महानगरको होल्डिङ सेन्टरमा सुकुम्बासीको 'बली' : समयमै उपचार नपाउँदा ३६ वर्षमै भेषराजको ज्यान गयो

महानगरको होल्डिङ सेन्टरमा सुकुम्बासीको 'बली' :  समयमै उपचार नपाउँदा ३६ वर्षमै भेषराजको ज्यान गयो

काठमाडौं : वैशाख १२ बाट सरकारको होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय भेषराज दर्जीको बिहीबार मृत्यु भयो। शान्तिनगरमा दुई कोठेको टहरामा बस्दै आएका उनलाई सरकारले टहरा भत्काएर वैकल्पिक व्यवस्था गर्ने आश्वासन दिएर कीर्तिपुरको होल्डिङ सेन्टरमा राखेको थियो।

भेषराजको श्रीमती विमला सुनुवारका अनुसार उनमा फोक्सोमा पानी जमेको समस्या थियो। प्यानक्रियाजमा पनि समस्या देखियो। पछि मधुमेहको समस्या समेत थपियो। होल्डिङ सेन्टरमा रहँदा सिकिस्त भएपछि महानगरले निःशुल्क उपचार गर्न भन्दै सिफारिस लेखेर वीर अस्पताल पठाएकोमा बिहीबार उनको  मृत्यु भयो।

सरकारले अव्यवस्थित बसोबासी र सुकुमबासीको व्यवस्थापन गर्ने भन्दै सुरक्षा बल परिचालन गरेर बस्ती हटाएपछि उनी श्रीमती र दुई बर्षे दुधे बालकसँगै वैशाख १२ गतेदेखि कीर्तिपुरको बागमती नदी किनारमा सत्संगका लागि बनाएको टहरोमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका थिए।

उनको स्वास्थ्य अवस्थाका कारण होल्डिङ सेन्टरमा लैजाँदा नै विशेष उपचारको आवश्यक थियो। तर जिउ-ज्यानसहित सम्पत्तिको समेत जिम्मेवारी लिएर होल्डिङ सेन्टर पुर्याएको सरकारले उनको स्वास्थ्य अवस्थाको ख्याल गरेन।

उनको परिवारका अनुसार दर्जीको स्वास्थ्य अवस्थाबारे होल्डिङ सेन्टरमा रहेका सरकारी प्रतिनिधिलाई जानकारी गराए पनि उनले समयमा न उचित उपचार पाए न पोषणयुक्त खाना। सधैँ दालभात र आलुको तरकारी दिएपछि उनको शरीरमा मधुमेहको मात्रा समेत बढ्यो। अन्तमा बिहीबार उपचारकैक्रममा ३६ वर्षमा उनको ज्यानै गयो।

“माछामासु, अण्डा खान पर्ने मान्छे। यहाँ(हस्पिटल) ल्याउनु भन्दा केही दिन अघि मासु ल्याइदेन भन्नु भएको थियो,” भक्कानिँदै दर्जीको श्रीमती विमला सुनुवारले उकेरासँग भनिन्, “तर होल्डिङ सेन्टरमा ल्याएदेखि एक छाक मिठो खान नपाई जानुभयो।”

मृत्यु हुनु अगाडि सरकारी होल्डिङ सेन्टरमा ३६ वर्षीय भेषराज दर्जी।विमलाका अनुसार होल्डिङ सेन्टरमा बिरामी हुन् या बच्चा सबैलाई एकै खालको खाना दिइन्छ। प्राय दालभात र आलुको तरकारी नै हुन्थ्यो। त्यहाँ रहेकाहरूको स्वास्थ्य अवस्थाको आधारमा खाना दिइँदैन।

उनको श्रीमानलाई छ वर्षदेखि फोक्सोको समस्या थियो। फोक्सोमा पानी जमेको भन्दै चिकित्सकले अप्रेसन गरेर पानी निकाल्नुपर्छ भनेका थिए। तर आर्थिक अवस्थाका कारण अप्रेसन गर्न सकिनन्।

होल्डिङ सेन्टरमा पुगेपछि स्वास्थ्य समेत हेरिने दाबी गरियो। त्यहाँ बिरामी चेकजाँचको लागि भनेर विभिन्न संस्थाबाट व्यक्तिहरू आउँथे। उनले दुख्यो भन्दा पेनकिलरको रूपमा सिटामोल दिएर जान्थे।

“सन्चो भएन भन्दा दुखाइ कम हुने औषधि मात्र दिनुहुन्थ्यो,” विमलाले भनिन्।

एक चिकित्सकले वीर अस्पतालमा दर्जीका लागि किनिएको औषधी र गरिएको परीक्षणका आधारमा उनमा अचानक पेट दुख्ने वा प्यानक्रियाज गम्भीर रूपमा सुन्निएको वा इन्फेक्सन भएको अवस्था हुनसक्ने देखिएको जानकारी दिए।

