१८ वर्षपछि फेसबुकले ल्यायो हराएको छोराको खबर, पुनर्मिलनको पर्खाइमा परिवार

१८ वर्षपछि फेसबुकले ल्यायो हराएको छोराको खबर, पुनर्मिलनको पर्खाइमा परिवार

कञ्चनपुर : फेसबुकमा राखिएको एउटा भिडियोले १८ वर्षदेखि हराइरहेका छोराको खबर ल्याएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ।

लामो समयदेखि सम्पर्कविहीन छोरा दीपक जीवितै रहेको खबरले परिवारलाई नयाँ जीवन पाए झैँ भएको छ भने उनीहरू यतिबेला पुनर्मिलनको पर्खाइमा छन्।

घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षकै कलिलो उमेरमा दीपक रोजगारीका लागि गाउँकै एक आफन्तसँग भारतको हिमाञ्चल पुगेका थिए।

त्यहाँ काम गर्ने क्रममा बिरामी परेपछि ‘अस्पताल जान्छु’ भनी हिँडेका उनी त्यसपछि कहिल्यै फर्किएनन्। आफन्त र चिनेजानेकाहरूसँग धेरै खोजतलास गर्दा पनि पत्तो नलागेपछि परिवारले उनी जीवितै रहेको आशसमेत मारिसकेको थियो।

तर, १८ वर्षपछि भारतको लेह-लद्दाख क्षेत्रको एक चौँरीगोठमा काम गरिरहेका अर्का एक नेपालीले दीपकलाई भेटे।

कुराकानीका क्रममा उनले आफू कञ्चनपुरको देखतभूलीका दीपक (दीपु) नेगी भएको बताएपछि ती व्यक्तिले दीपकको नाम, ठेगाना र अवस्था खुलाएर फेसबुकमा एउटा भिडियो अपलोड गरिदिए। त्यही भिडियो सामाजिक सञ्जालमा फैलिँदै प्रहरी र वडा कार्यालयमार्फत नेगी परिवारसम्म आइपुग्यो।

भिडियो अपलोड गर्ने व्यक्तिसँग सम्पर्क स्थापित भएपछि अहिले परिवारले दीपकसँग भिडियो कलमार्फत कुराकानी गरिरहेको छ। मोबाइलको स्क्रिनमा १८ वर्षपछि छोराको अनुहार देख्दा परिवारका सदस्यहरू सुरुमा त स्तब्ध नै बने।

‘भगवान् नै आएर खबर सुनाएजस्तो भयो,’ बुबा डम्बरबहादुरले भने, ‘यति वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाएजस्तै हो। फोनमा आवाज सुन्दा र भिडियोमा देख्दा मन भरिन्छ, अब छिट्टै घर ल्याउन पाए सबै दुःख बिर्सने थियौँ।’

आमा मानमतीको खुसीको पनि सीमा छैन।

‘पहिले त विश्वास नै लागेन, पछि राम्रोसँग हेर्दा आफ्नै छोरा हो भन्ने चिनिहालेँ,’ उनले भनिन्, ‘खुसीले बोल्नै सकिनँ, आँसुमात्रै आयो। अब त छोरालाई कतिखेर भेटौँ भन्ने बेचैनी पो बढ्न थालेको छ।’

परिवारका अनुसार ३६ वर्षीय दीपक विगत केही वर्षदेखि मानसिक रूपमा अस्वस्थ छन्। यद्यपि, काम गर्ने ठाउँका मालिकले नै उनको उपचार गराइरहेको थाहा पाउँदा परिवारले उनीप्रति आभार प्रकट गरेको छ।

लामो समयपछि छोरा भेटिएकाले उनलाई जसरी पनि घर फर्काउने तयारीमा परिवार जुटेको छ। दुर्गम लेह-लद्दाख पुग्न समय र खर्च दुवै लाग्ने भएकाले सरसापट र कर्जा काढेरै भए पनि उनलाई ल्याउने प्रबन्ध मिलाइँदै छ।

हाल दिल्लीमा कार्यरत दीपकका दाजु-भाउजुले यसै महिनाको २० तारिखतिर लद्दाख पुगेर उनलाई घर ल्याउने योजना बनाएका छन्।

वडाध्यक्ष नवलसिंह रानाका अनुसार प्रहरीमार्फत सूचना आएपछि परिवारलाई जानकारी गराएर भारतस्थित सम्पर्क व्यक्तिसँग समन्वय गरिएको हो।

‘फेसबुककै कारण वर्षौंदेखि हराएको व्यक्ति परिवारसँग जोडिनु प्रविधिको अत्यन्तै सकारात्मक प्रयोग हो’, उनले भने।

छिमेकीसमेत रहेका वडा सदस्य जयसिंह भण्डारीले पनि गाउँको छोरा जीवितै रहेको खबरले सिङ्गो गाउँमै खुसी छाएको बताए।

नेगी परिवारका तीन छोरामध्ये दीपक माइला हुन्। उनका जेठा र कान्छा भाइ भारतमै रोजगारीमा छन् भने बुबा गाउँकै सामुदायिक वनमा चौकीदारका रूपमा कार्यरत छन्।

वैशाख ४, २०८३ शुक्रबार ०७:४१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।