‘बालेनको डोजरले घर भत्काएदेखि छोराको होस् गुम्यो, सुकुमबासी भनेर अस्पतालले पनि उपचार गर्न मानेन’

‘बालेनको डोजरले घर भत्काएदेखि छोराको होस् गुम्यो, सुकुमबासी भनेर अस्पतालले पनि उपचार गर्न मानेन’

काभ्रे : बनेपास्थित बुडोल टोलमा रेडक्रसका दुईवटा ठूला तालिम केन्द्र छन्। तीमध्ये दोस्रो भवनको सबैभन्दा माथिल्लो तल्लाको एउटा कुनाको कोठा हो- ६०१।

यो कोठाभित्र छिर्ने बित्तिकै शरीर थरथरी काँपिरहेका, औषधिको असरले जिउ सुन्निएका २८ वर्षीय छोरा मिलन तामाङ र उनलाई हेरेर गहिरो शोकमा डुबेकी आमा योमाया तामाङलाई भेटिन्छ।

गत वैशाख १२ गते उनीहरू वर्षौंदेखि बसिरहेको घर क्षणभरमै खण्डहर बन्यो। त्यसै दिनदेखि योमायाको जीवनमा अन्धकार छाएको छ। महानगरको डोजरले घर मात्र भत्काएन, उनका एक्ला सहारा छोराको बोली र मानसिक सन्तुलनसमेत खोसेर लग्यो।

छोराकै सहारामा बाँचिरहेकी योमायाले मिलनको मुखबाट ‘आमा’ शब्द नसुनेको धेरै भइसक्यो। मिलन एकोहोरो टोलाएर बस्छन्। उनलाई न भोक लागेको थाहा हुन्छ, न दिसा-पिसाब लागेको।

केही असजिलो हुँदा उनी आमाको अनुहारमा एकटकले हेरिरहन्छन्। योमाया पनि सन्तानको त्यही मौन भाव बुझेर उनको सहारा बनिरहेकी छन्।

‘बेलैमा उपचार पायो भने मेरो छोरा निको हुन्छ जस्तो मलाई अहिले पनि लाग्छ। यहाँ आएपछि पनि म दुईपटक अस्पतालमा भर्ना गरिदिन गुहार माग्न गएँ,’ आँसु रोक्न खोज्दै योमायाले पीडा पोखिन्, ‘तर सुकुमबासी भनेर अस्पतालले बेड खाली छैन भन्दै फर्काइदियो। ऋण खोजेरै भए पनि म छोराको उपचार गर्थेँ, तर अस्पतालले भर्ना लिनै मानेन।’

आठ वर्षअघि प्रेमिकासँगको विछोडका कारण मिलन डिप्रेसनमा गएका थिए। त्यतिबेला लगनखेलस्थित मानसिक अस्पतालमा दुई महिना राखेर उपचार गरेपछि उनी पूर्ण रूपमा निको भएका थिए।

त्यसपछि उनले पठाओ चलाएर आमालाई आर्थिक रूपमा सहयोग गर्दै आएका थिए। आमाछोराको जीवन सहज रूपमै चलिरहेका बेला वैशाख १२ गते राति मनोहरा क्षेत्रमा डोजर चल्यो। त्यसयता मिलन अर्धबेहोस अवस्थामा छन्।

‘पहिलाकै व्यथाले च्याप्यो। मेरो छोरालाई अस्पतालमै राखेर डाक्टर-नर्सको रेखदेखमा उपचार गराउन पाए हुन्थ्यो, तर मैले यहाँ एक्लै त्यस्तो हेरचाह गर्नै सक्दिनँ। यस्तै भयो भने उसलाई निको हुन गाह्रो हुन्छ। सरकारले कहिलेसम्म यसरी राख्ने हो थाहा छैन। कहाँ जाऊँ, के गरुँ, मलाई निकै औडाहा भइरहेको छ’, उनले एकै सासमा भनिन्।

के भएको थियो वैशाख १२ गते ?
सधैँझैँ वैशाख १२ गते शनिबार पनि मिलन पठाओ कुदाएर बेलुका घर फर्किएका थिए। आमाछोरा सँगै बसेर खाना खाने तरखर गर्दै गर्दा अचानक बत्ती निभ्यो। बस्तीमा हल्लाखल्ला मच्चियो। बाहिर निस्केर हेर्दा सुरक्षाकर्मी र डोजरहरूको ठूलो लावालस्कर आइसकेको थियो।

बस्तीमा झडपको स्थिति बन्यो। प्रहरीहरू आफैँ घरभित्र पसेर सामान बाहिर निकाल्न थाले। त्यतिबेलै मात्र आफ्नो घर भत्काउन डोजर आएको थाहा पाएकी योमायाले हतार-हतार आफ्ना सामान जोगाउन थालिन्। सामान बाहिर निकाल्ने हतारोमा उनले छोरा कता गए भन्ने पत्तै पाइनन्।

