बुटवलको ‘क्लिन अभियान’ : फुटपाथ व्यवसायीको रोजीरोटी खोसियो, ठूला व्यापारी पनि असन्तुष्ट

बुटवलको ‘क्लिन अभियान’ : फुटपाथ व्यवसायीको रोजीरोटी खोसियो, ठूला व्यापारी पनि असन्तुष्ट

बुटवल : अर्घाखाँची घर भई बुटवलको मजुवा बस्दै आएकी सरस्वती विक भुर्कीचोकमा डोकामा फलफूल बेचेर परिवार पाल्दै आएकी थिइन्। त्यही आम्दानीले उनका तीन सन्तानको लालनपालन चलिरहेको थियो।

तर, आइतबार भुर्कीचोक नजिकैको आकाशे पुलमा भेटिँदा उनको साथमा न डोको थियो, न फलफूल। उपमहानगरपालिकाले सडक किनारका पसल हटाएपछि उनी आफ्नो रोजीरोटी गुमेको चिन्तामा थिइन्।

‘हुनेखानेका लागि सबैतिर सजिलो छ, हामीजस्ता गरिबलाई जहाँ पनि गाह्रो रहेछ,’ उनले भनिन्, ‘हातमा सीप छैन, अब के गरेर छाक टार्ने र बालबच्चा पाल्ने भन्ने चिन्ता छ।’

गुल्मीको धुर्कोट घर भई गोलपार्क बस्ने रेशम भण्डारीको व्यथा पनि उस्तै छ। फुटपाथमै व्यापार गरेर जीविकोपार्जन गरिरहेका उनी पनि अहिले बेरोजगार भएका छन्।

‘सडक अस्तव्यस्त त थियो नै, तर यसरी ठप्पै पार्ने गरी फुटपाथमा व्यवसाय गर्न नदिँदा हाम्रो चुलो बल्न छाड्यो’, उनले भने।

वैशाख २ गतेदेखि बुटवल उपमहानगरपालिकाले फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी राखिएका सामान तथा ठेलागाडा हटाउने अभियान चलाइरहेको छ।

पटक-पटक आग्रह गर्दा पनि व्यापारीले अटेर गरेको भन्दै उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गरी बल प्रयोग गरेरै फुटपाथ खाली गराइरहेको छ। यसबाट सडक किनारमा व्यापार गर्ने सरस्वती र रेशमजस्ता साना व्यवसायीको रोजीरोटी खोसिएको छ।

सडक खुला गराउने उपमहानगरको यो अभियानले साना व्यापारी मात्र नभई स्थायी संरचनामा पसल सञ्चालन गरिरहेका ठूला व्यवसायीलाई पनि प्रभावित बनाएको छ।

साना व्यवसायीले व्यापारका लागि वैकल्पिक र व्यवस्थित स्थानको माग गरिरहेका छन् भने मुख्य बजार क्षेत्रका व्यापारीहरूले सामान जफत गर्ने उपमहानगरपालिकाको शैलीलाई ‘ज्यादती’ को संज्ञा दिएका छन्।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सडक पेटी खाली गर्ने अभियानमा संघको समर्थन रहे पनि व्यवसायीलाई त्रसित बनाएर सामान जफत गर्ने कार्य न्यायसंगत नभएको बताए।

‘सटरभित्र राखिएका सामानसमेत नगर प्रहरीले खोसेर लगेका छन्। व्यवसायीलाई त्रसित बनाउने काम भएको छ, जुन हामीलाई स्वीकार्य छैन,’ उनले भने, ‘जफत गरिएका सामान यथाशीघ्र व्यवसायीलाई फिर्ता गरिनुपर्छ।’

राममन्दिर लाइनस्थित सिटी ब्याग हाउसका सञ्चालक विजय रायमाझीले नगर प्रहरीले बलजफ्ती सामान लगेको गुनासो गरे।

‘सटरमा घाम छेक्ने पर्दा (सनसेड) थियो, त्यही राखेकै आधारमा पसलभित्रैबाट बलजफ्ती सामान उठाएर लगियो’, उनले भने।

