अमेरिकाको लुजियानामा ‘मास सुटिङ’ हुँदा ८ बालबालिकाको मृत्यु, बन्दुकधारी पनि मारिए
एजेन्सी : अमेरिकाको लुजियाना राज्यस्थित श्रेभपोर्ट सहरमा भएको गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यु भएको छ।
मारिने बालबालिकाहरू १ देखि १४ वर्ष उमेर समूहका छन्। प्रहरीले यस घटनालाई पारिवारिक झगडाका कारण भएको बताएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान करिब ५ बजे यो घटना सुरु भएको थियो।
एक जना बन्दुकधारीले १० जनालाई गोली हानेर एउटा चोरीको कारमा भागेका थिए। त्यसपछि प्रहरीले पिछा गर्दै ती शंकास्पद बन्दुकधारीलाई गोली हानी मारेको छ।
श्रेभपोर्टका मेयर टम आर्सेनेक्सले भने, ‘यस घटनाले पीडित परिवार, प्रहरी अधिकारी र स्वास्थ्यकर्मी सबैलाई मर्माहत बनाएको छ। यसले सिंगो समुदायलाई असर गरेको छ, त्यसैले हामी सबै यी परिवारहरूको दुःखमा साथ छौं। यो सायद हाम्रो सहरको इतिहासकै सबैभन्दा दुखद घटना हो।’
प्रहरीले मृतकहरूको नाम सार्वजनिक गरेको छैन, तर मारिनेमध्ये केही बालबालिका ती बन्दुकधारीकै आफन्त भएको बताएको छ। मेयरका सञ्चार निर्देशकले बीबीसीलाई बताएअनुसार ती शंकास्पद बन्दुकधारीको नाम ‘शमार एल्किन्स’ हो। घाइतेहरूलाई अस्पताल लगिएको छ।
प्रहरीका अनुसार एउटै टोलका तीनवटा फरक-फरक घरमा गोली चलेको थियो। पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अधिकारी क्रिस बोर्डेलनले घटना घरेलु प्रकृतिको भएको र मृत्यु हुने सबै नाबालिग रहेको पुष्टि गरे। गोली चलेपछि एक जना व्यक्ति भागेर नजिकैको अर्को घरमा पुगेका थिए।
घटनापछि बन्दुकधारीले एउटा गाडी लुटेर भागेका थिए। प्रहरीले उनलाई अर्को क्षेत्र 'बोसियर पारिस' सम्म पिछा गरेको थियो। त्यहाँ प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार उनले यो घटना एक्लै गराएका थिए।
स्थानीय काउन्सिलर ग्रेसन बाउचरले सहरका ३० प्रतिशतभन्दा बढी हत्या र अपराध घरेलु विवादसँग जोडिएको बताउँदै भने, ‘घरेलु हिंसाको यो एउटै घटनाले सहरको हत्याको तथ्यांकलाई दोब्बर बनाइदिएको छ।’
लुजियानाका गभर्नर जेफ ल्यान्ड्री र अमेरिकी तल्लो सदनका सभामुख माइक जोन्सनले पनि घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। उनीहरूले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै सुरक्षाकर्मीहरूको तत्काल कदमको प्रशंसा गरेका छन्।
बन्दुक हिंसाको तथ्यांक राख्ने संस्था ‘गन भायोलेन्स अर्काइभ’का अनुसार सन् २०२४ को जनवरीयता अमेरिकामा भएको यो सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो। उक्त संस्थाले बन्दुकधारीबाहेक ४ वा सोभन्दा बढी व्यक्तिलाई गोली लागेको घटनालाई सामूहिक गोलीकाण्ड मान्ने गर्छ।
वैशाख ७, २०८३ सोमबार ०७:५०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।