त्यो रात छिमेकीहरूसँग बाहिरै आगो तापेर सडकमा बिताएकी उनले मिलनलाई धेरै ठाउँमा खोजिन्, तर कतै भेटिनन्। भोलिपल्ट वैशाख १३ गते आइतबार सबेरैदेखि मनोहरा क्षेत्रका घरहरूमा सरकारी डोजर चल्न थाल्यो।

आफ्नो घर भत्किएको हेरेर बेहोसजस्तै बनेकी योमायाको मन छोराकै चिन्ताले छटपटाइरह्यो। उनले मनोहरा नजिकैको तरकारी बजारमा आफ्ना सामानहरू पालले छोपेर राखिन् र फेरि छोराको खोजीमा लागिन्। हराएको चौथो दिनमा उनले ग्वार्कोमा मिलनलाई फेला पारिन्।

त्यतिबेला मिलनको अवस्था निकै दयनीय थियो। खुट्टामा चप्पल थिएन, हातखुट्टाका औँलाका कापमा घाउ भइसकेका थिए। मुसाले टोकेर प्वाल पारेको मैलो कपडामा उनी ठिंग उभिएका थिए।

‘जिउँदो लास जस्तै भएर उभिएको देखेँ। पाइन्टमै पिसाब गरेको जस्तो देखिन्थ्यो। घरबाट निस्केदेखि केही नखाएको जस्तो अनुहार थियो। अझै केही दिन नभेटेको भए त हातखुट्टाको घाउमा कीरा नै पर्थ्यो होला’, मिलनको शरीरका घाउका डामहरू देखाउँदै उनले भनिन्।

त्यस दिनदेखि मिलनले एक शब्द पनि बोलेका छैनन्। जेठको गर्मीमा पनि बाक्लो सिरक ओढेर सुत्ने र बेस्सरी काँप्ने उनको अवस्था देखेर योमाया आफैँ त्रसित छिन्।

‘धेरै आत्तिएर पुरानो रोग बल्झिएको होला’, उनले अनुमान गरिन्। छोराको यो अवस्था देखेपछि उनले पठाओ कुदाउने स्कुटर पनि बेचिनन्।

‘घर त रहेन, छोराले मलाई चिन्न छाड्यो। त्यो स्कुटर मैले कहाँ राख्ने? बाटोमा अरू स्कुटर गुडेको देख्दा पनि छोराको याद आउँछ। हामीलाई के आइलाग्यो यस्तो!’, उनी भक्कानिइन्।

वैदेशिक रोजगारीको कमाइमा चल्यो डोजर
गोरखाकी योमाया सुरुमा काठमाडौँको बौद्धमा गलैँचा बुन्ने काम गर्थिन्। श्रीमान्ले छाडेर गएपछि उनले एक्लै छोरालाई हुर्काइन्।

आर्थिक अभावका कारण छोरालाई १० कक्षाभन्दा माथि पढाउन सकिनन्। गलैँचा बुनेर बचाएको केही पैसाले उनले मनोहराको सुकुमबासी बस्तीमा सानो ठाउँ किनेकी थिइन्।

बिहान-बेलुकाको छाक टार्न धौ-धौ भएपछि छिमेकीको जिम्मामा छोरालाई छाडेर उनी वैदेशिक रोजगारीका लागि साउदी अरब गइन्। त्यहाँबाट फर्केपछि कमाएको केही रकम र थप ६ लाख रुपैयाँ ऋण काढेर उनले मनोहरामा ब्लक र जस्तापाताको घर बनाइन्।

ऋण तिर्न उनले आसपासका पार्टी प्यालेसहरूमा भाँडा माझ्ने काम पनि गरिन्। पछि ऋण तिर्नकै लागि उनी पुनः रोजगारीका लागि कुवेत पुगिन्। कुवेतबाट फर्केर आएपछि उनले छोरालाई स्कुटर किनिदिएकी थिइन्। तर, त्यो खुसी धेरै दिन टिक्न पाएन।

अहिले मिलनलाई औषधि दिएर होल्डिङ सेन्टरमै राख्ने गरिएको छ। औषधिले लठ्ठिएपछि मात्र उनी शान्त हुन्छन्। बनेपा सार्नुअघि मिलनलाई एउटा पुनर्स्थापना केन्द्रमा राखिएको थियो। तर, त्यहाँ पनि 'सुकुमबासी' भन्ने थाहा पाएपछि राख्न मानेन, निकालिदियो।

योमायाले रेडक्रसदेखि बागमती सभ्यताका पदाधिकारीहरूसम्म पुगेर छोरालाई आफूसँगै राख्न पाउनुपर्ने माग राखिन्।

‘कोठा पनि नपाउने, मसँग राख्न पनि नपाउने भएपछि म कसरी उसलाई एक्लै छोड्न सक्छु र ? यहाँका साथीहरूले त माया मारिदेऊ पनि भने। आमाले आफ्नो बच्चाको माया मार्न सक्छ र ? हामी दुईको हामीबाहेक कोही पनि छैन’, उनले सुकसुकाउँदै भनिन्।

