बजेट ढिलाइपछि गाउँले आफैँ जुटे, घोडेपानी सडक श्रमदानबाट मर्मत

बजेट ढिलाइपछि गाउँले आफैँ जुटे, घोडेपानी सडक श्रमदानबाट मर्मत

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकखण्ड अन्तर्गत लुलियाघुम्तीमा बढ्दो दुर्घटना र सास्तीलाई कम गर्न स्थानीय बासिन्दाले श्रमदान गरी सडकको मर्मत  गरेका छन्। 

संघीय सरकारको बजेट कार्यान्वयनमा ढिलाइ भएपछि जोखिम मोलेरै हिँड्न बाध्य स्थानीयले आफैँ सडक मर्मतको नेतृत्व लिएका हुन्।

पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ८० जनाले दुईदिन श्रमदान गरेर मर्मत गरेका पोखरेबगर युवा क्लबका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए। 

अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण र उकालो घुम्तीमा करिब ३० मिटर दूरीमा ढुङ्गा बिछ्याइएको छ। मर्मतपछि सडकमा सहज रूपमा सवारीसाधन सञ्चालन हुन थालेका उनले बताए।

अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्का, स्थानीय राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि यसै हप्ता श्रमदान अभियान सञ्चालन भएको थियो। 

सडक मर्मतका क्रममा ढुङ्गा ढुवानी, खाजा, डोजर परिचालनका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट ५० हजार नगद र अन्य दाताहरूबाट सामग्री सहयोग भएको छ। 

पर्यटकीय सिजनमा लालीगुराँस र पुनहिलको दृश्यावलोकन गर्न जाने पर्यटकको घुइँचो भए पनि लुलियाघुम्ती र हल्लेखर्कको पहिरोका कारण सडक निकै जीर्ण थियो। स्थानीय उद्यमी शिव खड्काका अनुसार पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलियाघुम्ती र हल्लेखर्क पहिरोमा सवारीसाधन उक्लन नसक्ने, बीचैमा अड्किने, दुर्घटना हुनेलगायत समस्या बढेको थियो। 

सङ्घीय सरकारले बजेट विनियोजन गरेको योजना कार्यान्वयनमा भएको ढिलाइका कारण जोखिम बढेपछि समुदायस्तरमा श्रमदान गरेर अस्थायी रूपमा मर्मत थालिएको वडाध्यक्ष रामबहादुर खड्काले बताए। 

“लुलियाघुम्ती, हल्लेखर्कको सडक सुधारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले आयोजना कार्यान्वयनमा गरेको ढिलाइले दुर्घटनाको जोखिम र सास्ती बढाएको छ”, उनले भने “जनप्रतिनिधिबाट निरन्तर ताकेता भएपछि कार्यालयले बिहीबार मात्रै तीन करोड बजेट विनियोजन भई आयोजना कार्यान्वयनका लागि ठेक्का आह्वान गरेको छ।”

घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रङ्गिएको छ। कास्कीको बिरेठाटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ। बिरेठाँटी उल्लेरी हुँदै घोडेपानी जोड्ने सडक नयाँ मार्ग खुलेकाले भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या रहेको स्थानीय बताउँछन्। 

लालीगुराँसको जङ्गल, पुनहिलबाट हिमशृङ्खला अवलोकनका लागि सवारीसाधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको घुइँचो बढेको छ। 

वैशाख ५, २०८३ शनिबार १५:०७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।