राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने काम सुरू, असारसम्म सबै ‘ब्याकलग’ सकिने दाबी
काभ्रे : सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने काम सुरू भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको स्थलगत निरीक्षण गर्दै यस्तो दाबी गरेका हुन्।
दैनिक ४० हजार छपाइ, असारभित्र सबैको हातमा लाइसेन्स
अहिले सुरक्षण मुद्रण केन्द्रमा मेसिनहरू पूर्ण क्षमतामा चलाएर दैनिक करिब ४० हजार वटा लाइसेन्स छापिरहेको छ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार वैशाख १२ गतेभित्र १२ लाख र आगामी असार मसान्तभित्र बाँकी १७ लाख पुराना लाइसेन्स छापिसक्ने लक्ष्य छ।
यसको अर्थ, असारपछि नेपालमा लाइसेन्सको कुनै ‘ब्याकलग’ (छाप्न बाँकी थुप्रो) रहने छैन। साथै, विदेश जाने नागरिकका लागि प्राप्त हुने दैनिक करिब एक हजार आवेदनलाई उच्च प्राथमिकतामा राखेर तत्कालै छाप्ने व्यवस्था मिलाइएको छ।
‘काम रोकेर राख्ने प्रवृत्ति अब चल्दैन’
अनुगमनका क्रममा मन्त्री डा. तिमिल्सिनाले सार्वजनिक सेवा प्रवाह छिटोछरितो बनाउनु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए।
‘अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ,’ मन्त्री तिमिल्सिनाले भने, ‘ट्रायल पास गरेपछि महिनौंसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै राजस्व तिरेको २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्ने नियम आजैदेखि लागू भएको छ।’
उनले राज्यको करिब एक अर्ब रुपैयाँ खर्चेर ल्याइएका मेसिनहरू तीन वर्षदेखि त्यत्तिकै थन्काएर राखिएको भन्दै कडा असन्तुष्टि पोखे।
‘अहिले यी मेसिन चलाएर काम गर्न सम्भव रहेछ भने विगतमा किन गरिएन?’ भन्दै उनले कर्मचारी र विगतको कार्यशैलीमाथि प्रश्न समेत उठाए।
नागरिकको डाटा सुरक्षा र इन्टरनेट सुधारमा जोड
मन्त्री तिमिल्सिनाले लाइसेन्स छाप्दा नागरिकको व्यक्तिगत विवरण (डेटा) को सुरक्षामा कुनै सम्झौता नगर्न कडा निर्देशन दिएका छन्।
‘सरकार कसैको स्वार्थमा होइन, जनताको चाहनामा चल्छ’, उनले स्पष्ट पारे।
यसका साथै, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको स्पिड र गुणस्तर सुधार्न मन्त्रालय लागिपरेको उनले बताए। आगामी एक वर्षभित्र नेपाल टेलिकमको सेवा सुधार्दै सबै नागरिकलाई भरपर्दो प्रविधिको पहुँचमा ल्याउने उनको बाचा छ।
भविष्यमा राहदानी र चेकबुक पनि यहीँ छाप्ने तयारी
अहिले लाइसेन्स मात्र छापिरहेको यो केन्द्रलाई भविष्यमा राज्यका अन्य महत्त्वपूर्ण कागजात छाप्ने हब बनाउने तयारी छ।
केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले भविष्यमा राहदानी (पासपोर्ट), बैङ्कका चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकर पनि यहीँ छाप्ने गरी करिब ८ अर्ब रुपैयाँको योजना सरकारलाई बुझाइएको जानकारी दिए।
वैशाख ४, २०८३ शुक्रबार १०:२४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।