बिलमा लेखिएका आपतकालिन प्रयोगशालाको रिपोर्ट अनुसार एक्युट प्यानक्रियाटाइटिस (प्यानक्रियाज सुन्निएको) को आशंकामा गरिने जाँच गराएको देखिएको र रगतमा चिनीको मात्रा र पिसाबको सामान्य अवस्था (इन्फेक्सन) पहिल्याउन परीक्षण गरिएको हुनसक्ने ती चिकित्सकले बताए।

औषधीको बिलको आधारमा उनलाई चिकित्सकले सुई मार्फत दिइने गम्भीर प्रकृतिका औषधिहरू चलाइएको देखियो।

महानगरको सिफारिस पत्र र अस्पतालमा उपचारको बिल।“औषधीको सूचीका आधारमा बिरामीलाई पेटको गम्भीर इन्फेक्सन वा प्यानक्रियाज सुन्निएको आपत्कालीन अवस्था जस्तो देखिन्छ” एक चिकित्सकले उकेरालाई बताए।

दर्जीको स्वास्थ्य अवस्था प्रारम्भबाटै गम्भीर रहेको देखिन्छ। तर महानगरले जेठ १८ मा मात्र उनको उपचारका लागि वीर अस्पताललाई सिफारिस पत्र लेखिदिएको देखिन्छ।

उकेराले प्राप्त गरेको महानगरको सिफारिस पत्रमा काठमाडौंका सुकुमबासी बस्ती व्यवस्थापन क्रममा सुन्दरीघाट कीर्तिपुर होल्डिङ सेन्टर राखिएको झापा जुरेपानीका वर्ष ३६ का भेषराज दर्जी सिकिस्त बिरामी भएर उपचार गर्नुपर्ने भएकोले आवश्यक पर्ने स्वास्थ्योपचार सेवाहरू नि:शुल्क उपचारको व्यवस्था मिलाउन भनिएको छ। पत्रमा विभागीय प्रमुख दिपकुमार केसीको हस्ताक्षर रहेको छ।

होल्डिङ सेन्टरमा भेषराजको अन्तिम दिन !

होल्डिङ सेन्टरमा आउँदा नै दर्जीको स्वास्थ्य अवस्था राम्रो थिएन। उनलाई विशेष उपचारको आवश्यकता थियो। तर सरकारी प्रतिनिधिले वास्ता गरेनन्। विमला सुनुवारका अनुसार उनले होल्डिङ सेन्टरमा आउनेहरूलाई श्रीमानको स्वास्थ्य अवस्थाबारे बताए पनि कसैले वास्ता गरेनन्।

दर्जीलाई पाँच दिन अघि निकै गाह्रो भयो। त्यसपछि उनलाई होल्डिङ सेन्टरबाट वीर हस्पिटलको आइसियुमा भर्ना गरिएको थियो।

“गाह्रो भएर मान्छे कालो निलो हुँदै आँखा नै फर्काउँदा समेत एम्बुलेन्स आउन गाह्रो मान्यो” विमला सुनुवारले भनिन् “६ बजे नै भन्दा पनि एम्बुलेन्स ९ बजे पछि मात्र आयो। अस्पताल ल्याउँदा अर्ध बेहोस भइसक्नु भएको थियो।”

वीर अस्पतालको आइसियूमा रहेका एक चिकित्सकसँग दर्जीको प्रारम्भिक स्वास्थ्य अवस्थाकारे जानकारी लिन खोज्दा सूचना अधिकारीसँग कुरा गर्नु भन्दै एक मोवाइल नम्बर दिए। सो नम्बर डा. प्रकाश बुढाथोकीको थियो। उनले उकेरासँग आफू सूचना अधिकारी भएको बताए।उनका अनुसार दर्जीलाई अस्पताल ल्याउँदा निकै गम्भीर अवस्था थियो।

“उहाँको मल्टीअर्ग्यान फेल भएको रहेछ। यहाँ ल्याउँदा निकै क्रिटिकल अवस्था थियो। त्यसैले उहाँलाई बचाउन सकेनौ” बुढाथोकीले उकेरालाई भने।

विमलाका अनुसार वीरमा ल्याएर आकस्मिक कक्षमा राखियो। चिकित्सकहरूले हेरेर आइसियुमा राख्नु पर्ने भने पनि खाली छैन भनेर राखिएन।  काठमाडौँ महानगरपालिकाबाट सुकुमबासी भएको सिफारिस ल्याएपछि मात्र उनलाई आइसियुमा राखियो। औषधी खर्च भने उनीसँगै लिइयो।

सरकारले विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखिए पनि कीर्तिपुरको होल्डिङ सेन्टरको व्यवस्थापन जिम्मा भने काठमाडौँ महानगरपालिकाले लिएको छ।

दर्जीको उपचारमा गरिएको बेवास्ता र उनको अवस्थाबारे महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग कुरा गर्दा उनले भने “उहाँ पहिला देखिनै धेरै बिरामी हुनुहुँदो रहेछ। महानगरले गर्नुपर्ने काम गरेकै छ। अब पनि गर्छौ।”

