सम्पत्ति लुकाएको र विवादित घरानासँग जोडिएको आरोप खण्डन गर्दै गृहमन्त्रीले भने- ‘पार्टीको निर्णय मान्छु, अनुसन्धानमा सघाउँछु’
काठमाडौं : सम्पत्ति विवरणमा लगानी लुकाएको र विवादित व्यापारिक घरानासँग साँठगाँठ गरेको आरोप खेपिरहेका गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका छन्।
चौतर्फी आलोचना र उच्चस्तरीय छानबिनको माग उठेपछि शनिबार सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै उनले आफूले कुनै पनि सम्पत्ति नलुकाएको र सबै लगानी बैंकिङ प्रणालीमार्फत नै गरेको दाबी गरेका छन्।
उनले आफूमाथि लागेका आरोपलाई सुविधा अनुसारको व्याख्या र राजनीतिक हल्लाको संज्ञा दिएका छन्।
स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा रहेको २५ हजार कित्ता (२५ लाख रुपैयाँ बराबरको) सेयर सम्पत्ति विवरणमा नदेखाएको भन्ने आरोपको उनले बचाउ गरेका छन्।
‘मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिन्छ,’ गुरुङले भनेका छन्, ‘ती दुई कम्पनीमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने विषय होइन, वर्गीकरणको विषय मात्र हो। लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।’
मन्त्री हुनुअघि नै स्रोत नखुलेको पैसाले सेयर किनेको भन्ने आरोपको पनि उनले खण्डन गरेका छन्। देशमा सेयरमा लगानी गर्नु अपराध नभएको जिकिर गर्दै उनले पैसाको स्रोत ऋण भएको दाबी गरेका छन्।
‘मैले लगानी गरेको रकम कर्जामार्फत जुटाइएको हो। त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ कै रेकर्डमा छ,’ उनले भनेका छन्, ‘ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। बैंकबाट गएको पैसाको सबै हिसाब देखिन्छ, कहाँ लुकाउने?’
आर्थिक हिनामिना र सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका दीपक भट्ट तथा शंकर ग्रुपसँग ‘साझेदारी’ रहेको विषयलाई पनि उनले अस्वीकार गरेका छन्।
एउटै कम्पनीमा सयौं सेयरहोल्डर हुने भन्दै उनले भनेका छन्, ‘सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त? पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु तथ्य होइन।’
नेपाली कांग्रेस र जेनजी मुभमेन्टले उनी गृहमन्त्री रहँदा अनुसन्धान प्रभावित हुने भन्दै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को प्रश्न उठाएका थिए।
यसको जवाफमा गुरुङले भनेका छन्, ‘यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालयअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण विभाग हो। र, सोही निकायले प्रक्रियाअनुसार विषय हेरिरहेको छ। मैले हस्तक्षेप गरेको भए छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन।’
आफूमाथि उठेका प्रश्नबारे मौन बसेको भन्ने टिप्पणीको जवाफ दिँदै उनले कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त नभएको बताएका छन्।
‘हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ’, उनले भनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री बनेका गुरुङले व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतो भन्न नमिल्ने बताएका छन्। उनले आफू अनुसन्धानमा आवश्यक सहयोग गर्न र पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्न तयार रहेको स्पष्ट पारेका छन्।
‘सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले हामीलाई जिम्मेवार बनाउँछ। हल्लामा होइन, प्रमाणमा उभिनुपर्छ’, उनले लेखेका छन्।
यसअघि नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीमाथि उठेका गम्भीर प्रश्नहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न माग गरेको थियो। कांग्रेसले पदमा बहाल रहँदा अनुसन्धान प्रभावित हुने भन्दै राजीनामाको संकेत गरेको थियो।
त्यसैगरी ‘जेनजी मुभमेन्ट’ ले पनि उनलाई बर्खास्त गरी पक्राउ गर्न माग गरेको थियो। चौतर्फी दबाबपछि गृहमन्त्रीले आफ्नो बचाउ गर्दै स्पष्टीकरण दिएका हुन्।
सम्बन्धित समाचार
वैशाख ७, २०८३ सोमबार १४:०५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।