फुटपाथ अतिक्रमण हटाउनुपर्छ भन्नेमा अधिकांशको सहमति रहे पनि उपमहानगरपालिकाको कार्यान्वयन शैलीमाथि भने प्रश्न उठेको छ। नियम, सीमा र मापदण्डबारे स्पष्ट जानकारी नदिई सीधै कारबाहीमा उत्रिँदा साना व्यवसायी बढी मारमा परेका छन्।

‘पसल उक्लिने सिँढीसमेत भत्काउन भनिएको छ। आफ्नै छानोभित्रको बोर्ड पनि हटाउन लगाइएको छ,’ बुटवल मिलनचोकका एक व्यापारीले भने, ‘मापदण्ड के हो भन्ने नै स्पष्ट छैन, बलजफ्ती सामान उठाउने काम मात्र भएको छ।’

बीपी चोकस्थित गौरीशंकर भाँडा पसलका सञ्चालक विजय कसौधनले नगर प्रहरीले ग्राहकलाई दिन ठिक्क पारेको सामानसमेत लगेको बताए।

‘बिक्री भएर ग्राहकलाई दिन ठिक्क पारेको तामाको भाँडासमेत नगर प्रहरीले हातबाटै खोसेर लगे। अरू सबै रमिते बन्नुपर्यो’, उनले गुनासो गरे।

यता, बुटवल उपमहानगरपालिकाले भने मापदण्डमै रहेर फुटपाथ खाली गराइएको दाबी गरेको छ। नगरप्रमुख खेलराज पाण्डेयले तीन दिनसम्म माइकिङ गरेर खाली गर्न अनुरोध गर्दा पनि अटेर गरेपछि बल प्रयोग गर्नुपरेको प्रस्टीकरण दिए।

‘फुटपाथ पैदलयात्रीका लागि हो, त्यहाँ व्यवसाय नगरिदिनुहोस् भन्ने मेरो विनम्र अनुरोध छ,’ मेयर पाण्डेयले भने, ‘पटक-पटक आग्रह गर्दा पनि नमानेपछि अतिक्रमण गरिएका संरचनामा डोजर चलाउन बाध्य भएका हौं।’

कार्यान्वयन प्रक्रियाप्रति व्यावसायिक संघसंस्थाको आपत्ति
उपमहानगरपालिकाले सडक पेटी (फुटपाथ) खाली गराउने अभियान सञ्चालन गरिरहँदा यहाँका व्यावसायिक संघसंस्थाहरूले कार्यान्वयन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।

बुटवलको सौन्दर्यीकरण, ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीको सहजताका लागि सडक पेटी खाली गर्ने निर्णयमा आफूहरूको समर्थन रहे पनि उपमहानगरपालिकाले सहमतिविपरीत बलपूर्वक गतिविधि गरेको उनीहरूको आरोप छ।

रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उपमहानगरको कार्यशैलीको विरोध गरेका हुन्।

विज्ञप्तिमा वैशाख ३ गते अमरपथ, बीपी चोक, राममन्दिर लाइनलगायतका क्षेत्रमा उपमहानगरपालिकाले व्यावसायिक प्रतिष्ठानमा बलपूर्वक हस्तक्षेप गरेको उल्लेख छ।

सटर र पिलरसँगै राखिएका सामानहरू कुनै लेखाजोखाबिना उठाएर लगिएको, सटरमा क्षति पुर्याइएको तथा अस्थायी पाली र फल्स सिलिङका सामग्रीसमेत जफत गरिएको व्यवसायीहरूको गुनासो छ।

यस्ता गतिविधि विगतमा उपमहानगरपालिका र व्यवसायीबीच भएको पूर्वसहमतिको उल्लंघन भएको दाबी गर्दै उनीहरूले कार्यान्वयन प्रक्रियालाई सहकार्य र स्पष्ट मापदण्डका आधारमा मात्र अघि बढाउन आग्रह गरेका छन्।

वैशाख ७, २०८३ सोमबार ०८:१६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।