लेखा समितिको सभापतिमा खड्का निर्विरोध निर्वाचित
काठमाडौं : सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले खड्काको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्यो।
खड्काको मनोनयनमा सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरी समर्थक रहेका थिए। डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काले बिहीबार संसद् सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने संसदीय परम्पराअनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित एमाले र अन्य विपक्षी दलहरूले पनि खड्कालाई सघाउने निर्णय गरेपछि उनी निर्विरोध भएका हुन्।
निर्वाचित भएपछि सभापति खड्काले देशमा आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्न समितिको तर्फबाट सक्रिय भूमिका खेल्ने बताए। उनले अख्तियार, सतर्कता केन्द्र वा लेखा समितिलाई देखाएर सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति अब अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे।
वैशाख ४, २०८३ शुक्रबार १५:३३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।