बेइजिङ हाफ म्याराथनमा अनर कम्पनीको रोबोटले जित्यो उपाधि, ५० मिनेटमै दूरी पार गर्दै मानव रेकर्ड तोड्यो
काठमाडौं : चीनको राजधानी बेइजिङमा आइतबार सम्पन्न हाफ म्याराथनमा ह्युमनोइड (मानव स्वरूपका) रोबोटले मानिसले बनाएको विश्व कीर्तिमान तोडेको छ।
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी 'अनर' द्वारा विकसित रोबोटले निर्धारित २१ किलोमिटरको दूरी मात्र ५० मिनेट २६ सेकेन्डमा पूरा गरेको हो। यो समय मानव विश्व कीर्तिमानभन्दा झन्डै ७ मिनेट छिटो हो।
यद्यपि, उक्त रोबोट फिनिसिङ लाइनभन्दा केही मिटर अगाडि रेलिङमा ठोक्किएर लडेपछि उसलाई उठाउन मद्दत गरिएको थियो।
गत वर्षको विजेता तियाङगोङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा दौड पुरा गरेको थियो। तर एक वर्षभित्रै रोबोटिक्स प्रविधिमा आएको व्यापक सुधारका कारण यस पटकको नतिजा निकै उत्कृष्ट देखिएको छ।
यस प्रतियोगितामा १०० भन्दा बढी रोबोटहरूले सहभागिता जनाएका थिए, जबकि अघिल्लो वर्ष मात्र २० वटा रोबोट सहभागी थिए। दौडका क्रममा मानिसहरूसँग नठोक्कियोस भन्नका लागि रोबोटहरूलाई छुट्टै समानान्तर ट्र्याकमा दौडाइएको थियो।
रोबोटहरूले मानिसलाई उछिनेर दौडिरहेको दृश्य हेर्न हजारौँ दर्शकहरू उपस्थित थिए। कतिपय रोबोटहरू दौडको सुरुवातमै लडेका थिए भने कतिपय बाधा सँग ठोक्किएका थिए। रोचक कुरा त के छ भने, एउटा रोबोटले त ट्राफिक प्रहरीको भूमिका निभाउँदै इशारा र स्वरको माध्यमबाट सहभागीहरूलाई दिशा निर्देश समेत गरेको थियो।
यस प्रतिस्पर्धामा स्वायत्त नेभिगेसन र रिमोट कन्ट्रोल गरी दुईवटा विधा समावेश गरिएको थियो।
स्वायत्त नेभिगेसन विधामा अनर कम्पनीका रोबोटहरूले वर्चस्व जमाउँदै शीर्ष तीनवटै स्थान हासिल गर्न सफल भए। अनरको चितियान दासेङ टोलीले पहिलो स्थान हासिल गर्यो भने लेइतिङ सान्दियान टोली ५० मिनेट ५६ सेकेन्डका साथ दोस्रो र सिङहुओ लियाओयुआन टोली ५३ मिनेट १ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भयो। शीर्ष तीनवटै विजेताहरू स्वायत्त नेभिगेसन विधाका थिए।
अर्कोतर्फ, रिमोट कन्ट्रोल विधाबाट अनरकै जुइयिङ चितु टोलीको रोबोटले सबैभन्दा छिटो ४८ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो। तर, खेलको नियमअनुसार यसको नेट समय ५७ मिनेट कायम गरिएपछि यो शीर्ष तीनमा पर्न सकेन।
विज्ञहरूका अनुसार, म्याराथनमा देखिएको यो शारीरिक कौशलले भविष्यमा यस्ता रोबोटहरूलाई खतरनाक कामहरू, युद्धभूमि र उत्पादन क्षेत्रमा प्रयोग गर्न सकिने सम्भावनालाई थप बलियो बनाएको छ।
हालै चीनको सरकारी टेलिभिजन सीसीटीभीको स्प्रिङ फेस्टिभल गालामा पनि युनिट्री कम्पनीका रोबोटहरूले मार्सल आर्ट र हतियार चलाउने कला प्रदर्शन गरेका थिए, जसले यस क्षेत्रमा चीनको बढ्दो प्रभुत्वलाई संकेत गर्दछ।
वैशाख ६, २०८३ आइतबार १५:३१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।