रेन्ड आउनुभएको थियो, उहाँहरूकै लागि हो।’
सामाजिक सञ्जालमा यी दुईको प्रेम चर्चा लामो समयदेखि चलिरहेको भए पनि कुशलले सार्वजनिक सञ्चारमाध्यमसामू आफ्नी प्रेमिकाबारे बोलेको यो नै पहिलोपटक हो। दर्शकदीर्घामा प्रशंसा र कुशलकी आमा सँगै बसेर नेपालको ब्याटिङ हेरिरहेका थिए।
‘मामा-माइजु’को प्रेम कथा
कुशल र प्रशंसा करिब दुई वर्षयता प्रेम सम्बन्धमा रहेको चर्चा छ। क्रिकेट समर्थकहरूमाझ यी जोडीलाई मायाले ‘मामा-माइजु’ भनेर बोलाउने गरिन्छ।
यसअघि उनीहरूका तस्बिरहरू बेलाबेला सार्वजनिक हुने गरे पनि दुवैले सम्बन्धलाई गुपचुप नै राख्दै आएका थिए। कुशललाई समर्थन गर्न प्रशंसा विश्वकपका बेला मुम्बईसम्म पुगेकी थिइन्।
गत पुसमा प्रशंसाको जन्मदिनको अवसर पारेर भने कुशलले इन्स्टाग्राममार्फत आफ्नो सम्बन्धलाई औपचारिक रूपमा सार्वजनिक (इन्स्टा-अफिसियल) गरेका थिए। मन्दिरमा सँगै उभिएर नमस्ते गरिरहेको तस्बिर राख्दै कुशलले लेखेका थिए, ‘जसले मलाई राम्रो मान्छे बनाएको छ र मेरो लागि सबैभन्दा ठूलो आशीर्वाद बनेकी छ, उसलाई जन्मदिनको शुभकामना।’
वैशाख ९, २०८३ बुधबार ०८:४९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।