चौधरीलाई थुनाउन फर्जी पत्र लेख्ने कर्माचारी विष्टलाई ६ महिना कैद
काठमाडौं : काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ।
नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीलाई अनधिकृत रूपमा थुनाउन सरकारी कागजात किर्ते गरेको अभियोगमा उनलाई सो सजाय तोकिएको हो।
न्यायाधीश खिमानन्द भुसालको इजलासले बिहीबार विष्टविरुद्ध सजाय निर्धारण गरेको थियो। यसअघि गत चैत २२ गते अदालतले उनलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको थियो। विष्टले सर्वोच्च अदालतको लेटरहेड प्रयोग गरी नेता चौधरीलाई पक्राउ गर्न प्रहरीलाई अनधिकृत पत्र लेखेका थिए।
सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो। पत्र शङ्कास्पद देखिएपछि सर्वोच्च प्रशासनले आन्तरिक छानबिन गर्दा विष्टले व्यक्तिगत रूपमा उक्त पत्र तयार पारेको खुलेको थियो। तत्पश्चात्, विष्टलाई सर्वोच्चको सुरक्षा एकाइले नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि प्रहरीलाई बुझाएको थियो।
प्रहरीले उनीविरुद्ध सरकारी कागजात किर्ते र झुटो सूचना दिएको अभियोगमा अनुसन्धान अगाडि बढाएको थियो। चौधरीलाई टीकापुर घटनामा अदालतले जन्मकैदको फैसला सुनाए पनि २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी दिइएको थियो।
आममाफीविरुद्ध सर्वोच्चमा दायर गरेको रिट भने अझै विचाराधीन छ। सोही विषयमा विष्टले न्यायिक प्रक्रिया मिचेर फर्जी पत्र तयार गरी चौधरीलाई गलत ढंगबाट थुनाउन पत्राचार गरेपछि उनलाई कैद र जरिवानाको सजाय भएको हो।
वैशाख ४, २०८३ शुक्रबार १५:२२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।