बीपी राजमार्गको रोशी खोलामा डाइभर्सन मर्मत, एकतर्फी यातायात सुचारु
रामेछाप : बीपी राजमार्ग अन्तर्गत रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ।
गए राति खोलामा आएको सामान्य बाढीले सडक क्षतिग्रस्त बनाएपछि केही समय यातायात अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले लेन अनुशासन कायम राख्दै ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, बाटोको अवस्थाबारे थप जानकारी लिनका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
बीपी राजमार्ग अन्तर्गत कटुञ्जे–मङ्गलटार सडकखण्डको घुमाउनेलगायतका क्षेत्रमा रोशी खोलाले डाइभर्सनहरू बगाएपछि सडक मर्मत गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
रोशी खोलाले बगाएको सडक मर्मत गर्ने क्रममा खोलामै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएकाले सामान्य बाढी आउँदा समेत सडक पुनः क्षतिग्रस्त हुने समस्या देखिएको छ। गए राति खोलामा आएको सामान्य बाढीले सडक फेरि बिगारेको हो।
बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट उक्त मार्ग हुँदै पूर्वतर्फ आवतजावत गर्ने सवारी साधनहरू प्रभावित हुँदै आएका छन्।
वैशाख ६, २०८३ आइतबार १६:२१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।