१२ संसदीय समितिले पाए सभापति, ११ समितिमा रास्वपा

१२ संसदीय समितिले पाए सभापति, ११ समितिमा रास्वपा

काठमाडौं : सङ्घीय संसद्का १२ वटा संसदीय समितिहरूले नयाँ सभापति पाएसँगै संसदीय समितिहरूले पूर्णता पाएका छन्। शुक्रबार भएको चयन प्रक्रियामा १० वटा समितिमा सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् भने दुई वटा समितिमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ। 

प्रतिनिधि सभाका १० वटा र दुवै सदनका दुई वटा संयुक्त गरी १२ वटा समितिमध्ये ११ वटाको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ भने सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाएको छ।

एकल उम्मेदवारी परेपछि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा रास्वपाका हरि ढकाल, कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी, संयुक्त समितिको रूपमा रहेको संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास तथा अर्थ समितिमा कृष्णहरि बुढाथोकी पनि निर्विरोध निर्वाचित भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्का पनि सार्वजनिक लेखा समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उनलाई सत्तारुढ रास्वपाको समेत समर्थन रहेपछि उक्त समितिमा एकल उम्मेदवारी परेको थियो। दुई वटा समितिमा भने दुई दुई जनाको उम्मेदवारी परेको थियो। 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की निर्वाचित भएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार मदनकुमारी शाह (गरिमा) लाई पराजित गरे। त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी ओजस्वी शेरचनले एमालेका उम्मेदवार गुरुप्रसाद बराललाई पराजित गर्दै सभापतिमा निर्वाचित भइन्। नेतृत्व चयन भएसँगै सबै संसदीय समितिहरूले पूर्णता पाएका छन्। 

वैशाख ४, २०८३ शुक्रबार १६:१२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।