सम्पत्ति शुद्धीकरणबाट बच्न कागजात किर्ते, तिवारी र कार्कीविरुद्ध मुद्दा दर्ता

सम्पत्ति शुद्धीकरणबाट बच्न कागजात किर्ते, तिवारी र कार्कीविरुद्ध मुद्दा दर्ता

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरेको अभियोगमा काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन आयोजना प्रमुख डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार कार्कीले आफू विरुद्ध चलिरहेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको अनुसन्धानबाट बच्न सरकारी कागजात किर्ते गरेका थिए। उनले कार्यालय समय बाहेक बिहान र बेलुकाको समयमा पार्ट-टाइम काम गर्न स्वीकृति पाएको भनी २०६२ पुस २९ गतेको मिति राखिएको एउटा नक्कली अनुमति पत्र तयार पारेका थिए।

अनुसन्धानका क्रममा उक्त पत्रमा नेपाल सरकार लेखिएको पाइएको छ। तर, आधिकारिक रूपमा श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्ने निर्णय २०६३ जेठ ४ गतेको राजपत्रमा प्रकाशित भएपछि मात्र लागू भएको थियो। सोभन्दा अगाडिको मिति (२०६२ पुस २९) राखेर नेपाल सरकार लेखिएको पत्र फेला परेपछि उक्त लिखत किर्ते गरेको पुष्टि भएको आयोगले जनाएको छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण र कार्यालयको दर्ता स्रेस्ताको छानबिनबाट समेत उक्त पत्र नक्कली प्रमाणित भएको छ। आयोजना प्रमुख डा. तिवारीले कार्कीसँगको आपसी मिलेमतोमा बदनियतपूर्वक उक्त पत्रमा हस्ताक्षर गरी अनुसन्धान अधिकृतलाई भ्रममा पार्न खोजेको आयोगले जनाएको छ। आयोगले उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा कैद र जरिवानाको सजाय मागदाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

वैशाख ४, २०८३ शुक्रबार १७:३४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।