राप्रपा सिध्याउने सपना नदेख्न लिङ्देनको चेतावनी, 'निर्वाचन हार्दैमा पार्टीको भविष्य सकिँदैन'

राप्रपा सिध्याउने सपना नदेख्न लिङ्देनको चेतावनी, 'निर्वाचन हार्दैमा पार्टीको भविष्य सकिँदैन'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनमा व्यहोरेको पराजयकै कारण पार्टीको भविष्य समाप्त नहुने बताएका छन्। पार्टीको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको दबाब बढिरहेका बेला सामाजिक सञ्जालमार्फत उनले राप्रपालाई सिध्याउने सपना नदेख्न चेतावनी दिए।

राप्रपा असंख्य कार्यकर्ताको रगत, पसिना र मेहनतबाट बनेको संस्था भएको उल्लेख गर्दै लिङ्देनले चुनावी हारलाई स्वाभाविक प्रक्रियाका रूपमा चित्रण गरे। "राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिद्ध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ," उनले भनेका छन्, "म जस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त। चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन।"

लिङ्देनले पार्टीका आधारभूत सिद्धान्त र एजेन्डाबाट विचलित नहुने प्रष्ट पारे। उनले अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र बोझिलो साबित भएको प्रदेश संरचना खारेजीको अवधारणामा पार्टी दृढ रहेको बताए। साथै, विगतका गल्ती र कमीकमजोरीहरूलाई स्वीकार गर्दै त्यसलाई सच्याएर पार्टीलाई नयाँ ढंगले पुनर्गठित गरिने उनको भनाई छ। 

राप्रपाभित्रको आन्तरिक कलह तीव्र बनेको लिङ्देनको यस्तो अभिव्यक्ति आएको हो। महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा रहेको संस्थापन इतर समूहले अध्यक्षको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै नेतृत्व परिवर्तनको माग अघि सारेको छ। उनीहरूले पार्टीलाई पुनर्जीवन दिन नयाँ नेतृत्व आवश्यक रहेकोले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न नेतृत्वमाथि दबाब बढाएका छन्।

निर्वाचनअघि देशको पहिलो शक्ति बनाउने दाबी गरिए पनि गत फागुन २१ को निर्वाचनमा पार्टीले लज्जास्पद हार बेहोर्नुपरेपछि त्यसको नैतिक जिम्मेवारी अध्यक्षले नलिएको उनीहरूको आरोप छ। महामन्त्री राणा पक्षधरले आफ्ना माग पूरा नभए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको थियो। यही दबाबका बीच अध्यक्ष लिङ्देनले पार्टी पुनर्गठनको कार्ड अघि सारेका हुन्।

वैशाख ६, २०८३ आइतबार १२:१०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।