श्रम सम्झौता अनिवार्य गर्न श्रम मन्त्रालयको ताकेता; सम्झौताविना काम लगाए कारबाही

श्रम सम्झौता अनिवार्य गर्न श्रम मन्त्रालयको ताकेता; सम्झौताविना काम लगाए कारबाही

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न/नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गरेर मन्त्रालयले केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक/स्वास्थ्यकर्मी/नर्सिङ स्टाफलगायत कर्मचारीहरूका साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको, प्रचलित कानुनले तोकेकोभन्दा बढी समय काममा लगाइएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

‘श्रम ऐन, २०७४ को दफा २ (ढ)मा ‘रोजगार सम्झौता’ भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ’ र सो शब्दले ‘रोजगारदाताले श्रमिकलाई दिएको नियुक्ति पत्रसमेतलाई जनाउँछ’ भन्ने व्यवस्था छ।

विज्ञप्तिमा कानुनबमोजिम प्रतिदिन आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने, बढी समय काम गर्न बाध्य पार्न नहुने र बढी समय काममा लगाउन परेमा प्रतिदिन चार घण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिने भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ।

मन्त्रालयले प्रचलित कानुनको पूर्ण पालना गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ। साथै, यस विपरीत कार्य गरेको पाइएमा श्रम ऐन, २०७४ बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ। 

वैशाख ४, २०८३ शुक्रबार १५:४६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।