इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग, नभए आन्दोलन गर्ने चेतावनी
काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक दुर्गा प्रसाईंले यदि सरकारले एक साताभित्र मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिए।
उनले विगतमा इन्धनको मूल्य थोरै बढ्दा पनि सडकमा उत्रिने विद्यार्थी संगठनहरू अहिले ठूलो मूल्यवृद्धि हुँदा समेत मौन रहेकोप्रति असन्तुष्टि जनाए। अहिलेको परिस्थितिमा संगठनहरूले आफ्नो उत्तरदायित्व पूरा नगरेको उनको आरोप छ।
"हिजो पाँच रुपैयाँ तेलमा बढ्दा शङ्करदेव र आरआर क्याम्पसबाट आन्दोलनको आगो उठ्थ्यो," उनले भने, "आज ती विद्यार्थी संगठनहरू कहाँ छन् र के गर्दैछन् ? हाम्रो नागरिक बचाउको विद्यार्थी संगठनले एक हप्ताभित्र यो मूल्यवृद्धि फिर्ता नभए आन्दोलन सुरु गर्छ।"
विद्यार्थी संगठनहरूको भूमिका र आवश्यकता औँल्याउँदै प्रसाईंले तिनलाई खारेज गर्ने आँट नगर्न चेतावनी समेत दिए। जनताको आवाज उठाउनका लागि विद्यार्थी संगठन आवश्यक रहेको उनको तर्क छ।
"विद्यार्थी संगठन खारेज गर्ने आट अब नगर्नुहोस्। विद्यार्थी संगठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन चाहिने रहेछ," उनले भने, "हिजो दुई रुपैयाँ बढ्दा आगो बलेको ठाउँ होइन ? आज एक सय रुपैयाँ बढ्दा पनि बोल्दैनन्।"
वैशाख ५, २०८३ शनिबार १५:०४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।