गम्भीर बिरामी भए पनि सुकुमबासीको जिम्मालिँदै सरकारी होल्डिङ सेन्टरमा राख्दा स्वास्थ्य अवस्थाबारे किन विशेष ख्याल नगरिएको भन्ने जिज्ञासामा उनले भने गम्भीर भएर वीर अस्पताल पुर्याउनु नै विशेष ध्यान दिएको भनेर तर्क गरे।

“हामीले विशेष ध्यान दिएको भएर नै वीर हस्पिटलमा लगिएको हो। रोग अनुसार उहाँहरूले कहाँ जँचाउँदै आउनुभएको थियो। त्यहाँ उपचार गराउने व्यवस्था महानगरले गरेकै छ। अब उहाँ चैँ अलि धेरै नै बिरामी हुनुभएको कारणले आज यस्तो घटना घटेछ। महानगरले परिवारको गुनासो सुन्छ।”

पहिला छाप्रो खोसियो, अब श्रीमान्

विमलाका अनुसार उनीहरू शान्तिनगरमा २५ वर्ष देखि बस्दै आएका थिए। उनको श्रीमान् होटलमा काम गर्थे। उनी अर्काको घरमा घरायसी काम गर्थिन्। श्रीमानको स्वास्थ्य ठिक नभएपछि कमाउने उनी एक्ली भइन्।

वैशाख १२ गते सुरक्षा बल सहितको टोलीले थापाथलीको सुकुमबासी भत्कायो। सरकारी डोजर त्यही दिन १२ बजेपछि शान्तिनगर पुग्यो।

दर्जीसहितलाई बस्तीबाट उठाएर होल्डिङ सेन्टरमा ल्यायो। अनि विमलाको काम पनि छुट्यो। श्रीमानको औषधी किन पनि पैसा नभएपछि आफन्तसँग सापटी लिएर किनेको उनले बताइन्।

“यति सानो नानी छ। अब कसरी हुर्काउने ? यो बच्चाले बाउ खै भनेर सोध्दा मैले के जवाफ दिने?” वीर हस्पिटलको आइसियु कक्ष अगाडि उनी रोइरहेकी थिइन्। उनको सानो बाबुले “ममी के भयो ?” भन्दै थिए।

बिहीबारै दर्जीको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण हस्पिटलको पोस्टमार्टम विभागमा लगेको छ।

डेढ महिनादेखि सेल्टरहरुमा बन्दी छन् सुकुमबासी 

सरकारले सुकुमबासी र अव्यवस्थित बसोबासी रहेकाकाहरुलाई पहिला बस्तीबाट उठाएर होटल अनि होल्डिङ सेन्टरहरूमा राख्ने र १५ दिनपछि उचित व्यवस्थापन गर्ने दाबी गरेको थियो। सरकारी तथ्याङ्क अनुसार सरकारले उपत्यकाबाट यसरी १५ हजार जनालाई विस्थापित गरेको थियो।

पहिला कसैलाई होटल त कसैलाई होल्डिङ सेन्टरमा राख्यो। यसरी बस्तीबाट उठाएको डेढ महिना भइसक्यो। केहीलाई सरकारले बनाएको अपार्टमेन्टमा कोचाकोच गराएर राख्यो।

बाँकीमध्ये कसैलाई अलपत्रै छाड्यो। केहीलाई काठमाडौंको डाँडा कटाएर बनेपा पुर्याएको छ त कसैलाई नगरकोटको सरकारी तालिम केन्द्रमा राखेको छ। केही कीर्तिपुरमा सत्संगका लागि बनाएको छाप्रोमुनि बसिरहेका छन्।

दर्जीसहित तीन जनाको ज्यान गयो

सरकारले सुरक्षाबल परिचालन गरेर सुकुमबासी बस्ती भत्काउन थालेदेखि तीन जनाको ज्यान गइसकेको छ। मनोहरा क्षेत्रमा १९ वर्षीय रबिन तामाङले आत्महत्या गरेका थिए। उनको शव शौचालयमा फेला परेको थियो।

पछि बल्खुमा घर भत्काउने दिन खोलामा इन्द्रबहादुर राइको शव फेला परेको थियो। सुरक्षा बलको दलबलसहित सुकुमबासीबस्ती भत्काउन डोजर आउँदा उनी आफ्नै छाप्रो वरपर रहेका थिए। केही समयपछि नजिकैको खोलामा एक पुरुषको शव फेला पर्यो। शव राइकै थियो। दुवै परिवारका सदस्यहरूका अनुसार अहिलेसम्म उनीहरूलाई पोस्टमार्टम रिपोर्ट पनि दिइएको छैन भने मृत्युको कारण पनि भनिएको छैन।

जेठ २२, २०८३ शुक्रबार ०१:१०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।