एक दशकदेखि अल्झिएको बुटवलको साढे तीन किलोमिटर सडक : आधा मात्रै काम, फेरि म्याद थपिँदै
बुटवल : बुटवलको मुख्य व्यापारिक केन्द्र मानिने राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक निर्माण सुरु भएको एक दशक बित्न लाग्दा पनि पूरा हुन सकेको छैन।
पटक-पटक म्याद थपिए पनि हालसम्म जम्मा ५५ प्रतिशत मात्रै काम सकिएको छ।
सडक डिभिजन कार्यालय बुटवलकी सूचना अधिकारी शुभेक्षा सारुका अनुसार हाल कायम रहेको म्याद आगामी चैत १२ गते सकिएको छ।
उक्त समयभित्र पनि काम सम्पन्न नभएपछि आगामी असार मसान्तसम्मका लागि फेरि म्याद थप्ने प्रक्रिया अघि बढाइएको छ।
यो सडकलाई ६ लेनको आधुनिक संरचनामा विस्तार गर्न वि.सं. २०७३ चैत १७ गते 'कञ्चनजङ्घा बिरुवा जेभी'सँग ठेक्का सम्झौता भएको थियो।
करिब ५४ करोड (५३ करोड ९७ लाख ९९ हजार ४००) रुपैयाँ लागतमा ३० महिनाभित्र अर्थात् २०७६ सालसम्ममा काम सक्ने लक्ष्य थियो।
तर, ८ वर्षसम्म पटक-पटक म्याद थप्दासमेत निर्माण कम्पनीले काम नसकेपछि सडक डिभिजन कार्यालयले २०८१ वैशाखमा उक्त ठेक्का रद्द गरेको थियो।
सुरुवाती चरणमा सडक क्षेत्रका घरटहरा हटाउने विषय सर्वोच्च अदालत पुगेपछि काम पूर्णरूपमा रोकिएको थियो।
अदालतको अन्तरिम आदेश फुकुवा भएपछि पनि डिजाइन परिवर्तन, विद्युत्का पोल, खानेपानीका पाइप र टेलिकमका संरचना सार्ने काममा सरोकारवाला निकायबीच समन्वय नहुँदा निर्माणमा बारम्बार अवरोध पुगेको सूचना अधिकारी सारुले बताइन्।
’ढुङ्गा, गिट्टी र बालुवा आपूर्तिमा आएको समस्या, कोभिड-१९ महामारीले पारेको प्रभाव र निर्माण कम्पनीको बेवास्ताका कारण समयमै काम सम्पन्न हुन सकेन’, उनले भनिन्।
नयाँ ठेक्कामा पनि पुरानै नियति
पुरानो ठेक्का तोडेपछि बाँकी काम सम्पन्न गर्न ‘बावुल दर्शन मालिका जेभी’ (भैरहवा) सँग भ्याटसहित ३३ करोड रुपैयाँमा नयाँ ठेक्का सम्झौता गरियो।
एक वर्षभित्र निर्माण सक्ने सर्तसहित २०८१ असोज १८ गते सम्झौता भए पनि नयाँ ठेकेदारले पनि पुरानै नियति दोहोर्याउँदा प्रगति सुस्त छ।
यता, नयाँ निर्माण कम्पनी बावुल दर्शन मालिका जेभीका सह-सञ्चालक तौफिक अहमद खानले भने लागत वृद्धि र निर्माण सामग्रीको अभावका कारण काममा ढिलाइ भएको बताएका छन्।
ढुङ्गा, गिट्टी, बालुवाजस्ता कच्चा पदार्थ सहज रूपमा उपलब्ध नहुनु र मूल्य अत्यधिक बढ्नुले काम प्रभावित भएको उनको भनाइ छ। यद्यपि, उनले अब थपिने समयभित्रै सडक निर्माणको सम्पूर्ण काम सक्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौताअनुसार यो सडक खण्डमा साढे १० मिटरको मुख्य लेन, ७ मिटरको सर्भिस लेन, ३ मिटरको फुटपाथ र साढे २ मिटरको ग्रिनबेल्ट (हरित क्षेत्र) सहितको आधुनिक संरचना निर्माण हुनेछ।
तर, निरन्तरको ढिलासुस्तीले स्थानीय बासिन्दा र व्यापारी भने मारमा परेका छन्।
वैशाख ४, २०८३ शुक्रबार ०९:०६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।