गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न ‘जेनजी मुभमेन्ट’को माग

गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न ‘जेनजी मुभमेन्ट’को माग

काठमाडौं : गम्भीर आर्थिक अनियमितता र विवादित व्यापारिक घरानासँगको साँठगाँठको आरोपमा मुछिएका गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न ‘जेनजी मुभमेन्ट, नेपाल’ले सरकारसँग माग गरेको छ।

व्यापारिक लगानी लुकाएको र शंकास्पद घरानासँग मिलेमतो गरेको तथ्य सार्वजनिक भएलगत्तै जेनजी मुभमेन्टले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई कडा चेतावनीसमेत दिएको छ।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री पदमै बहाल रहेका बेला उनीमाथि निष्पक्ष छानबिन हुन नसक्ने दाबी गरिएको छ।

‘यो स्पष्ट कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो, जसले न्याय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री पदको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुन सक्दैन, यो आधारभूत नैतिकता र कानुनी सिद्धान्तविरुद्ध छ।’

यस्तै, जेनजी मुभमेन्टले प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराउँदै मन्त्री नियुक्त गर्ने र हटाउने विषयलाई ‘कच्चा र अमर्यादित खेल’ नबनाउन पनि आग्रह गरेको छ।

क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय भएको भन्दै मुभमेन्टले जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनुपर्नेमा जोड दिएको छ।

वर्तमान सरकार ७६ जना सहिदको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व गर्ने सरकार भएको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन। सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै किन्तु-परन्तु, सम्झौता वा ढिलासुस्ती स्वीकार्य हुन सक्दैन।’

पद र शक्तिको संरक्षणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने भन्दै मुभमेन्टले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्ने अडान राखेको छ।

किन विवादमा तानिए गृहमन्त्री गुरुङ?
जेनजी आन्दोलनमा पानी बाँड्ने कामबाट एकाएक अभियन्ता हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद जितेर गृहमन्त्री बनेका गुरुङको पृष्ठभूमि र आर्थिक कारोबार सुरुदेखि नै शंकास्पद मानिँदै आएको छ।

आइतबार सार्वजनिक भएको एक पत्र अनुसार गृहमन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा आफ्नो ठूलो लगानी लुकाएको खुलासा भएको छ।

‘हामी नेपाल’ नामक संस्थामार्फत विवादित शंकर ग्रुप र दीपक भट्टसँग निकट रहेका गुरुङको सोही समूहको लगानी रहेको ‘स्टार माइक्रो इन्स्योरेन्स’ र ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’मा सेयर लगानी रहेको तथ्य बाहिरिएको छ। तर, उनले आफ्नो सम्पत्ति विवरणमा यो कुरा उल्लेख गरेका छैनन्।

हिमालयन रिइन्स्योरेन्समा रकम हिनामिना र सम्पत्ति शुद्धीकरणको आरोपमा दीपक भट्ट हाल अनुसन्धानका लागि हिरासतमा छन्। उनै भट्टसहितको समूहले अगाडि बढाएका इन्स्योरेन्स कम्पनीहरूमा गृहमन्त्री गुरुङको समेत सेयर देखिनु र त्यसलाई लुकाइनुले गम्भीर प्रश्न उब्जाएको छ।

यसका साथै, गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा भदौ २४ गतेको आन्दोलनमा भएको ध्वंसात्मक गतिविधिमा गुरुङ र उनी आबद्ध ‘हामी नेपाल’को भूमिका शंकास्पद रहेको उल्लेख छ।

‘फ्रि तिब्बत’ अभियानसँग जोडिएका संस्थाहरूसँगको सम्बन्ध र सरकारी सुविधाको सट्टा स्रोत नखुलेका निजी गाडीहरूको प्रयोगले पनि उनीमाथि निरन्तर प्रश्न उठिरहेको छ।

वैशाख ७, २०८३ सोमबार ०८:३३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।