काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व आयुक्त भाइ काजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमती र छोरी पनि प्रतिवादी
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी विरुद्ध १० करोड ५४ लाख अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार तिवारीको सेवा प्रवेश अवधि (२०४४ भदौ १९) देखि अवकाश (२०७८ वैशाख ९) सम्मको जाँच अवधिमा उनको आय र व्ययको विवरण मिलेको छैन।
अभियोग पत्र अनुसार उनको पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, कर्जा र श्रीमतीको आयसमेत गरी कुल १४ करोड ५१ लाख रुपैयाँ वैध आय देखियो। त्यसमा घरजग्गा खरिद, शेयर लगानी, छोरीको नाममा खरिद गरिएको घर, वैदेशिक अध्ययन र अन्य विलासी वस्तु (हिराको हार आदि) गरेर २५ करोड ६ लाख कुल खर्च तथा लगानी देखियो।
यही विवरणको आधारमा अख्तियारले उनको १० करोड ५४ लाख आयभन्दा व्यय बढी देखिएपछि स्रोत नखुलेको दाबी गरेको छ। त्यसैको आधारमा सम्पत्ति गैरकानुनी ठहर गरेको छ।
अभियोग पत्रमा तिवारीले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती र छोरीको नाममा समेत राखेको भन्दै उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ। अभियोग पत्रमा मिना देवी तिवारी (श्रीमती) र मिरा तिवारी (छोरी) को नाममा रहेको गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई प्रतिवादी कायम गरिएको छ।
अभियोग पत्रमा अख्तियारले भाइ काजी तिवारी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजायको मागसहित स्रोत नखुलेको सम्पत्ति जफतको माग गरेको छ। साथै झुट्टा सम्पत्ति विवरण पेस गरेकोमा थप सजाय र सार्वजनिक पदको दुरुपयोग गरेको भन्दै ऐनको दफा २४ बमोजिम थप सजायको माग समेत गरेको छ।
वैशाख ३, २०८३ बिहीबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।