रेडक्रसको होल्डिङ सेन्टरमा बस्ने व्यवस्था मिलेपछि उनले छोरालाई ल्याउने कुरा गरिन्। राति १० बजे मात्र छोरा ल्याउन मिल्ने खबर पाएपछि लगनखेलबाट राति बनेपा पुग्नु उनका लागि सम्भव थिएन। त्यो रात उनीहरूले लगनखेलकै एउटा प्रहरी क्याम्प बाहिरको कुनामा लुकेर रात काटे।

‘आमाछोरा रातभर कुनामा लुकेर बस्यौँ। छोरा त मेरो काखमा निदायो, म भने कोही आएर कुट्ला कि भन्ने डरले निदाउनै सकिनँ,’ उनले भनिन्, ‘उज्यालो भएपछि सिधै बस चढेर हामी बनेपा आयौँ। यहाँ आएको कति दिन भयो, कुन दिन आएको भन्ने पनि मलाई पत्तो छैन।’

अहिले मिलनको अवस्थाबारे होल्डिङ सेन्टरमा कुरा राखेपछि धुलिखेल अस्पताल लगिएको थियो। तर, त्यहाँबाट पनि एक महिनाको औषधि दिएर मात्र पठाइएको योमायाको गुनासो छ। औषधिको अत्यधिक डोजले मिलनको जिउ सुन्निएको छ।

‘औषधिले पुरै सुन्निसक्यो, पुराना कपडा केही ठिक हुँदैनन्। कहिले औषधिले लठ्ठिएर सुतेको सुत्यै गर्छ, कहिले तीन दिनसम्म सुत्दैन’, उनले भनिन्।

‘मलाई सरकारको सम्पत्ति चाहिँदैन, मेरो छोराको मात्र चिन्ता छ। सरकारले दयाधर्मले केही दिन्छ भने मैले आफ्नो नाम लेखेकै छु, खोजेर दिऊन्। नत्र मेरो छोरा निको मात्र भए म आफैँ कमाएर खान्छु। एउटा सानो ठाउँ दिए अझै पनि पाल टाँगेर भए पनि छोरालाई पाल्न सक्छु’, उनले भनिन्।

तर, सुकुमबासी भएको र छोराको अवस्था कमजोर भएकाले कसैले कोठा भाडामा दिन नमानेको उनले बताइन्।

‘मेटासिड खाएर मर्न तयार भएकी थिएँ’
चरम मानसिक तनाव र अभावका बीच योमायाले एकपटक छोरासँगै आत्महत्या गर्ने सोचसमेत बनाएकी थिइन्।

‘के गर्ने, कसो गर्ने भएर घरको जस्तापाता बेचेको दुई हजार रुपैयाँ मसँग थियो। तनावले म आफैँ बौलाउन मात्र बाँकी थिएँ,’ छोरालाई हेर्दै उनले भनिन्, ‘मैले छोरालाई मसँग अलिकति पैसा छ, हामी दुवै मेटासिड (विष) खाएर सुतौँ, यो दुःख भोग्नु पर्दैन पनि भनेकी हुँ। तर, उसले खान मान्दै मानेन। उसले मानिदिएको भए आज हामी यहाँ हुन्थेनौँ होला। अझै पनि यस्तै भयो र केही व्यवस्थापन भएन भने त म सडकमै बिलाउनेछु।’

केही समयअघि सांसदहरूको टोली विस्थापितहरूको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगेको थियो। उनीहरूले फोटो खिचाए, तर पीडितका समस्या जस्ताको तस्तै रहे। उता प्रधानमन्त्री वालेन्द्र शाहले सुकुमबासीको विषयमा प्रश्नोत्तर दिँदै ‘३५ वर्षको समस्या ३५ मिनेटमा समाधान गर्न नसकिने’ तर्क गरेका छन्।

सरकारले काठमाडौंका वस्तीहरू भत्काउने बेला १५ दिनभित्र उचित व्यवस्थापन गर्ने आश्वासन दिए पनि विस्थापितहरूको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ। यहाँ बालबालिकादेखि वृद्धवृद्धासम्मका समस्या निकै बढेका छन्।

‘हाम्रो मनभित्र ठूलो पीडा छ। यहाँ बसुन्जेल बस्ने हो, जा भन्यो भने जाने ठाउँ कतै छैन। सरकारले कतै पनि ठाउँ बाँकी राखेन, जहाँ पनि हामीलाई बदनाम मात्र गराइदियो। अब हामी पहिलेको जस्तै कसरी हुने?’ योमायाले प्रश्न गरिन्, ‘मेरा आफ्नै साथीहरूले समेत मलाई नआउनु भनिसके। काम गर्न पाएको छैन, छोरासँगै म पनि बिरामी परेँ भने हामी कसरी बाँच्ने? मेरो छोराको उपचार मात्र हुन पाए सबै ठिक हुन्थ्यो जस्तो लाग्छ।’

जेठ २१, २०८३ बिहीबार ०८:०४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।