जार र बोत्तलको पानीको मूल्य बढाउने महासंघको घोषणा
काठमाडौं : नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने घोषणा गरेको छ।
कच्चापदार्थमा ४० प्रतिशतभन्दा बढीको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण उत्पादन लागत अत्यधिक बढेको भन्दै महासंघले पानीको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।
शनिबार महासंघका महासचिव ध्रुव प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार, पछिल्लो समय पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार र जारको क्याप लगायतका कच्चापदार्थको मूल्यमा ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यसका साथै, डिजेल तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको छ।
महासंघले विश्वभर विकसित पछिल्लो भूराजनीतिक घटनाक्रमलाई पनि यसको मुख्य कारण मानेको छ।
विशेषगरी इरान–इजरायल तनाव र इरान-अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा नराम्रो प्रभाव परेको र त्यसको प्रत्यक्ष मारमा नेपालका पानी उद्योगहरू परेको विज्ञप्तिमा उल्लेख छ।
लागत विश्लेषण र बजारको वर्तमान अवस्थाको अध्ययनपछि हाल कायम रहेको मूल्यमा पानी बिक्री वितरण गरेर उद्योग सञ्चालन गर्नै नसकिने निष्कर्षमा पुगेको महासंघले जनाएको छ।
‘यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चापदार्थ मूल्यवृद्धिबाट सिर्जित बाध्यात्मक परिस्थिति हो’, विज्ञप्तिमा भनिएको छ।
उद्योगको दिगोपना सुनिश्चित गर्न र उपभोक्तालाई नियमित पानी आपूर्ति गर्नका लागि महासंघले सम्पूर्ण सदस्य उद्योगीहरूलाई बढेको लागतको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरेर मात्र बिक्री वितरण गर्न आग्रह (निर्देशन) गरेको छ।
१६ अर्बको लगानी जोखिममा
महासंघको तथ्याङ्कअनुसार हाल नेपालमा ६२० भन्दा बढी प्रशोधित पिउने पानी उद्योगहरू सञ्चालनमा छन्।
यस क्षेत्रमा १६ अर्बभन्दा बढीको लगानी रहेको छ भने ३० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। बढेको महँगीले यो सम्पूर्ण लगानी र रोजगारी नै जोखिममा परेको महासंघको दाबी छ।
समस्या समाधानका लागि महासंघले नेपाल सरकारसमक्ष कूटनीतिक पहलकदमी लिन माग गरेको छ। कच्चापदार्थको सहज उपलब्धता सुनिश्चित गर्न, ढुवानी तथा लागत नियन्त्रणका उपाय खोज्न र उद्योगमैत्री नीति ल्याउन सरकारसँग आग्रह गरिएको छ।
वैशाख ५, २०८३ शनिबार ११:३६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।